17/09/2026
विश्वकर्मा बाबा देवताहरूका शिल्प विशेषज्ञ, भवन निर्माणकर्ता, हतियार तथा यन्त्र - यानका रचनाकार एवं निर्माता मानिनु हुन्छ। शास्त्रीय मान्यताअनुसार उहाँ ब्रह्माका पुत्र हुनुहुन्छ।उहाँका पाँच पुत्र र एक पुत्री रहेको उल्लेख पाइन्छ। उहाँकी पुत्री सन्ध्याको विवाह वैश्विक ऊर्जा र तापका प्राकृतिक स्रोतका प्रतीक भगवान सूर्यसँग भएको मान्यता रहेको छ।
विश्वकर्मा बाबा हस्तकला, शिल्पकला, वास्तुकला, हतियार तथा विभिन्न यन्त्र–उपकरण निर्माणका प्रेरणास्रोतका रूपमा पूजनीय हुनुहुन्छ। आधुनिक युगमा समेत उहाँले वैदिक कालमा विकास गरेको भनिने प्रविधि, निर्माणकला र सीपको सम्मानस्वरूप नेपालका अधिकांश ग्यारेज, कल- कारखाना, उद्योग, उत्पादनस्थल तथा धातुसम्बन्धी कार्यस्थलहरू आज विशेष रूपमा सजाइन्छन् र झकिझकाउ बनाइन्छन्।
आज विश्वकर्मा बाबाको पूजा अवसरमा उहाँको मूर्ति स्थापना गरी विधिपूर्वक पूजा–अर्चना गर्ने र भोलिपल्ट परम्पराअनुसार नदी, ताल वा तलैयामा मूर्ति विसर्जन गर्ने चलन रहेको छ। आज सवारीसाधन, मेसिन, औजार तथा उपकरणहरूको विशेष पूजा गरिने भएकाले कतिपय स्थानमा सार्वजनिक यातायातका साधनहरू सामान्य दिनको तुलनामा कम उपलब्ध हुन सक्छन्।
विश्वकर्मा पूजाको हार्दिक शुभकामना। 🙏🔧⚙️