सिन्धुली नेपालको बागमती प्रदेश , साबिक जनकपुर अञ्चलमा अवस्थित एक जिल्ला हो। यो जिल्ला नेपालको भित्री मधेसमा पर्दछ। राजधानीबाट नवनिर्मित बिपी राजमार्ग को बाटो यो जिल्ला छिचोल्न १८५ किलोमिटर यात्रा गर्नु पर्छ। यो राजमार्ग नहुँदा तराई हुँदै सिन्धुलीको सदरमुकाम सिन्धुली माडी पुग्न लगभग ४०० किलोमिटर यात्रा पार गर्नु पर्दथ्यो।
जिल्लाको नामाकरण
सिन्धुली जिल्लाको नामाकरणमा विभिन्न प्रसगंहरू जोडिएका छन्,
जसमध्ये केही प्रसंगहरू तल प्रस्तुत गरिएका छन्;
नेपालको एकीकरण भन्दा पूर्व सिन्धुली जिल्ला विशाल मकवानी राज्यमा पर्दथ्यो। मकवानी शासकहरूमा राघव नरेन्द्र सेन मकवानपुर राज्यमा वि.सं. १५३० मा राजा थिए। यी राजा भगवान श्रीरामका परम भक्त भएकाले आफूलाई सिन्धुल उपनामले परिचित गराएका थिए। पछि यिनै राजाको नामवाट यो वस्तिको नाम सिन्धुली जिल्ला रहन गएको हो।
सिन्धुली जिल्लाको सदरमुकामबाट करिव ११ किलोमिटरको दूरीमा समुद्री सतहबाट १,०७७ मिटरको उचाईमा सिद्धवावा मन्दिर छ। सिन्धुली सदरमुकामको वरपरका क्षेत्रलाई यही मन्दिरको नामबाट सिद्धस्थली पनि भनेर पुकारिन्छ। सिद्धस्थली भन्ने शब्द नै पछि अपभ्रंस भई सिन्धुली भएको हो भन्ने पनि भनाई छ।
यस क्षेत्रमा परापूर्व कालमा सिन्धुल भन्ने राजाले राज्य गरेको हुनाले यीनै राजाको नामबाट सिन्धुली रहन गएको हो।सितामाढी लगायत मधेसबाट सिन्धुलीमाढी हुँदै रामेछाप, दोलखा, वनेपा, भक्तपुर हुँदै काठमाडौँसम्म जानेवाटो एउटा प्रचलित मार्ग थियो। यही मार्गको विचमा हालको भद्रकाली गा.वि.स.को सिउरानी भन्ने स्थानबाट खुर्कोट निस्कनलाई सुरूङ्ग थियो जसलाई सुन्दुरी पनि भनिन्थ्यो पछि यही सुन्दुरी भन्ने शब्द सिन्धुली भएको हो भन्ने बुझिन्छ।
सिन्धुली जिल्लामा अहिले विभिन्न जाती तथा जनजातिहरूको वसोवास रहेतापनि आदिमकालमा यहाँ तामाङहरू बस्दथे। परापूर्व कालदेखि नै घनाजंगलले घेरिएको जिल्ला भएकोले यस ठाँउमा काठ, दाउरा गर्ने काम यहाँका आदीवासी तामाङहरूको दिनचर्या भएको अनुमान गर्न सकिन्छ। दाउरा वा काठ काट्नुलाई तामाङहरू सिङथुवा भन्दछन र दाउरा टिप्यो ?लाईसिङथुजी शब्द अपभ्रंस भएर सिन्धुली भएको हो भन्ने पनि अनुमान गर्न सकिन्छ।
२००७ साल अघि सम्म पूर्व २ नम्बर भनेर चिनिने यस जिल्लाको नाम सिन्धुली नै किन रहयो भन्ने सम्बन्धमा यकिन तथ्यहरू भेटिएका छैनन। एक जनश्रुति अनुसार प्राचिन समयमा यस क्षेत्रमा राज्य गर्ने सिन्धुल राजाको नामबाट नै यस जिल्लाको सिन्धुली रहन गएको हो।
अर्को एक भनाई अनुसार परापूर्व कालमा यो जिल्ला मकवानपुर राज्यमा पर्दथ्यो, त्यहाँ सेन वंशीय राजाहरूको शासन थियो। त्यस क्षेत्रका ती शासक वा राजाका भारदारहरूको शिकार क्षेत्र सिन्धुली खोंच भएको हुँदा प्रायसः ती राजाको माछा मार्ने ठाउँ त्यो थियो। स्थानीय बोलीमा माछा मार्ने खोलामा बनाइने सानो ठाउँलाई 'दुवाली' भानिन्छ। स्थानीय बोलीमा सेनहरूले माछा मर्ने दुवाली वा छिटो बोल्दा सेनको दुवाली अथवा सेनदुवाली (सेन + दुवाली), सेनदुली हुँदै अपभ्रंस हुँदै सिन्धुली भएको हो। सिन्धुली का एक जना साहित्यकार स्व. उमानाथ शास्त्री ज्युको प्रख्यात महकाब्य 'मकवानिबाला 'मा यो कुरालाईउल्लेख गरिएको पाइन्छ।