18/12/2024
कालो हिमाल ( कविता )
बिहान उठ्ने बित्तिकै हिमालतिर हेरे
हिमालको हिउँमा आगो बलिरहेको देखे
लाग्यो घामको किरणले त्यस्तो देखेको होला
आँखा मिच्दै फेरि हेरे,
ओहो, हिमालमा साँच्चिकै डढेलो नै लागेछ
नपत्याए हेर्नुस त हरेक बिहान
त्यो सेतो हिमाल डढेर कालो भएको छ ।
जव खोलामा पुगे
ओहो,
कमिलाहरू ताती लाउदै खोलामै कबड्डी खेल्दै रहेछन्
माछाहरू तड्पिदै फोक्सो फुलाई मर्दै रहेछन्
जे होस कमिलाले मादी तर्न सकेको छ
नपत्याए हेर्नुहोस त हरेक बिहान
त्यो ठुलो मादी सुकेर खहरे भएको छ ।
जब हिउँद लाग्छ,
रूखहरूलाई ठाउँ सरेर भागौं झै लाग्छ रे
जीव जनावरलाई मान्छे जसरी चिच्याऊ झै लाग्छ रे
यहाँ आफ्नै घर जलाएर आगो ताप्नेहरू छन्
यहाँ आफ्नै बन जलाएर मन मान्नेहरू छन्
नपत्याए हेर्नुहोस त हरेक विहान
गाउँमाथिको हरियो वन धुवाले कालो भएको छ ।
जब वर्खा लाग्छ,
रूख, ढुङ्गा,माटो र पहाडले मतियार खोज्दै आउछ
आफ्नो काटिएका रूखका ठुटा
फुटाएका ढुङ्गाका टुक्रा
र
खनेका माटोको डल्लो लिई
हालिदिन्छन् त्यो मतियारको वस्तीमा ठुलो पहिरो
नपत्याए हेर्नुहोस त हरेक बिहान
परको बाक्लो बस्तीलाई पहिरोले पुरेको छ
जव सांझ पर्छ,
शिकारी दाई बन्दुक भिर्दै जंगल छिर्यो
कोइलीले विरही गीत गाउन थाल्यो
लाटोकोसेरोले भेला गर्न थाले
जंगली पन्छी र जनावरहरूलाई एक ठाउमा
आज शिकारीकै शिकारको लागि पाशु थाप्दैछ
बन्दुकको डोङ्गा आवाजसंगै शिकारी शिकारमा पर्यो
आज उसको हातमा हतकडी छ
नपत्याए हेर्नुहोस त हरेक थुनामा
शिकारी दाईहरू पछुताउदै जेलमा बसेको छ ।
हो
म सपना देख्छु,
म कल्पना गर्छु,
हिमालमा सेताम्मै हिउँ नै होस्
मादीमा कलकल सुसेल्दै पानी बगोस्
जंगलमा रूखहरू नडराई निर्धक्क ठडियोस्
शिकारीको हातमा बन्दुक होइन संरक्षणका कितावहरू होस्
बनचरीको बिहेमा हामीलाई पनि निम्तो गरोस्
अनि
डमरूको न्वारान गर्न बाघले हाम्रो पण्डितलाई बोलाईयोस ।
जय संरक्षण ।।
देवीजंग गुरुङ
मिति: २०८१/०८/२२ गते
तस्बिर : सामाजिक सञ्जालबाट