08/04/2026
एमाले दाङको जिल्ला भेला सम्पन्न, अध्यक्ष ओलीको रिहाइको माग
चैत २५ घोराही दाङ । नेकपा एमाले दाङको जिल्ला भेला आज घोराहीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको बताउदै तत्काल रिहा गर्न माग गर्नुभयो। उहाँले वर्तमान सरकारलाई लक्षित गर्दै प्रतिशोधको राजनीति त्यागेर विकास र समृद्धिको बाटोमा अघि बढ्न आग्रह गर्नुभयो।
“राजनीतिक प्रतिशोधका आधारमा एमालेका नेता–कार्यकर्तामाथि दमन गरियो भने त्यसको परिणाम गम्भीर हुन सक्छ,” चौधरीले चेतावनी दिनुभयो।
भेलामा दाङ जिल्लाका दशवटै स्थानीय तहबाट अगुवा नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेकपा एमालेका पूर्व लेखा समिति सदस्य सावित्रा विश्वकर्मा, प्रदेश कमिटी सचिवालय सदस्य तुलसा केसी लगायतका नेताहरूले पनि समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव श्याम डाँगीले गर्नुभएको थियो।