18/04/2026
प्रेस बिज्ञप्ति ।
विषय: पशुपतिनाथ मन्दिर क्षेत्रमा ऐतिहासिक संरचना भत्काइएको घटनाप्रति कडा आपत्ति तथा चेतावनी
आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा २०७६ साल चैत्र २२ गतेदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको “भोकालाई भोजन, प्यासिलाई पानी” महाअभियान अन्तर्गत जय महाकाल युवा समूहले आजसम्म १०४७ औँ दिनसम्म निःशुल्क भोजन तथा जल वितरण कार्य गर्दै आइरहेको सर्वविदित छ।
यस अभियानमार्फत विपन्न, बेसहारा, अशक्त, असहाय नागरिक तथा साधु–सन्तहरूलाई लक्षित गरी निरन्तर मानवीय सेवा प्रदान गरिँदै आएको छ। यस्तो सेवामूलक कार्यलाई साथ र समर्थन गर्नु पर्ने अवस्थामा, उल्टै सेवा सञ्चालन भइरहेको क्षेत्रमै ऐतिहासिक संरचना भत्काइनु अत्यन्त आपत्तिजनक र अस्वीकार्य कार्य हो।
हालै काठमाडौँ महानगरपालिका र पशुपति विकास कोष को सहकार्यमा उक्त क्षेत्रमा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको संरचना भत्काइएको घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण मात्र नभई तीव्र आक्रोश उत्पन्न गरेको छ।
उक्त संरचना केवल एउटा भवन नभई हाम्रो धार्मिक आस्था, सांस्कृतिक अस्तित्व र ऐतिहासिक पहिचानसँग गाँसिएको महत्वपूर्ण सम्पदा थियो। यस्ता धरोहरहरूको संरक्षण गर्नु पर्ने निकायहरू स्वयं संलग्न भई तिनै सम्पदाको विनाश गर्नु गम्भीर गैरजिम्मेवारी, लापरवाही र जनभावनाप्रतिको प्रत्यक्ष अपमान हो।
यस कार्यप्रति जय महाकाल युवा समूह घोर भर्त्सना व्यक्त गर्दै सम्बन्धित निकायहरूलाई स्पष्ट चेतावनी दिन चाहन्छ:
हाम्रा कडा मागहरू:
१. भत्काइएको संरचनासम्बन्धी सम्पूर्ण सत्यतथ्य र निर्णय प्रक्रिया तत्काल सार्वजनिक गरियोस्।
२. ऐतिहासिक तथा पुरातात्त्विक मूल्याङ्कन नगरी संरचना भत्काउने निर्णयमा संलग्न अधिकारीहरूमाथि छानबिन गरी कडा कारबाही गरियोस्।
३. नष्ट गरिएको सम्पदाको पुनर्निर्माण तथा संरक्षणका लागि स्पष्ट योजना सार्वजनिक गरियोस्।
४. आगामी दिनमा यस्ता कार्यहरू दोहोरिएमा सम्बन्धित निकायहरू विरुद्ध कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौं।
अन्त्यमा, जय महाकाल युवा समूह आफ्नो मानवीय सेवा कार्यलाई कुनै पनि परिस्थितिमा नरोक्ने स्पष्ट पार्दै, यस्ता संवेदनशील विषयहरूमा गैरजिम्मेवार निर्णय नलिन सम्बन्धित निकायहरूलाई गम्भीर र जिम्मेवार बन्न पुनः कडा आग्रह गर्दछ।।