27/10/2024
१० कात्तिक, ललितपुर । बिनाशकारी बाढीले असोज दोस्रो साता आएको बगाएर ल्याएको प्लाष्टिक, कपडा, कागज लगायतका फोहोर सङ्कलन गर्ने र उठाउने कार्य शनिवार व्यापक सहभागितामा भयो । ललितपुर महानगरपालिकाको आव्हानमा नख्खु र बागमती नदीको किनारामा छरपष्ट फोहोर सङ्कलनका लागि करीब दुई हजार स्वयंसेवक खटिए । मेयर चिरीबाबु महर्जन, उपमेयर मञ्जली शाक्य लगायतका सबजसो जनप्रतिनिधि, महानगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बिभिन्न संघसंस्थाहरु र स्वतन्त्र रुपमा नागरिकहरुको समेत सहभागितामा कार्यक्रम भएको हो । असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएर प्लाष्टिक लगायतका फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेकोले यो कार्यक्रम गर्नुपरेको हो ।
ललितपुरको फोहर व्यवस्थापनमा क्रियाशील निजीक्षेत्र, ललितपुर चक्रपथ सफाइ अभियानका प्रतिनिधि, सरकारी कर्मचारी, ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुर, सहकारी संघ ललितपुर, लगायत अन्य जातीय संघसंस्थाले समेत अभियानमा सहभागिता जनाए ।
अभियान राम्रो भएतापनि विभिन्न तयारीको कमिका कारण कार्यक्रम पूर्ण प्रभावकारी नरहेको अनुभूति हामीले गरेका छौं । नेप्सेम्याक लगायतका फोहर व्यवस्थापनमा क्रियाशील निजीक्षेत्रको नाम समेत लिन महानगरले कन्जुस्याइँ गरेको भएतापनि यिनीहरुको जत्तिको तयारी अरुको देखिएन । डोको, बोरा, काँटा लगायतका सामग्रीको चाँजोपाँजो नमिलाएको र पञ्जा समेतको अपूरो व्यवस्था कार्यक्रममा देखियो ।
बागमती र नख्खु खोलामा बिभिन्न स्थानहरुमा जम्मा भएर बिभिन्न समुहमा बाँडिएर सञ्चालन भएको यो कार्यक्रम थप व्यवस्थित गर्न सकिन्थ्यो भन्ने सहभागीहरुको भनाइ छ । कसैले पञ्जा लगाएर पनि काम नगरी हिँडीरहेको र कोही काम गरिरहेकाको हातमा पञ्जा नभएको अनमेल दृश्य पनि कार्यक्रममा थियो । ठूलो जनशक्ति तर कमजोर व्यवस्थापनले उपलब्धी भने उत्साहजनक रहेन । अब आगामी केही शनिबार पनि अभियानले निरन्तरता पाउने बुझिएको छ । तसर्थ यसलाइ थप व्यवस्थित गर्न प्राथमिकताका साथ लाग्नुपर्ने देखिन्छ ।