27/05/2026
कृषि विकास कार्यालय, सल्यानको आयोजना तथा शारदा नगरपालिकाको समन्वयमा नगरको वार्ड नं. ०७ मा कृषकहरुलाई दुई दिने सुन्तला बगैंचा स्थापना तथा ब्यवस्थापन सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ।
यस तालिमको मुख्य उद्देश्य सुन्तला ह्रासका कारण उत्पादनमा आएको कमी तथा बगैँचा नास हुने समस्यालाई न्यूनीकरण गर्नु रहेको थियो। तालिम विशेषगरी सुन्तला बगैँचामा फैलिँदै गएको Citrus Greening रोगको पहिचान, व्यवस्थापन तथा बगैँचा संरक्षणमा केन्द्रित रहेको थियो।
तालिममा सम्पादन गरिएका मुख्य क्रियाकलापहरू निम्न रहेका छन् :
१. सूक्ष्म खाद्यतत्वहरूको मिश्रण तयार गरी Greening रोगबाट प्रभावित बिरुवाहरूलाई स्प्रे मार्फत पोषण उपलब्ध गराउने विधिबारे व्यवहारिक प्रशिक्षण प्रदान गरियो।
२. सुन्तलामा लाग्ने विभिन्न रोग तथा किराको सही पहिचान र तिनको प्रभावकारी व्यवस्थापन सम्बन्धी विषयमा तालिम विशेष केन्द्रित रह्यो।
३. मलखाद व्यवस्थापन, बगैँचा सरसफाइ तथा बिरुवाको उचित काँटछाँट सम्बन्धी विषयलाई पनि विशेष महत्वका साथ समावेश गरी कृषकहरूलाई जानकारी प्रदान गरियो।