18/01/2026
Sadhutar साधुटार को #स्वामित्व #इतिहास र #संरक्षण बारे #स्पष्टिकरण ⤵️
साधुटार आफैमा पूर्ण रूपमा निजी तथा व्यक्तिगत स्वामित्वमा रहेको जमिन हो। परापूर्वकाल देखि नै साधुटारे बाजे अर्थात स्व. श्री चेत बहादुर सुनुवार मुखिया ज्यूले यस स्थानमा २–३ जना सहयोगी राखी पशुपालन तथा खेतीपाती व्यवसाय सञ्चालन गर्दै आउनु भएको थियो।
वि.सं. २०६०/६१ तिर उहा साधुटार छोडी अन्यत्र बसाइ सर्नु भएको हो।
हाल यो जमिन उहाको जेठा छोरा श्री आश बहादुर सुनुवार मुखिया तथा माइला छोरा स्व. नर बहादुर सुनुवार मुखियाको संयुक्त गोश्वारा नाममा दर्ता रहेको छ, जसको कुल क्षेत्रफल १०१–१०–०० रोपनी रहेको छ।
साधुटार प्राकृतिक रूपमा अत्यन्तै सुन्दर भए तापनि, त्यस समयको मुख्य समस्या पानीको अभाव थियो। वि.सं. २०६०/६२ अघि सम्म मानिसहरू साधुटार घुम्न भन्दा पनि यहाँ उत्पादन हुने लेकाली आलु लिन धेरै टाढा–टाढाबाट आउने गर्दथे। रोचक कुरा के थियो भने, आलु पैसामा होइन, आफ्नो घरमा उपलब्ध धान, मकै, गहुँ, कोदो, फापर आदि अन्नसँग साटासाट गरेर लैजाने चलन थियो।
यसैले साधुटार लेकाली जमिन भए पनि यहाँ विशाल अन्न भण्डारण (गोदाम) सहितको घर रहेको थियो।
समय बिकास क्रम संगै सामाजिक सञ्जालको व्यापक प्रयोग सुरु भयो। पहिले वृद्ध–वृद्धा वा सीमित व्यक्तिहरूले मात्र चिनेको साधुटारलाई युवा पुस्ताले पनि चिन्न र बुझ्न थाल्यो।
Facebook, TikTok, YouTube, Instagram जस्ता फोटो–भिडियो केन्द्रित माध्यमहरूको आगमनसंगै साधुटारको ख्याति तीव्र रूपमा फैलिन थाल्यो। पत्रकार, सञ्चारकर्मी, युट्युबर, ब्लगर लगायतको आवागमन उल्लेख्य रूपमा बढ्न थाल्यो।
वडा, नगर, जिल्ला, प्रदेश हुदै देश–विदेश सम्म साधुटारको पहिचान फैलिनु हाम्रो लागि गर्वको विषय थियो। तर समयसंगै, निजी सम्पत्ति भएको स्पष्ट व्यवस्था र संरक्षणको अभावको कारण गम्भीर समस्याहरू देखा पर्न थाल्यो।
धेरै आगन्तुकहरूले साधुटारलाई आउन, बस्न, पकाउन, खान, नाच्न–गाउन, सुत्न–उठ्न सबै कुरा निःशुल्क र पूर्ण स्वतन्त्र रूपमा गर्न पाइने स्थान ठाने।
यसको परिणाम स्वरूप, साधुटारे बाजेको माइला छोरा, भारतीय सेनाबाट अवकाश प्राप्त सुबेदार स्व. नर बहादुर सुनुवार मुखियाले वि.सं. २०५४/५५ सालमा पाँचथर जिल्लाको तत्कालीन याङनाम गा.वि.स. अन्तर्गत आकासेको श्री राम जबेगु नामक व्यक्ति मार्फत ल्याई यहाँ लगाउनु भएको सल्ला र चियाको बिरुवाहरू प्रायः नष्ट गरियो।
बोटबिरुवा, बालीनाली र संरचनाहरू तोडफोड हुने, जथाभावी फोहोर फालिने, सवारीसाधन जहातही लैजाने, विशेषगरी सल्लाको जंगलभित्र आगो बाल्ने प्रवृत्तिको कारण धेरै सल्ला र अन्य बोटबिरुवाहरू जलेर नष्ट भयो मासिएर गयो।
जथाभावी आगो र फोहोरको कारण हरियाली नष्ट हुँदै गयो, हरियो चौर खुइलिँदै गयो। बोटबिरुवामा चढ्ने, काट्ने, भाँच्ने र त्यही दाउरा बाट आगो बालेर खाना पकाउने क्रम बढ्दै जाँदा, एक समयको शान्त, फराकिलो र सुन्दर साधुटार बिस्तारै फुस्रो र उराठ लाग्दो बन्न थाल्यो।
जो पायो त्यही, जहिले चाह्यो त्यही बेला आउने–जाने अवस्था सिर्जना भए पछि धेरैले साधुटारलाई सरकारी वा दर्ता नभएको जमिन ठान्न थाले।
परिणाम स्वरूप, साधुटार बियर तथा विभिन्न ब्रान्डको रक्सीको बोतल, चाउचाउ, बिस्कुट, चिप्सको खोल, कुखुरा–बाख्राको भुत्ला र छालाले ढाकिन थाल्यो।
त्यति मात्र होइन, साधुटारको बढ्दो ख्यातिसँगै जग्गा अतिक्रमणको प्रयास पनि बढ्न थाल्यो।
केही व्यक्तिहरूले यो नापी नभएको सरकारी वा ओइलनी जग्गा हो भनेर भ्रम फैलाए, कसैले विवादित जमिन भन्दै गलत प्रचार गरे।
यथार्थमा, यो जमिनमा कुनै पनि प्रकारको विवाद छैन।
केवल जग्गाधनीको नाम वा जात/थरमा देखिएको प्राविधिक अशुद्धता (जग्गा दर्ता धनीपुर्जा र नागरिकतामा रहेको नामको पछाडी आउने जात अनि थर त्यो पनि सरकारी निकायको त्रुटीको कारण) नापी शाखा तथा स्थानीय वडाबाट कर (राजश्व) असुलन को निम्ती प्रक्रिया पूरा नभएको भन्ने भनाइ मात्र आएको हो।
कानुनी रूपमा हामी स्पष्ट छौ— नापी भएको जग्गा घटे पनि वा बढे पनि दर्ता जग्गा लाई पूरा गरेर वा पुनः नापेर मात्र सरकारी वा ओइलनी घोषणा गर्न सकिन्छ।
आज पनि साधुटारमा लगाइएको बोटबिरुवा माथि क्षति पुर्याउने क्रम पूर्ण रूपमा रोकिएको छैन। अतिक्रमणको दुस्साहस घटेको छैन, तर कानुनी रूपमा हामी बलियो अवस्थामा छौ।
यस कारण, साधुटार निजी सम्पत्ति हो भन्ने यथार्थ बुझी, यसको संरक्षण, मर्यादा र दिगोपनामा सबैको जिम्मेवार व्यवहार अपेक्षित छ।
कसैले पनि गिद्धे नजर नलगाऔ।
यस पोस्टमा समावेश गरिएको तस्बिरमा वि.सं. २०३८ सालमा स्व. श्री चेत बहादुर सुनुवार मुखियाले सरकारलाई राजश्व तिरेको रसिद स्पष्ट देख्न सक्नुहुनेछ।
👉 साधुटार आउन–जान सबैलाई छुट छ,
तर अतिक्रमणको गिद्धे नजर र लापरबाहीपूर्ण गैरजिम्मेवारी त्यागेर मात्र आउनुहोला।
साधुटार कुनै विशाल वा आश्चर्यजनक स्थान होइन।
तर यो शहरको भिडबाट टाढा, पहाडको टाकुरामा अवस्थित, शान्त, फराकिलो र मनमोहक दृश्यावलोकन गर्न सकिने स्थान अवश्य हो।
आउनुहोस्, बस्नुहोस्, पकाउनुहोस्, खानुहोस्—
तर यहाँ बाट जानु अघि आफूलाई पनि एक जिम्मेवार सचेत, शिक्षित मानव भएको परिचय दिने प्रयास गर्न नबिर्सनुहोस्।
तपाईंको सोच, विचार र व्यवहार सकारात्मक र सचेत भए संसार आफैं सुन्दर देखिन्छ।
धन्यवाद।