27/05/2026
मिति: २०८३ जेठ १३ गते
भक्तपुर -सूर्यविनायक नगरपालिकाको आयोजनामा सम्पन्न “जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) सम्बन्धी” अभिमुखीकरण कार्यक्रममा सहभागी भई आफ्ना धारणा तथा प्रस्तुति राख्ने अवसर प्राप्त भयो।
कार्यक्रममा विशेषगरी नेपालको संविधानले सुनिश्चित गरेको समानताको हक, दलित अधिकार, जातीय विभेद विरुद्धको कानुनी व्यवस्था, छुवाछूत सम्बन्धी कसुर तथा सजाय ऐन, २०६८ को प्रभावकारी कार्यान्वयन, तथा समाजमा अझै विद्यमान विभेद अन्त्य गर्न स्थानीय तहको भूमिका लगायतका विषयमा केन्द्रित भएर प्रस्तुति गरिएको थियो।
साथै, जातीय विभेद कानुनी मुद्दा मात्र नभई मानवता, सामाजिक न्याय र नागरिक सम्मानसँग जोडिएको गम्भीर विषय भएकाले राज्यका सबै निकाय, जनप्रतिनिधि, समुदाय तथा युवाहरू अझ संवेदनशील, जिम्मेवार र सचेत बन्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
कार्यक्रममा सहभागी दलित समुदायका प्रतिनिधि, जनप्रतिनिधि तथा दलित र गैरदलित समुदायबीच अनुभव आदानप्रदान, कानुनी सचेतना तथा सामाजिक रूपान्तरणका विषयमा महत्वपूर्ण छलफल समेत भएको थियो।
यस महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गरी आफ्नो विचार राख्ने अवसर प्रदान गर्नुभएकोमा सूर्यविनायक नगरपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछु।