29/08/2026
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्न चिनियाँ सुरुङ उद्धार विज्ञहरूको टोली नेपाल आइपुगेको छ।
नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार विशेष तालिमप्राप्त चिनियाँ उद्धार टोली २०८३ भदौ १३ गते दिउँसो हेलिकोप्टरसहित नेपाल आइपुगेको हो। टोलीले बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यमा नेपाली निकायसँग समन्वय गरेर सहयोग गर्ने बताइएको छ।
भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटसहित नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीका कारण विभिन्न जलविद्युत् आयोजना, सुरुङ तथा अन्य संरचनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन भएपछि खोजी कार्य चुनौतीपूर्ण बनेको छ।
बाढीले सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याएका कारण कतिपय प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन भइरहेको छ। यस्तो अवस्थामा हेलिकोप्टरसहित आएको चिनियाँ टोलीले दुर्गम र जोखिमयुक्त क्षेत्रमा पुगेर उद्धार कार्यमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
चिनियाँ टोलीमा सुरुङभित्र खोज तथा उद्धार गर्ने विज्ञहरू सहभागी रहेको दूतावासले जनाएको छ। उनीहरूसँग कठिन भूगोल, भत्किएका संरचना र सुरुङ क्षेत्रमा खोजी गर्न आवश्यक प्राविधिक ज्ञान तथा अनुभव रहेको बताइएको छ।
टोलीले नेपालका सुरक्षा निकाय, स्थानीय प्रशासन र उद्धारमा संलग्न प्राविधिक समूहसँग समन्वय गरी आवश्यकताका आधारमा काम गर्नेछ। विशेषगरी पहुँच कठिन भएका स्थान, सुरुङ तथा जलविद्युत् आयोजनाका प्रभावित संरचनामा खोजी गर्न उनीहरूको विशेषज्ञता उपयोगी हुने विश्वास गरिएको छ।