05/12/2021
के हामी तयार छौं?
एकहप्ता अगाडि राष्ट्रसंघको महासभाद्दारा नेपाललाई ५ बर्षको परीक्षणकाल तोकी गरिब देशबाट माथि लैजाने ऐतिहासिक प्रस्तावको अनुमोदन गरेको छ। यो नेपाल र नेपाली जनताका लागि सुखद तथा सकारात्मक कुरा हो। एलडीसीबाट माथि उक्लनका लागि नेपालले पूरा गर्ने पर्ने शर्तहरु, राष्ट्रिय प्रतिव्यक्ति आय १,२२२ अमेरिकी डलरभन्दा माथि हुनुपर्ने, मानव सम्पत्ति सूचकाङ्क ६६ वा माथि हुनुपर्ने र आर्थिक जोखिम सूचकाङ्क ३२ वा कम हुनुपर्ने पूरा गर्नुपर्ने हुन्छ तर नेपालले प्रतिव्यक्ति आयको मापदण्डलाई पूरा गर्न सकेको छैन। यो नेपालको लागि अवसर र चुनौती दुबै हो। यसका लागि नेपालले सन् २०२६ सम्मको समय पाएको छ। अब नेपालले यो समयलाई अवसरको रुपमा लिएर प्रतिव्यक्ति आम्दानी वृद्दितर्फ आफ्नो ध्यान केन्द्रीत गर्नुपर्ने जरुरी देखिन्छ।
नेपाल एलडीसीबाट माथि उक्लदै गर्दा एलडीसी भएको नाताले विश्वसमुदायबाट प्राप्त गर्दै आएका केही फाइदाहरु जस्तै शुन्य भन्सार महसुल, कोटा फ्री, ड्युटी फ्री, अन्तराष्ट्रिय सभा सम्मेलनमा भाग लिन जान पाउने मौका र त्यसका लागि लाग्ने टिकखर्च, विश्व बैंक तथा एसियाली विकास बैंकबाट अतिकम विकसित मुलुकका प्रतिव्यक्ति राष्ट्रिय आएका आधारमा प्रदान गर्ने सहुलियत ऋण, नेपालले पाउँदै आएका छात्रवृत्ति कोटा लगायत सेवा छुटको सुविधा कटौती तथा विभिन्न देशमा ९० प्रतिशतभन्दा बढी निर्यातमा नेपालले व्यापारमा प्राथमिकता पाइरहेको थियो यो अवसर बन्द हुनेछन। यस्ता खालका बेफाइदाहरुलाई सहज र प्रभावकारी रुपमा उपलब्धीमूलक बनाउका लागि नीतिगत, संस्थागत, कार्यगत तथा व्यवहारगत अवरोधहरुको व्यवस्थापनमा सजगता देखाउन जरुरी देखिन्छ। यसका लागि समयमानै आवश्यक रणनीतिहरुको निर्माण, सुविधा प्रदान गर्दै आइरहेका राष्ट्रहरु, साझेदार संस्जथाहरुसँग द्धिपक्षीय छलफल गरी सहुलियतपूर्ण बजार पहुँचलाई निरन्तरता दिइराख्नका लागि विभिन्न व्यापार सम्झौताहरु गर्नुपर्ने, मानव पूँजी, दिगो पूर्वाधार निर्माण, उद्यमशीलता, उत्थानशीलता, उत्पादन र उत्पादकत्वमा वृद्दि, प्रत्यक्ष वैदेशिक लगानीमा वृद्दि गर्नेतर्फ ध्यान जान जरुरी देखिएको छ। यो सबै सक्षम, सबल, नैतिकवान, सदाचारी र निष्ठावान नेतृत्वबीना सम्भव छैन।