17/09/2025
सङ्घीयताविरुद्ध सिके राउत
संसद् विघटनको षडयन्त्र
जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेस प्रदेश सभा (संसद्) विघटन गर्ने षडयन्त्रमा लागेका छन् । मुलुकभर भदौ २३ मा भएको जेनजीको घटनामा उनी चीनमा थिए । त्यसको भोलिपल्ट अर्थात २४ गते उनले चीनकै भूमिबाट आफूले राजीनामा दिएको घोषणा गर्दै आफ्नै दलबाट बनेका मुख्य मन्त्री सतिशकुमार सिंहलाई पनि राजीनामा दिन निर्देशन दिएका थिए । तर मधेस प्रदेश सयौँ मधेसी जनताको बलिदानबाट प्राप्त सङ्घीयताको उपलब्धि भएको र यही उपलब्धिअन्तर्गतको निकाय विघटन गर्दा आफूमाथि सङ्घीयता विपरित काम गरेको कलङ्क लाग्ने भन्दै मुख्य मन्त्री सिंह पछि हटेका छन् । सिकेको षडयन्त्र राम्ररी बुझेका सिंह यतिखेर के गर्ने भन्नेबारे राजनीतिक परामर्शमा जुटेका छन् ।
किन संघीयताको विरोधमा लागे सिके ?
सप्तरीमा जन्मिएका सिके (चन्द्रकान्त) बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) गरेका हुन् । सन् २०११ मा अमेरिकाबाट नेपाल फर्किएका उनले त्यतिबेलादेखि नै स्वतन्त्र मधेसको अभियान चलाएका थिए । स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय संयोजक रहेका उनी मुलुक टुक्र्याउनुपर्छ भन्ने पृथकतावादी गतिविधिमा सरिक थिए । यही क्रममा नेपाललाई मधेसबाट अलग गर्नुपर्ने अभियान चलाएको भन्दै उनलाई मोरङको रङ्गेलीबाट २०७१ को भदौ २८ गते पक्राउ गरी कारागारसमेत राखिएको थियो । राज्यविरुद्ध सङ्गठित अपराध गरेको अभियोगमा मुद्दा चलाइएका उनी पछि सर्वोच्च अदालतको आदेशबाट छुटेका थिए ।
यतिबेला नेपालमा भएको जेनजी आन्दोलनका क्रममा व्यापक घूसपैठ भएको र तिनै घूसपैठियाहरूले मानिस मार्नेदेखि राज्यको सम्पत्तिको व्यापक दोहन गरेका अनुमान सर्वत्र गरिएको छ । विशेषगरी प्रधानमन्त्री केपी ओली छोटो समयमै २ पटक चीनबाट सम्मानित भएका तथा चीनसँग मित्रता गाढा बनाएको भनेर अमेरिका र पश्चिमा राष्ट्रहरू ओलीसँग रुष्ट बनेका थिए । त्यसैले अमेरिकी नेतृत्वको पश्चिमा डिजाइनमा जेनजी आन्दोलनमा घूसपैठ गरी सत्ता ढाल्ने षडयन्त्र भएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले समेत बताइरहेका छन् । त्यसैले बेलायत पढेका र अमेरिकामा बसोबास गरेका तथा अमेरिकीहरूसँग राम्रो सम्बन्ध भएकै कारण सिकेले तिनीहरूकै निर्देशनमा सङ्घीयता खारेज गर्न संसद् विघटनको योजना बनाइ त्यहीअनुरूप काम गरिरहेको खुलासा भएको छ । स्मरणीय छ, अमेरिकालगायतका पश्चिमाहरू नेपालमा सङ्घीयता खारेज गरी आफूअनुकूलको सरकार ल्याउन चाहन्छन् किनकि यहाँ बसेर चीन र भारतलाई ठेगान लगाउने उनीहरूको विशाल र दीर्घकालीन योजना छ ।
विवादै विवादको स्रोत सिके
यतिबेला लाखौँ मधेसी जनसमुदायले लडेर ल्याएका सङ्घीयता विपरित संसद् विघटन गर्न मरिमेटेर लागेपछि विवादमा आएका सिके अमेरिकाबाट नेपाल आएदेखि विवादै विवादमा परेका शङ्कास्पद व्यक्ति हुन् । सुरुमा नेपाल टुक्र्याउने आन्दोलनका कारण विवादमा परी जेलनेलसमेत भोगेका उनी जहिले पनि केही न केही विवादमा परिरहन्छन् । आफू परस्त्रीसँग लागेको समाचार लेखेबापत पत्रकारहरूलाई समेत मुद्दा हालेका सिकेले आफ्नै श्रीमतीलाई समेत मानसिक अवस्था ठीक नभएको भनी कुटपिट गर्दै सम्बन्ध विच्छेदका लागि मुद्दा हालेका थिए । सामान्यतया सम्बन्ध विच्छेदका लागि श्रीमतीले मुद्दा हाल्ने आमचलनविरुद्ध सिकेले भने आफ्नी श्रीमतीविरुद्ध आफैँ यस्तो मुद्दा हालेर दुनिया हँसाएका थिए । उनको चरित्रमाथि श्रीमतीले समेत बेलाबेला प्रश्न उठाउँदै आएकी छिन् ।
त्यति मात्र हैन, उनीमाथि पारिवारिक मोहको आरोप पनि लाग्दै आएको छ । आफ्नै दाइ जयकान्त राउतलाई पार्टीको उपाध्यक्ष नियुक्त गरेर परिवारवाद लाद्ने कामसमेत उनले गरेका छन् । उनले आफ्ना दाइलाई योजना आयोगको नियुक्तिदेखि प्रतिनिधि सभामा उम्मेदवार बनाउने हुँदै अहिले उपाध्यक्षसमेत बनाएपछि पार्टीमा सिकेको चौतर्फी आलोचना भइरहेको छ । यस्ता गतिविधिको विरोध गर्नेलाई पनि सिकेले प्रतिशोध साँध्ने गरेका छन् । सिकेको परिवारवाद र हैकमी रवैयाविरुद्ध आवाज उठाएबापत उनले केही समयअघि मात्र आफ्नै दलका कोषाध्यक्ष र केही सदस्यमाथि कारबाही नै गरेका थिए । उनका यस्ता क्रियाकलापका कारण सिकेलाई यतिबेला पार्टीभित्र जङ्गबहादुरको नयाँ संस्करणका रूपमा व्याख्या गर्नेहरू बढ्दै छन् भने क्रमशः उनको पार्टी छाड्ने क्रम पनि बढ्दै गएको छ ।
यतिबेला आएर मधेस संसद् विघटन गरी सङ्घीयताकै खिलाफमा जाने षडयन्त्रमा सामेल भएको बुझेपछि सिकेसँग तराईका बासिन्दा थप शङ्कित बनेका छन् । यही कारण आन्दोलनमा घूसपैठियाहरूसँग उनको सम्बन्ध केलाउने र उनका शङ्कास्पद गतिविधितर्फ सचेत हुनुपर्ने निष्कर्षमा मधेसका नागरिक पुगेका छन् । अन्य दलसमेत सिकेको यो योजनालाई असफल बनाउन एकजुट भएर लाग्नुपर्नेतर्फ सतर्क देखिएका छन् ।