06/01/2026
कोलोराडोमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस (International Mount Everest Day) कार्यक्रम सम्पन्न.................................................................................................................................
नेपाली महावाणिज्यदूतावास, डालसले शेर्पा संघ कोलोराडो (Sherpa Association of Colorado) सँगको सहकार्यमा कोलोराडो राज्यको डेन्वरमा 30 मे 2026 शनिवारका दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस (International Mount Everest Day) कार्यक्रम आयोजना गरेको छ । डेन्वरको वेस्टमिन्स्टर सहरस्थित नेपाली साँस्कृतिक केन्द्र (नेपाली घर) मा सञ्चालन गरिएको उक्त कार्यक्रमको सफल आयोजनामा Helping Hands Health Education को सहयोग रहेको थियो ।
पहाडी भूगोल एवं प्रसिद्ध Rocky Mountains हिमश्रृङ्खला रहेको कोलोराडो राज्य अमेरिकाको एक प्रख्यात पर्यटकीय क्षेत्र हो । यस राज्यमा ठुलो सङ्ख्यामा नेपाली शेर्पा समुदायको बसोबास रहेको छ । यहाँ रहेका शेर्पा समुदायका सदस्यहरू कैयनले पटक पटक सगरमाथा आरोहण गरिसकेका छन् ।
सगरमाथा दिवस कार्यक्रममा नेपाली समुदायको उल्लेख्य बसोबास रहेको कोलोराडो राज्यको बोल्डर सहर (City of Boulder) का Mayor, Honorable Mr. Aaron Brockett, बोल्डर काउण्टी (Boulder County) का District Attorney, Honorable Mr. Michael Dougherty एवं सगरमाथा आरोही, नेपाली सङ्घसङ्गठनका प्रतिनिधि तथा नेपाली डायस्पोराका सदस्यहरू गरी करीब 125 जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालज्यूबाट अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा व्यक्त भएको भिडियो सन्देशका साथै सगरमाथा आरोहण गर्ने क्रमका अनुभव समेटी शेर्पा समुदायबाट तयार पारिएको Documentary प्रस्तुत गरिएको थियो । त्यस्तै शेर्पा समुदायको मौलिक एवं परम्परागत स्याब्रु नाच र नेपाली साँस्कृतिक नृत्यमार्फत कार्यक्रममा सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो ।
कार्यक्रममा महावाणिज्यदूत सुरेश अधिकारीले यस वर्षको सगरमाथा दिवस “Sagarmatha, the Highest Peak of the World: Identity and Pride of Nepal” स्लोगन सहित मनाइएको एवं यस अवसरले हिमाल आरोहणको भावना तथा शेर्पा समुदायको योगदानलाई सम्मान गर्नुका साथै वातावरणीय चेतना (Environmental Awareness) लाई उजागर गर्नसमेत महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले हिमाली पर्यावरण (Mountain ecosystems) ले वातावरणीय संरक्षण एवं अर्बौ मानिसको जीवनचर्या (Livelihoods) को सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने हुँदा fragile mountain ecosystem लाई वातावरण परिवर्तनका असरबाट जोगाउन सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । हिमाली पर्यावरणलाई जोगाउन नेपाल प्रतिबद्ध रहेको जानकारी दिँदै महावाणिज्यदूतले गतवर्ष सगरमाथा संवादका क्रममा काठमाण्डौमा जारी Sagarmatha Call for Action ले वातावरण परिवर्तनका असरलाई न्यूनीकरण गर्न सामूहिक अन्तर्राष्ट्रिय प्रयास एवं सहकार्यमाथि जोड दिएको समेत स्मरण गर्नुभयो ।
कार्यक्रममा सहभागी विशिष्ट पाहुनाहरू Mayor Aaron Brockett र District Attorney Michael Dougherty ले International Mount Everest Day को अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै कोलोराडोमा रहेका नेपाली समुदायको योगदानको प्रशंसा गर्नुभयो । उक्त कार्यक्रममा पटकपटक सगरमाथा आरोहण गरिसक्नुभएका विभिन्न व्यक्तित्वहरूले सगरमाथा आरोहणका क्रममा भोगेका आफ्ना अनुभवहरू सहभागीमाझ प्रस्तुत गर्नुभएको थियो ।
यस अघि 29 मे 2026 मा कोलोराडोको State Capitol Building मा आयोजित एक विशेष समारोहमा कोलोराडो राज्यका गभर्नर Honorable Jared Polis ले 29 मे 2026 को दिन लाई Sherpa Appreciation Day घोषणा गर्दै Proclamation जारी गर्नुभएको थियो । उक्त Proclamation मा उहाँले नेपाली शेर्पा समुदायले हिमाल आरोहणका क्रममा प्रस्तुत गर्दै आएको साहस एवं योगदानको प्रशंसा गर्नुहुँदै शेर्पा समुदायको परिश्रमी भावना, साँस्कृतिक मूल्यमान्यता, मानवीय योगदान एवं परम्पराको जगेर्नाप्रतिको समर्पणबाट कोलोराडो राज्यले प्रेरणा प्राप्त गरेको उल्लेख गर्नुभएको छ । सो क्रममा उहाँले 1 पटकदेखि 21 पटकसम्म सगरमाथा आरोहण गर्नुभएका नेपाली समुदायका 18 जना आरोहीहरूलाई सम्मान समेत गर्नुभयो । उक्त समारोहमा महावाणिज्यदूत सुरेश अधिकारी र उपमहावाणिज्यदूत धना कुमारी जोशीको उपस्थिति रहेको थियो ।
नेपाली महावाणिज्यदूतावास
डालस
1 जुन 2026 ।