09/14/2012
" दिउँसो पैसा आयो, बेलुकी मृत्युको खबर आयो "
काठमाण्डौं, २६ भदौ ०६९ जेठ १७ गते दिउँसो साउदीबाट श्रीमान्ले पठाएको ६७ हजार रुपैयाँ घर खर्च लिएर फुरुङ्ग बन्दै घर फर्केकी डिलमाया सुनारलाई घरको दैलो नटेक्दै मोबाइलमा फोन आयो, यामबहादुर सुनारको मृत्यु भएको छ । ’बिहान मोवाइलमा मलाई त्यति सन्चो छैन, दसैंमा छुट्टीमा आउँछु । अहिले यतिले घर खर्च चलाऊ भन्नुभाथ्यो, बेलुका नराम्रो खबर आयो,’ डिलमाया भक्कानिइन् । बोल्न सकिनन् । छेवैमा बसेका १० वर्षे विशाल र ७ वर्षे विवेकले पनि आमाको मुखतिर हेर्दै पिलपिल आँसु झारे ।धन कमाउन साउदी गएको एक वर्ष आठ महिनापछि रत्नेचौर गाविस ७ अर्जमका ३८ वर्षे यामबहादुरले साउदीमै आत्महत्या गरेको खबर परिवारले पायो । तर मृत्युको खबर पाएको तीन महिना १० दिन पुग्दासम्म शव पाएको छैन । यामबहादुरको मृत्युको खबर साउदीमा कार्यरत आफन्त सोमबहादुर सुनारले गराएका थिए ।यामबहादुरको शव नेपाल ल्याउन सोमबहादुरले साउदीस्थित नेपाली दूावासमा लिखित र अर्का आफन्त आर्जन सुनारले काठमाडौंस्थित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पहलका लागि अनुरोध गरे पनि कसैको सहयोग नपाएको परिवारको गुनासो छ दूतावासका कर्मचारी शरद पौडेलले छिट्टै पठाउने व्यवस्था मिलाउने आश्वासन दिएका हुन् । तीन महिना भयो, अझै शव आएन । संस्कारअनुसार काजक्रिया गरूँ शव छैन, त्यसै बसूँ भाईको मृत्यु भएको छ । कठिन पीडा हुँदोरहेछ,’ जेठा दाजु भीमबहादुरले सुनाए कमाउने श्रीमान्को मृत्यु भएपछि दुई छोरासँगै ८१ वर्षीया सासू मनसुवाको पालनपोषणको जिम्मासमेत डिलमायाको काँधमा परेको छ बाबुको मृत्युको खबरसँगै नजिकको म्याजिक स्टेप बोर्डिङ स्कुलमा पढ्ने छोराहरू सामुदायिक स्कुलमा फर्केका छन् । ‘छोराहरूको पढाइ खर्च पठाउने मान्छे नै नभएपछि मैले कसरी बोर्डिङ पढाउने ?’ डिलमायाले भनिन् ।