16/04/2025
तन्त्र दर्शन अनुसार आत्मालाई संसाररूपी मायासँग बाँध्ने आठ बन्धन/साङ्लाहरू छन्। जसलाई शास्त्रीय भाषामा अष्टपाश भनिने गरिन्छ।
यी अष्टपाशहरू निम्न प्रकारका छन्:
१. घृणा
२. लज्जा
३. भय (डर)
४. शङ्का
५. जुगुप्सा (निन्दा)
६. कुल
७. जात
८. शील (विनम्रता)
यी ८ बन्धनहरूले बाँधिएको कुनै पनि चेतनालाई जीव भनिन्छ र यी सबै बन्धनहरूबाट मुक्त भएको चेतनालाई नै सदाशिव (परम चैतन्य) भनिन्छ। (पाशोबद्ध भवेत् जीव पाशमुक्त सदाशिव)
दुर्गा सप्तशतीको ८ औँ अध्यायमा जब असुर चण्ड र मुण्डको मृत्यु हुन्छ तब असुरराजा शुम्भ क्रोधित भएर आफ्नो सेनालाई महासरस्वती रूपिणी कैशिकी माथी आक्रमण गर्न आदेश दिन्छ। असुरराज भन्छ, "हे राक्षसहरू, म असुरहरूको सबै सेनाहरू सहित ८६ उद्युध, ८४ कम्बु, ५० कोटीवीर्य, १०० धूम्र, कालक, दौहृद, मौर्य र कालकेय राक्षसहरूलाई युद्धको लागि अघि बढ्न आदेश दिन्छु।"
यहाँ दुर्गा सप्तशतीले तन्त्र, ब्रह्माण्ड र मायाको एउटा ठूलो रहस्य प्रकट गर्दछ। हाम्रो अहंकारलाई प्रतिनिधित्व गर्ने राक्षस शुम्भले सत्यलाई जित्न ८ प्रकारका राक्षसहरूको नाम दिन्छ।
यी ८ प्रकारका राक्षसहरूले वास्तवमा अष्टपशालाई जनाउँदछ जसले व्यक्तिलाई मायामा बाँध्दछ। सप्तशतीमा यी ८ बन्धनहरूलाई ८ राक्षस प्रकारको रूपमा प्रतिविम्बित गरिएको छ र जब जीवले माता शक्तिलाई आह्वान गर्छ, वहाँले हामीमा भएका यी राक्षसहरूसँग लड्नुहुन्छ र यी असुरहरूले सिर्जना गरेका बन्धनहरू तोड्नुहुन्छ र हामीलाई मुक्त गर्नुहुन्छ। हामीलाई जीवबाट सदाशिव बनाउनुहुन्छ।
जसरी प्रमुख राक्षस शुम्भ (हाम्रो अहंकारको प्रतिनिधित्व) युद्ध जित्नको लागि ८ राक्षसहरूमा निर्भर हुन्छ र उसको सेना मारिएपछि उसको पनि मृत्यु हुन्छ त्यस्तै यी ८ बन्धनहरू पनि हटाइएपछि अहंकारको मृत्यु हुन्छ।
अब यी साङ्लाहरू के हुन् भनेर विस्तृत रूपमा हेरौं।
१- घृणा: घृणालाई उदययुध राक्षसले चित्रण गरेको छ। जब शुम्भले ८६ उदययुध तयार रहन भन्छ, यसले हामीलाई ८६ प्रकारका घृणाहरूको बारेमा बताउँछ जसले हाम्रो अहंकारलाई पोषण गर्छ र हामीलाई सत्यबाट टाढा राख्छ।
घृणा दुईधारे तरवार हो। यसले हामीलाई कसैलाई प्रेम नगर्न बाध्य पार्छ, यसले घृणा गरिएको वस्तु भन्दा अहंकार नै राम्रो भन्दै हाम्रो अहंकारलाई पोषण पनि गर्छ। अहंकारले ८६ तरिकाले घृणा गर्न सक्छ त्यसैले ८६ उदययुध राक्षसहरू सप्तशतीमा वर्णित छन्।
जीवमा १० अंग र ४ अन्तकर्ण हुन्छन्। यी १४ अंग र अन्तकरणले चार प्रकारका जीवित प्राणीहरू (रुखहरू, सरीसृपहरू/कीराहरू, जनावरहरू र मानवहरू) प्रति घृणा उत्पन्न गराउँदछ।
यसरी जागृत अवस्थामा अहंकारमा कुल ५६ प्रकारका घृणा हुन्छन्। सपनाको अवस्थामा, अंगहरू अनुभवमा अस्तित्व विहिन हुन्छन् त्यसैले ४ अन्तकर्णहरूले ४ प्रकारका जीवित प्राणीहरूको लागि यो घृणा उत्पन्न गराउछन् र स्वप्नहीन अवस्थामा अहंकारले १० अंग र ४ अन्तकरणहरू प्रती नै घृणा गर्छ जसले गर्दा सबै ८६ प्रकारका घृणा हुन्छन्।
यी राक्षसहरूले अहंकारलाई सन्तुष्ट र शक्तिशाली राख्छन्। माता शक्तिलाई जब जागृत गरिन्छ, उहाँले यी ८६ घृणाहरूलाई मार्नुहुन्छ र हाम्रो अहंकारलाई "घृणा" भनिने एउटा बन्धनबाट मुक्त गर्नुहुन्छ।
२- लज्जा : यो बन्धनलाई कम्बु राक्षसहरूले चित्रण गरेका छन्। कम्बु शब्द शंखको लागि पनि हो जसले अरूबाट आफूलाई बचाउन कडा कवच पछाडि लुक्ने जनावरलाई जनाउँछ। यहाँ लज्जा वा आफ्नो कमजोरीबाट आफूलाई लुकाउने र आफ्नो आत्मसम्मान बचाउन अरूबाट टाढा रहनु हो। यो पनि आत्मामाथिको एक प्रकारको बन्धन हो।
आत्माले आफूलाई ६ शरीर, १० अंग र चार अन्तःकर्णहरू भित्र लुकाउँछ, त्यसैले कम्बुको संख्या ८४ वर्णन गरिएको छ जसले ८४ प्रकारका लज्जालाई दर्शाउने गर्छ।
यहाँ दुर्गा सप्तशती धेरै साहसका साथ घोषणा गर्दछ कि यी राक्षसहरू पनि आमाको प्रकटीकरण मात्र हुन् ।
या देवी सर्व भूतेषु लज्जा रूपेण संस्थाथा नमस्तशाये नमस्तशाये नमोह नमः (सबै जीवमा लज्जाको रूपमा प्रकट हुने आमा कृपया मेरो सम्मान स्वीकार गर्नुहोस्)
३. भय (डर): यो तेस्रो बन्धन कोटीवीर्य राक्षसले चित्रण गरेको छ। मृत्युको डर, सम्मान गुमाउने वा नजिकिने डरले अहंकारलाई मायामा व्यस्त राख्छ र ठूलो जागरूकतातर्फको बाटोमा बाधा पुर्याउँछ। दुर्गा सप्तशतीले कोटीवीर्यलाई ५० अंकित गरेको बताउँछ। दश अंग र शरीरका ५ कोष त्यो ठाउँ हो जहाँ भय उत्पन्न हुन्छ जसले गर्दा कोटीवीर्य राक्षसहरूको संख्या ५० हुन्छ।
४. शङ्का: यो चौथो बन्धनलाई धौम्र राक्षसको रूपमा देखाइएको छ। सबै शंकाहरू विकृत वा गलत ज्ञानको कारणले उत्पन्न हुन्छन्।
हाम्रा १० अंगहरू र १० महाभूतहरू (पृथ्वी, पानी, वायु, अग्नि, आकाश - ५ स्थूलमा र ५ सूक्ष्ममा) शंकाका आधार हरु हुन्। यिनै अंगहरू र महाभुतबाट जब हामी सत्य बुझ्न खोज्छौँ तब अज्ञानको सिकार बन्छौँ। त्यसैले शुम्भले युद्ध जित्न १०० धौम्र राक्षसहरूलाई बोलाउँछन्। जसले १०० प्रकारका शंकालाई जनाउँदछ। शङ्काले अहंकारलाई व्यस्त राख्छ जसले गर्दा यसलाई मायामा फसाई राख्छ।
५. जुगुप्सा (निन्दा): जब हामी गलत ज्ञानको कारणले अरूलाई हामीभन्दा फरक देख्छौँ, हामी आफूलाई सही साबित गर्न अरूको निन्दा गर्छौं। यसलाई पनि आत्माको पाँचौँ बन्धनको रूपमा लिईन्छ। माथिको अनुच्छेदमा जस्तै तिनीहरू पनि १०० प्रकारका छन्।
६. कुल: दौहद्री राक्षसले आफ्नो जन्मसँग सम्बन्धित भएकोमा गर्व गर्ने घमण्डलाई जनाउँछ। धेरै पटक ब्रह्मज्ञान सुनेपछि पनि निश्चित कुलको जन्ममा अभिमानको यो बन्धनले हामीलाई छोड्दैन। केवल आमाको दयाले मात्र यो राक्षसलाई मार्न सक्छ र हामीलाई यो साङ्लोबाट मुक्त गर्न सक्छ। तिनीहरू पनि १०० प्रकारका हुन्छन्।
७. जात: राक्षस कालकेयले जातको अहंकारलाई जनाउँछ। झूटो ज्ञानको कारण, जीव आफ्नो शरीर विशेष भएकोमा गर्व गर्दछ (जस्तै मानव शरीर, सेतो वा कालो)। यो बन्धन धेरै शक्तिशाली छ र भगवानको कुनै पनि सैद्धान्तिक ज्ञानले यसलाई हटाउन सक्दैन। मानव आत्माहरू बारम्बार पुनर्जन्म लिन्छन्; मुख्यतया यस बन्धनको कारणले। तिनीहरू पनि १०० प्रकारका हुन्छन्।
८. शील (विनम्रता): यो बन्धनलाई राक्षस मौर्यले जनाउँछ। विनम्रता भनेको जीवको प्रकृति हो। जीवले आफ्नो धेरै जन्महरूको क्रममा आफू र ब्रह्माण्डको बारेमा बनाउने विचार; यो बन्धनलाई रुद्र-ग्रन्थी पनि भनिन्छ। आध्यात्मिकताको उच्च चरणहरू प्राप्त गरेपछि पनि, व्यक्ति यस बन्धनबाट मुक्त हुँदैन र यो बन्धनलाई हटाउनाले मात्र अद्वैत (ईश्वरसँगको मिलन) मा स्थापित हुन्छ।
के यी ८ वटा साङ्लाहरू / अष्टपाश (७२० प्रकारमा विभाजित) यति सजिलै हटाउन सजिलो छ? त्यसो भए बाहिर निस्कने बाटो के हो त ? हो यस अषटपाशबाट पनि मुक्त हुन सकिन्छ। केवल आमाप्रति पूर्ण समर्पणले नै हामी यी सबै बन्धनहरूबाट मुक्त हुन सक्छौँ ।
@ उत्सब खाती