The Dialectical Society

The Dialectical Society Political Organisation

प्रेस विज्ञप्ति विगत केही समयदेखि सामाजिक सञ्जालहरूमा चलिरहेको “नेपो बेबीज ट्रेन्ड” पश्चात् आज सेप्टेम्बर-०८ मा काठमाडौ ...
08/09/2025

प्रेस विज्ञप्ति

विगत केही समयदेखि सामाजिक सञ्जालहरूमा चलिरहेको “नेपो बेबीज ट्रेन्ड” पश्चात् आज सेप्टेम्बर-०८ मा काठमाडौ लगायत देशका विभिन्न स्थानमा भएका भ्रष्टाचार विरोधी युवा प्रदर्शनमा सरकारद्वारा गरिएको नृशंस दमन र बर्बर हत्याको हामी निन्दा र भर्त्सना गर्दछौ ।

यो लेखिरहँदा सम्ममा देशभरमा १९ जनाको मृत्यु र ३४७ जना घाइते भएको खबर सार्वजनिक भएको छ । ज्यान गुमाउनुहुने सबै साथीहरूप्रति हाम्रो असीम सम्झना छ । सम्पूर्ण घाइते साथीहरूको हामी शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।

कुनैपनि बहानामा किशोर आन्दोलनकारीहरूको टाउको ताकेर गोली चलाइनु क्षम्य हुन सक्दैन । सेना, प्रहरी, खुफिया गुप्तचर जस्ता थुप्रै निकायहरू हुँदाहुँदै पनि राजधानीको मुटुमै भिड नियन्त्रणमा राज्यले देखाएको कमजोरी र नालायकीका कारण यति ठुलो मानवीय क्षति व्यहोर्नु परेको कुरा स्पष्ट छ। तर यो एकमात्र कारण होइन ।

साथै सामाजिक सञ्जाल माथिको सरकारको प्रतिबन्ध यो विरोध प्रदर्शनको तात्कालिक कारण जस्तो देखिए पनि यो एकमात्र कारण होइन । सरकार र सत्ताको म्युजिकल चेयरमा लामो समयदेखि घुमिरहेका मुट्ठीभर शीर्षस्थहरूको नालायकी र लोभ यो निराशा र विद्रोहको एउटा प्रमुख कारण हो । नागरिकका सपनाहरूमाथि कुठाराघात गर्दै सत्ताको कुर्सीको दौडमा निरन्तर र निर्लज्ज ढङ्गले दौडिरहेका नयाँ र पुराना शीर्षस्थहरू यो प्रकरणका मुख्य दोषी हुन् ।

निश्चय नै यस घटनामा छानबिन र दोषी कर्मचारीमाथि दण्ड सजाय जरुरी छ । तर यस्तो अवस्था आउनुमा राजनैतिक रूपले जिम्मेवार मानिसहरूमाथिको कारवाही त्यो भन्दा धेरै महत्त्वपूर्ण र जरुरी काम हो भन्ने हाम्रो ठम्याइ छ ।

प्रदर्शन हिंसात्मक हुन थाल्ने बित्तिकै प्रदर्शनकारी अगुवा साथीहरूले प्रदर्शनमा घुसपैठ भएको जनाउँदै सहभागीहरूलाई घर फर्कन अपिल गर्नु भएको थियो । प्रदर्शन अगाडी पनि हिंसा आफ्नो उद्देश्य नभएको उहाँहरूले बारम्बार जोड दिनुभएको थियो । यी सबका बाबजुद प्रदर्शन हिंसात्मक भयो । यो प्रदर्शनलाई हिंसात्मक बनाउनमा प्रतिगामी घुसपैठ मुख्य रूपले जिम्मेवार छ । तर साथसाथै आफूले आफैलाई स्वतन्त्रको ट्याग लगाएका र सामाजिक सञ्जालका माध्यमबाट छद्म र सङ्गठित रूपमा उत्तेजना फैलाउन उद्दत अनेक “पपुलिस्ट” समूहहरू पनि उत्तिकै जिम्मेवार छन् ।

अघिल्लो पटक ज्ञानेन्द्र शाह, केही पूर्वपञ्चहरू र दुर्गा प्रसाईँको मिलीभगतमा मच्चाइएको अराजकताका मुख्य जिम्मेवारहरूलाई कारवाहीको दायरामा ल्याउन गरिएको कमजोरीको दुष्परिणाम आज उदाङ्गिएको छ । हामी यसपटक मच्चाइएको यो अराजकता र बर्बरताको गम्भीर, निष्पक्ष र स्वतन्त्र छानबिन र कारबाहीको समेत माग गर्छौ ।

सामाजिक सञ्जालहरूमा गरिएको सार्वजनिक अपिलका आधारमा र कुनै देखिने र ठोस नेतृत्व विना स्वतःस्फूर्त रूपमा भ्रष्टाचारको विरोध गर्न भेला भएका प्रदर्शनकारीहरूको बीचमा घुसपैठ र हिंसाको सम्भावना र पूर्व आशङ्का सर्वत्र थियो । त्यसका बाबजुद नागरिक समाज , मानवअधिकारकर्मीहरू लगायतका सबैले घुसपैठ र हिंसाबाट जोगाउन गर्नुपर्ने पूर्व तयारी र अनुगमन गर्न नसक्नुलाई सबैको सामूहिक कमजोरीका रूपमा ग्रहण गर्नु र आगामी दिनहरूमा यसबाट सिक्नु आवश्यक छ ।

नयाँ र उन्नत राजनीति र प्रणालीका लागी सङ्घर्षरत हामी सबैका लागी सु स्पष्ट राजनीतिक मागहरू र सङ्गठनको अभावमा विद्रोहहरूले कस्तो क्षति भोग्न सक्छन् भन्ने एउटा पाठ आजको घटना हो । साथै राज्य कति क्रूर र नृशंस हुन सक्छ भन्ने प्रमाण समेत हो । तर हाम्रो आजको पुस्ता यस्ता पाठहरूबाट सिक्न र अघि बढ्न सक्षम छ भन्ने हाम्रो गहिरो विश्वास छ । सम्पूर्ण Gen Z साथीहरूलाई आगामी लडाइँलाई थप योजनाबद्ध र सङ्गठित गर्दै अगाडि बढाउन सँगसँगै हातेमालो गर्न पनि हामी हार्दिक अपिल गर्दछौँ ।

फेरी पनि आज ज्यान गुमाउनुहुने सबै साथीहरूप्रति हाम्रो असीम सम्झना छ । शोकाकुल सबैसँग हामी वेदना साझा गर्छौ र सम्पूर्ण घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।

मिति - भदौ २३, २०८२

प्रेस विज्ञप्ति हिजो काठमाडौँको विभिन्न स्थानमा पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएका अराजक प्रदर्शन,  हिंसा, आगजनी...
29/03/2025

प्रेस विज्ञप्ति

हिजो काठमाडौँको विभिन्न स्थानमा पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएका अराजक प्रदर्शन, हिंसा, आगजनी लगायतका घटनाको हामी निन्दा र भर्त्सना गर्दछौ ।राजतन्त्र पक्षधरहरूले राजनीतिक आवरण दिन प्रयत्न गरिरहेको यो अराजकता कुनै पनि अर्थमा क्षम्य छैन ।

घटनामा संलग्न केही मानिसहरू पक्राउ परेका छन् र अनुसन्धानको दायरामा छन् । तर पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा नल्याउँदा सम्म यो अनुसन्धानले पूर्णता नपाउने प्रष्टै छ । हामी ज्ञानेन्द्र शाहलाई कानुनको दायरामा ल्याउन, पूर्व राष्ट्रप्रमुखका रूपमा उनलाई दिइएका सबै सुविधा (सुरक्षा, भत्ता, विशेषाधिकार) खोस्न र रोक्न तथा उनका विरुद्ध अभियोग चलाउन राज्यसँग माग गर्दछौँ ।

सङ्घीय राजधानीमै र संसद भवनको नजिकै भएको यो स्तरको अराजकता हिंसा र लुटपाटको पूर्वानुमान गर्न नसक्नुमा गृह प्रशासनको कमजोरी र लाचारी प्रष्टै देखिन्छ । यो हिंसा "अचानक" भएको होइन र हुन सक्दैन । हामी यस घटनामा प्रधानमन्त्री, गृह मन्त्रालय र प्रहरी प्रमुखको सार्वजनिक जवाफदेहिताको माग गर्दछौँ।

निश्चित रूपमा हिजोको अराजक र हिंसात्मक घटनामा राजतन्त्र पक्षधरहरूका अराजनीतिक र आपराधिक हर्कतहरू नै जिम्मेवार छन् । तर सारमा हिजोको घटनामा यस व्यवस्थाका पक्षधरहरूको अक्षमता, नालायकी र त्यसले नागरिकमा पैदा गरिरहेको निराशा समेत उत्तिकै जिम्मेवार छ । जबसम्म यो व्यवस्था यस्तै रूपमा रहिरहन्छ , प्रतिगमनको खतरा रहिरहने छ । उन्नत र अग्रगामी व्यवस्थामा फड्किने इमानदार प्रयत्नले मात्रै वास्तविक अर्थमै प्रतिगमनको खतराको प्रतिवाद गर्न सक्नेछ । हामी अग्रगामी र वास्तविक अर्थमै उन्नत लोकतन्त्रका लागी दृढतापूर्वक लाग्न सम्बन्धित सबैमा अपिल समेत गर्दछौँ ।

राज्य ज्यादतीका विरुद्ध हाम्रो आवाज  औरही गाउँपालिका–५, नवटोलीमा विगत २५ वर्षदेखि बस्दै आएका डोम समुदायका अनिता मलिक र द...
21/03/2025

राज्य ज्यादतीका विरुद्ध हाम्रो आवाज

औरही गाउँपालिका–५, नवटोलीमा विगत २५ वर्षदेखि बस्दै आएका डोम समुदायका अनिता मलिक र दिपक मलिकको घर “धार्मिक महायज्ञ” गर्ने नाममा महायज्ञका आयोजक बजरंगी बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादवले सरकारी डोजर प्रयोग गर्दै गत फागुन १० गते जबरजस्ती भत्काइ, दलित बसेको ठाउँ अपवित्र हुने भन्दै त्यस ठाउँको माटो समेत ताछेर फालेको घटनाप्रति द डायलेक्टिकल सोसाइटीको गम्भीर ध्यानाकर्षण भएको छ ।

सो घटना पश्चात्, राज्यको तमाम तागतको दुरुपयोग गरी पीडितमाथि जागिर खोसिदिने, गाउँ निकाला गरिदिने जस्ता धम्की दिएर गराइएको “मन्जुरीनामा”ले, आज राज्यले आम मानिसलाई कुन हदसम्म निरीह बनाएको छ भन्ने दृश्य खुलस्त पारेको छ ।

जात व्यवस्थाले जकडिएको नेपाली समाजको जर्जर चित्र दर्साउने उक्त घटनाले आम मानिसको सम्मानपूर्वक बाँच्न पाउने आधारभूत अधिकारको ज्यादतीपूर्ण हननलाई अभिव्यक्त गर्दछ । यो व्यवस्थाका जनप्रतिनिधि मानिने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष नै पिडक रही, राज्य संयन्त्रको चरम दुरुपयोगमार्फत आम जनतामा यो तहको त्रासको वातावरण सिर्जना गरिनु आज लोकतन्त्रका नाममा तानाशाही व्यवस्था चलिरहेको यथार्थको प्रतिविम्ब समेत हो । साथै, यस घटनाले नेपाली समाजमा पछिल्लो समय बढिरहेको धार्मिक आतिवादलाई उजागर मात्र गरेको छैन, बरु त्यस्ता कार्यमा जनताको करको निरन्तर दुरुपयोग गरिएको भयावह परिस्थितिलाई समेत पुनश्च सतहमा ल्याएको छ ।

यस घटनाको द डायलेक्टिकल सोसाइटी घोर भर्त्सना गर्दछ । न्यायप्रेमी साथीहरू, राज्यको यस अत्याचारका विरुद्ध सङ्गठित प्रतिरोधमा जुट्नु बाहेकको विकल्प छैन । आ-आफ्नो स्थानबाट नेपाली समाजको सम्पूर्ण रूपान्तरणमा सङ्गठित भई प्रतिरोधमा जुट्न हामी हार्दिक अपिल गर्दछौँ । साथै, सम्बन्धित निकायलाई यस घटनाको पूर्ण छानबिन गरी दोषीहरू विरुद्ध कडा कानुनी कारबाही गर्न समेत माग गर्दछौँ ।

सम्झनामा स्वनाम कार्यक्रमका केही तस्बिरहरू ।
25/12/2024

सम्झनामा स्वनाम कार्यक्रमका केही तस्बिरहरू ।

अहिले हामी नयाँ आन्दोलनको निर्माणमा जुटिरहेका छौँ । स्वनामलाई सम्झने धेरै कारणहरू छन्, नयाँ आन्दोलनका लागी माटो बनाउने उ...
24/12/2024

अहिले हामी नयाँ आन्दोलनको निर्माणमा जुटिरहेका छौँ । स्वनामलाई सम्झने धेरै कारणहरू छन्, नयाँ आन्दोलनका लागी माटो बनाउने उहाँलाई अहिले सम्झनुपर्ने एक कारण हो । एउटा असल मान्छेलाई सम्झन भेटौँ ।

सहभागिताकालागी हार्दिक अपिल !
22/11/2024

सहभागिताकालागी हार्दिक अपिल !

भ्रष्टाचार सम्बन्धी विधेयकहरूबारे डाइसकको धारणा ।यति बेला सङ्घीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुप...
26/08/2024

भ्रष्टाचार सम्बन्धी विधेयकहरूबारे डाइसकको धारणा ।

यति बेला सङ्घीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ दफावार छलफलमा छन् । यिनमा भ्रष्टाचार जन्य कसुरमा मुद्दा चलाउन पाँच वर्षे हदम्यादको व्यवस्था प्रस्ताव गरिएको छ । सिङ्गो नागरिक समाज र केही सांसदहरू समेत यो हदम्याद सम्बन्धी प्रस्तावको विपक्षमा छन् । द डायलेक्टिकल सोसाइटी यस विरुद्धको आवाजलाई अझ तीव्र बनाउन सम्बद्ध सबैलाई अपिल गर्दछ र सरकारलाई यस्तो प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दछ ।

यसै सन्दर्भमा निजी क्षेत्रको अनुसन्धानको अधिकार पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने गरी छलफल चलिरहेको छ । निजी क्षेत्रको काम कारबाही अनुगमन गर्न , यसले गरेका गलत कामकारवाहीको अनुसन्धान गर्नका र दोषी देखिएमा दण्डित गर्नका लागी लागी सरकारका यावत् निकायहरू छन् । राजनैतिक संरक्षणमा ती निकायहरूले आफ्नो जिम्मेवारी पुरा नगरेको र प्राप्त अख्तियारीको दुरुपयोग गरेका कारण भ्रष्टाचार मौलाएको हो । सरकारी निकायको संलग्नता विना निजी क्षेत्र द्वारा हुने कुनै पनि भ्रष्टाचार हुन नसक्ने प्रष्टै छ । ठुला भ्रष्टाचारहरू त सर्वदलीय सहमतिमा मात्रै हुने रहेछन् भन्ने कुरा यति बेला दिनको घाम झैँ छर्लङ्ग छ । यस्तो बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्र समेतको अनुसन्धानको अधिकार दिँदा यसका दुई परिणाम हुने छन् ।
यावत् सरकारी निकायहरू निजी क्षेत्रका गलत कामकारवाहीको अनुसन्धान गर्नबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखाएर पन्छने छन् र थप गैर जिम्मेवार बन्नेछन् । यसले भ्रष्टाचार झन् बढाउने छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कामको क्षेत्राधिकार र उपलब्ध स्रोतसाधनका कारण केही गर्न नसक्ने हुने छ र प्रकारान्तरले यो सत्ताको तावेदारी गर्ने संयन्त्रमा फेरिने खतरा पैदा हुनेछ ।

परिणाम स्वरुप अहिले चलिरहेको भ्रष्टाचारीहरूको शासन लम्बिने बाहेक अरु केही हुँदैन । द डायलेक्टिकल सोसाइटी यस्ता सबै प्रयत्नहरूको निन्दा र भर्त्सना गर्दछ । अनि यसको विपक्षमा जुझारु सङ्घर्षमा लाग्न सम्बन्धित सबैमा अपिल गर्दछ ।

संवैधानिक आयोगका नियुक्तिहरू राजनैतिक दलहरू र तिनका गुट उपगुटहरूको भागबन्डाको विषय बनेको कुरामा यति बेला नेपाली जनताको विश्वास छ । जनतामा यो विश्वास कायम रहँदा सम्म संस्थागत सुधारको विषयमा हामी गम्भीरता साथ काम गर्न सक्नेछैनौँ । यस अर्थमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक आयोगहरूमा हुने नियुक्तिहरूको प्रक्रिया कसरी पारदर्शी बनाउने भन्ने विषयमा सार्वजनिक छलफल चलाउन पनि यो उपयुक्त अवसर हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै (पूर्व)पदाधिकारीहरू विरुद्ध भ्रष्टाचार जन्य कसुरमा मुद्दा चलाउनु पर्ने परिस्थितिको कसरी अन्त्य गर्ने भन्ने विषयमा सार्वजनिक छलफल चलाउन हामी सबै सरोकारवाला मित्रहरूमा अपिल गर्दछौ ।

हाम्रो विचारमा हरेक संवैधानिक नियुक्तिहरूका लागी रोष्टर बनाउने , उक्त रोष्टर सार्वजनिक गर्ने र उक्त रोष्टरमा पर्ने हरेक मानिसबारे सार्वजनिक छलफल हुने वातावरण बनाउने कुराबाट यो काम सुरु गर्न सकिन्छ ।

यो प्रकरणले उठाएको यी सबै परिदृश्य भन्दा गम्भीर विषय भने हाम्रो लोकतन्त्रमाथिको प्रश्न हो । हामीले अवलम्बन गरेको प्रणालीमा जनताको मत र मनोविज्ञानकोको प्रतिनिधित्व राजनैतिक दलहरूले गर्नु पर्थ्यो । यसकालागी हाम्रा जनप्रतिनिधिहरू आफू संलग्न दलसँग र जनतासँग आफू संलग्न कामहरूबारे निरन्तर संवादमा हुनु जरुरी हुन्छ । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ माघ ६ गते राष्ट्रिय सभामा प्रस्तुत गरे , त्यसको भोलीपल्ट यो विधेयक राष्ट्रिय सभाका सदस्यहरूलाई वितरण गरियो अनि ०७९ चैत्र २७ गते यो राष्ट्रिय सभाबाट पारित भयो । यस बिचमा यो विधेयक कुनै राजनैतिक दलको छलफलको विषय बनेन । न राष्ट्रिय सभाका सदस्यहरूले आफ्ना मतदातासँग यो विषयमा राय सल्लाह सुझाव माग्ने अथवा छलफल गर्ने काम गरे । अर्थात् प्रकारान्तरले यो प्रकरणमा हाम्रो लोकतन्त्रको आधारभूत मर्ममाथि नै हाम्रा प्रतिनिधि भनिएकाहरूबाट आक्रमण भयो । अनि यो कुनै अपवाद होइन , यो हाम्रा जनप्रतिनिधिहरू जनताका प्रतिनिधि नरहेको प्रमाणहरूको शृङ्खलाको एउटा कडी मात्रै हो । अर्थात् यो प्रकरण हाम्रो लोकतन्त्रको असफलताको देखिने अनुहार हो ।

यस अर्थमा यी विधेयकले प्रस्ताव गरेका जनविरोधी संशोधनहरूको प्रतिवाद जति जरुरी र अनिवार्य छ ,लोकतन्त्र नामको यो भ्रष्टतन्त्रलाइ भत्काएर वास्तविक जनतन्त्रको स्थापना त्यत्तिकै जरुरी र अनिवार्य छ । पटक पटक जनअपेक्षाको प्रतिनिधित्व गर्न असफल भैसकेका यी राजनैतिक दलहरूको विकल्पमा वास्तविक अर्थमै जनताको पार्टी निर्माण गर्नु त्यत्तिकै जरुरी र अनिवार्य छ ।

द डायलेक्टिकल सोसाइटी यी विधेयकहरूले लागू गर्न खोजेका निन्दा र भर्त्सनायोग्य संशोधनहरूको प्रतिवादमा उत्रँदै गर्दा वास्तविक अर्थमै जनताको लोकतन्त्र स्थापनाको कठिन सङ्घर्षमा दृढतापूर्वक हेलिन सम्बन्धित सबैमा अपिल गर्दछ ।

भारतीय मित्रहरूलाई अपिल An appeal to Comrades in India !Comrades,It is with deep sadness that we are writing this appeal...
19/08/2024

भारतीय मित्रहरूलाई अपिल

An appeal to Comrades in India !

Comrades,
It is with deep sadness that we are writing this appeal to you after the recent inhumane incident of r**e and murder in Kolkata. This is surely a manifestation of the oppression of women that has been going on for thousands of years, however the reasons for such crimes are deep rooted in our society.

Patriarchy, which has been ingrained in society for thousands of years, and its reproductive cycle are mainly responsible for inhumane incidents like the r**e and murder in Kolkata. Repeated occurrences of such criminal incidents makes it clear that gender violence is being widely reproduced in the society.

The facts explain the horror of r**e and violence. According to a report by the National Crime Records Bureau (NCRB) of India, in 2022 alone, 4,45,256 complaints of "crime against women" were registered, of which 31,516 were r**e cases. Talking about Nepal, there were 3552 r**e complaints in 2021-22 only, out of which 4 people were killed after r**e and 281 were cases of child sexual abuse. At first glance, these numbers may appear to be just "numbers". However, this is the ugly reality of the times we live in, which is ruining the lives of millions of people and adversely affecting the lives of billions of people.

The legal process and justice system play a crucial role in addressing such incidents. However, we often observe that, within this social structure, state laws work against the interests of common people. The deeply ingrained patriarchy in every aspect of society is preventing victims of sexual violence from fully participating in the judicial process.

Strong resistance is necessary in the face of injustice that we see from time to time. We appeal to you to raise the voice of this resistance. In addition, we would like to share with you our commitment to move forward by collaborating to solve our common problems caused by the deep-rooted patriarchy in our society.

However, as necessary as the resistance in response to those events are, those resistance are incomplete and insufficient in the struggle for social justice. Today, we need to organize our aggressions against patriarchy. The data mentioned above clearly shows how limited our reactions have been.Since voices of resistance are heard in only a few of the thousands of crimes, it is evident that these voices are not able to rebel against the reproduction cycle of inhumane activities caused by patriarchy. Hence, we strongly encourage all justful friends to proactively resist patriarchy.

At present, there is a constant effort being made to divert the attention of the common people from class and gender oppressions which are actually affecting the lives of the people. As a result, the deceptive and erroneous claim that “minority groups' behaviors and practices are the root issue in Indian society” is being forcefully propagated there. Amidst all this, we have utmost respect for the social and cultural diversity and the unity among the justful people that you have preserved, despite the destructive storm of the capitalist market-system in India. We deeply believe that, while raising the voice of protest and resistance as a movement against patriarchy as a whole, you comrades will not be distracted by the misleading and false propaganda going on there and this unity will remain intact.

At this time, The Dialectical Society appeals to the Indian comrades that:

Raise a powerful and organized voice against the patriarchy that is pushing society backward.
Express collective protest against the structure of the justice system that supports perpetrators by presenting a long list of legal loopholes.
Protest from your position on behalf of all the victims of crimes like r**e and sexual violence.
Join us in the fight against all forms of gender-based oppressions.

In the end, we want to express our commitment to fight together with you in the fight against patriarchal oppression, which is not only in Indian and Nepali society, but in the whole world.

Down with patriarchy!!!

८ मार्च ! एक प्रेरणा !! एक उत्सव !!पितृसत्ता विरुद्धको संघर्षमा डटिरहने एक संकल्प !!!यस जमघटमा सहभागी भएर अनि सहभागी हुन...
09/03/2024

८ मार्च !
एक प्रेरणा !! एक उत्सव !!
पितृसत्ता विरुद्धको संघर्षमा डटिरहने एक संकल्प !!!

यस जमघटमा सहभागी भएर अनि सहभागी हुन नसक्दा पनि शुभकामना मार्फत हामीलाइ प्रेम ब्यक्त गर्नुहुने सबै मित्र र अग्रजहरू प्रति हामी कृतज्ञ छौ ।

पितृसत्ता विरुद्धको संघर्षमा अझ ढृढतापूर्वक हेलिऔं !!

पछिल्ला केही दिनहरूमा नेपालका धार्मिक अल्पसङ्ख्यकहरू माथि हिन्दु अतिवादीहरूले नियोजित र सङ्गठित रूपमा गरिराखेको अमानवीय ...
05/10/2023

पछिल्ला केही दिनहरूमा नेपालका धार्मिक अल्पसङ्ख्यकहरू माथि हिन्दु अतिवादीहरूले नियोजित र सङ्गठित रूपमा गरिराखेको अमानवीय दुर्व्यवहार र हिंसा घटनाहरू अवैध, अनुचित, खेदपूर्ण र भर्त्सनायोग्य छन् । धरान, मलंगवा हुँदै नेपालगन्जमा भएका यस्ता योजनाबद्ध र सङ्गठित हिंसा, अशान्ति र दङ्गाका घटनाहरू प्रति हाम्रो खेद छ ।
नागरिकको जिउ-धनको सुरक्षा गर्ने दायित्व बोकेको राज्यले यस्ता घटनाहरूमा कतिपय सन्दर्भमा देखाएको मौनता र हिन्दु अतिवादीहरू प्रति राज्यले देखाएको नम्रता र पक्षधरताको पनि हामी भर्त्सना गर्दछौँ । मलंगवामा कर्फ्युकै बिचमा प्रहरी कार्यालयकै आसपासमा भएका हिंसा र लुटपाटका घटनामा समेत कसैलाई कारबाही नहुनुले राज्य र यसका सञ्चालकहरूको अनुत्तरदायी, अनैतिक र गैर जबाफदेही चरित्र उदाङ्गो पारेको हाम्रो ठम्याई छ । कानुनको कार्यान्वयनमा उदासीनता देखाउँदै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सत्ताधारीहरू बाट जारी “अपिल” व्यर्थ हुने प्रस्टै छ ।
नेपाली समाजमा विद्यमान आर्थिक अन्तरविरोधहरू , मुठ्ठीभर मानिसहरूको हातमा उत्पादनका साधनहरूको केन्द्रिकरण र यसले नेपाली समाजका निम्त्याएको असन्तोषको प्रतिगामी समाधान खोज्ने प्रयत्न नेपालको राजनीतिमा जारी छ र यसको परिणाम नेपाली राजनीतिक व्यवस्था तानाशाही तन्त्र उन्मुख छ । आफ्नो कुत्सित उद्देश्य पुरा गर्न यो प्रतिगामी प्रवृत्तिले समाजको आधारभूत वर्गलाइ विभाजित बनाउने प्रयत्न गर्छ र यसका लागी विभिन्न अर्थहीन भाष्य निर्माणको प्रयत्न गर्छ । यसले आफ्नो भाष्य प्रतिकूलका अल्पसङ्ख्यकको दानवीकरण गर्छ र तिनीहरूमाथि बर्बर दमन गर्छ, अनि समाजमा स्थायी शत्रु सिर्जना गर्ने प्रयत्न गर्छ । मुठ्ठीभर मानिसहरूको आर्थिक स्वार्थको रक्षार्थ यहाँ तानाशाही तन्त्र लागू गर्ने प्रयत्न र पूर्वाभ्यासका रूपमा यी भर्त्सनायोग्य कुकृत्यहरूको आयोजना धर्मका नाममा गरिएको हो भन्ने हाम्रो ठम्याई छ । यी कुकृत्यका धार्मिक अतिवादी आयोजकहरूको नेतृत्व यहाँका प्रतिगामी शक्तिहरूले गर्छन् र यी कुकृत्यहरू छिमेकी भारतका हिन्दुत्ववादी सङ्गठन राष्ट्रिय स्वयंसेवक सङ्घ (आर. एस. एस.) का अनुभवहरूका मार्गदर्शनमा भएका छन् भन्ने हामी ठान्छौँ ।
यस सन्दर्भमा हामी -
• धार्मिक अतिवादीहरूले डोर्याउदै गरेको तानाशाहीतन्त्र उन्मुख प्रयत्नहरूलाई विफल पार्न र जनतन्त्रका पक्षमा सङ्गठित रहन,
• आधारभूत वर्गलाई विभाजित गराउने तानाशाहीतन्त्र उन्मुख धार्मिक अतिवादी मतहरूबाट उद्वेलित नहुन अनि दृढता र संयततापूर्वक यस्ता मतहरूको खण्डन गर्न ,
• इन्टरनेट र सामाजिक सञ्जालहरूमा योजनाबद्ध रूपमा प्रचार गराइने झुट र भ्रमबाट जोगिन जोगाउन
• सामाजिक सञ्जालमा सम्प्रेषित हुने सूचनालाई आलोचनात्मक ढङ्गले बुझ्न बुझाउन, र
• मुठ्ठीभर पुँजीपतिहरूले कायम गरेको शोषण र प्रभुत्व विरुद्ध जुट्न अनि नयाँ, राम्रो, उन्नत र न्यायपूर्ण समाजको परिकल्पना र निर्माणमा अग्रसर हुन
हार्दिक अपिल गर्दछौँ ।
विश्वका श्रमिक तथा उत्पीडित समुदाय एक होऔँ!!
मिति: १८ असोज, २०८०

राष्ट्रिय क्रान्तिकारी मोर्चाबाट अलग भएको बारे द डायलेक्टिकल सोसाइटी विगत केही समयदेखि राष्ट्रिय क्रान्तिकारी मोर्चामा स...
18/07/2023

राष्ट्रिय क्रान्तिकारी मोर्चाबाट अलग भएको बारे

द डायलेक्टिकल सोसाइटी विगत केही समयदेखि राष्ट्रिय क्रान्तिकारी मोर्चामा सक्रियतापूर्वक संलग्न थियो । स्वभाविक रूपमा मोर्चाको वैचारिकी निर्माणमा र संघर्षको काममा प्रमुख मध्येको भूमिकामा हामी सक्रिय थियौ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरूमा पैदा भएको “गम्भिरतम् र अभूतपूर्व सङ्कट” समाधान गर्नका लागी समाजमा रहेका सबै खाले अन्यायका विरुद्ध संघर्ष सञ्चालन गर्ने अठोट सहित यो मोर्चा गठनको प्रयत्न भएको थियो ।

यसै क्रममा २०८० वैशाख २० गतेको मोर्चाको बैठकले आफ्ना घटक सदस्यहरू टुङ्ग्याउने अनि मोर्चाको अवधारणा पत्र र आचारसंहिता तय गर्ने सहमति गरेको थियो । अवधारणा पत्र र आचारसंहिताको मस्यौदा तय गर्ने समितिमै पनि द डायलेक्टिकल सोसाइटी संलग्न थियो । यसपछि मोर्चाका घटक सदस्यहरू टुङ्ग्याउन निरन्तर विभिन्न माध्यमबाट छलफलहरू भए र मोर्चाका १२ घटक सदस्य रहने सहमति भएको थियो । यो कामको पहल पनि द डायलेक्टिकल सोसाइटीले लिएको थियो । अवधारणा पत्रको हकमा ३ वटा प्रस्तावहरू र आचारसंहितामा एउटा प्रस्ताव आएको थियो । यिनै विषयहरूमा निर्णय गर्न २०८० असार २३ मा मोर्चाको बैठक राखिएको थियो ।

तर असार २३ को उक्त बैठकमा आश्चर्यजनक ढङ्गले मोर्चाको घटक सदस्य नै नरहेको सङ्गठनका दुई प्रतिनिधिहरू उपस्थित थिए । उपस्थित उक्त सङ्गठनका प्रतिनिधीहरूमध्ये एकलाई केही समय अघि मात्रै यौन दुर्व्यवहारको आरोप लागेको थियो । अनि उक्त सङ्गठनले आरोपितको बचाउमा सङ्गठित रूपमै पीडितको चरित्र माथि प्रश्नहरू उठाएपछि यसै विषयलाई लिएर उक्त सङ्गठनमै फुट समेत आएको थियो । तर पीडितको चरित्र माथि निर्माण गरिने कुनै पनि संकथन र भाष्यहरूले यौन दुर्व्यवहारलाई वैधता दिन नसक्ने प्रष्टै छ।

घटक सदस्यहरू तय गर्ने छलफलहरूमा उक्त सङ्गठनको नाम कसैले प्रस्ताव समेत पनि गरेको थिएन । थप आश्चर्यको कुरा के थियो भने उक्त सङ्गठनलाई उक्त बैठकमा कसले बोलायो भन्ने कुरा मोर्चाका संयोजक र अरू घटक सदस्यहरूलाई नै थाहा थिएन ।

यस्तो मामलाहरूमा द डायलेक्टिकल सोसाइटीको निर्णय बारे मोर्चाका संयोजकलाई वैचारिकी निर्माणको क्रममा भएका विभिन्न छलफलहरूमा हामीले सुरु देखिनै जानकारी गराएका थियौ । अनि मोर्चाका संयोजकले यस मामलामा आफ्नो सहमति समेत जनाउनु भएको थियो ।

यो सबै कुराको पृष्ठभूमिमा संयोजकलाई जानकारी गराएर हामीले असार २३ को उक्त बैठक बहिस्कार गरेका थियौ । र यस लगत्तै असार २६ गते मोर्चाको संयोजक र घटक सदस्यहरूका नाममा द डायलेक्टिकल सोसाइटीको असहमति पत्र पठाएका थियौ । असार २९का लागी तय भएको मोर्चाको बैठकलाई सही निर्णय लिन सहज होस भन्ने सदिक्षासाथ पठाइएको उक्त लिखित असहमति पत्रले हाम्रो मूर्त, आधिकारिक र औपचारिक धारणा स्पष्ट रूपमा व्यक्त गर्दछ ।

तर यस सन्दर्भमा असार २९ को मोर्चाको उक्त सङ्गठन समेत सहभागी बैठकले हामीलाई “ बैठकमै उपस्थित भएर आफ्नो कुरा राख्न” अनुरोधको निर्णय गरेको जानकारी हामीलाई प्राप्त भएको छ । यो निर्णयलाई मोर्चाले सो सङ्गठनको मोर्चामा आबद्धता बारे लिएको स्पष्ट निर्णयका रूपमा हामीले बुझेका छौँ ।

यस सन्दर्भमा हाम्रो धारणा निम्नानुसार छ :
१) हाम्रो आन्दोलनका अनुभवहरूले हामीलाई सधैँ पितृसत्ता विरुद्ध निरन्तर संघर्ष गर्न सिकाएको छ । तर विडम्बना के हो भने हाम्रो आन्दोलनकै केही घटना र अनुभवले इतिहासमा यस सन्दर्भमा केही गम्भीर गल्ती भएको देखाउँछ । विगतका दिनबाट पाठ सिक्दै हाम्रो समाजलाई महिलाहरूका निम्ति सुरक्षित थलोका रूपमा निर्माण गर्ने उत्तरदायित्व बोकेको सङ्गठन हुनुका नाताले हामी राष्ट्रिय क्रान्तिकारी मोर्चालाई समेत यस तर्फ सचेत र उन्मुख रहन अनुरोध गर्छौ ।
२) समग्र समाजको क्रान्तिकारी रूपान्तरणको कार्यभार आज हाम्रो काँधमा छ । सच्चिन नचाहने कुनै अमूक व्यक्ति वा सङ्गठनलाई “सच्चाउने र सुधार्ने” काम न हाम्रो न त मोर्चाको नै प्राथमिकता हो । संघर्षको आँधीबेहरीले हाम्रो समाजको थुप्रै खराबीहरूलाई सच्याउने नै छ । यसैले मोर्चालाई पनि समग्र समाज रूपान्तरणका लागी सङ्घर्षमा केन्द्रित हुन हाम्रो अनुरोध छ ।
३) नयाँ कम्युनिस्ट आन्दोलनको निर्माणमा अभिप्रेरित अनि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा आन्दोलित क्रान्तिकारी मोर्चाले यति बेला पितृसत्ता विरुद्धको सङ्घर्षलाई वैचारिक र व्यवहारिक रूपमै प्राथमिकतामा राख्नु पर्ने छ । यस मामलामा अवधारणा पत्रका लागी हाम्रो तर्फबाट राखेको प्रस्ताव र पछिल्लो असहमति पत्रमा हामीले पर्याप्त भनिसकेका छौ । प्राथमिकताको यस कामलाई मोर्चाको पछिल्लो दुई बैठकका निर्णयहरू र विकसित घटनाक्रमले सही दिशा दिँदैन, बरु अवरोध गर्छ । उक्त निर्णयमा पुन समीक्षा गर्न र भएको त्रुटिहरू सच्याउन हाम्रो अनुरोध छ ।
४) मोर्चाको पछिल्ला दुई बैठकहरूले नेपालको नागरिकता सम्बन्धी कानुनमा लैङ्गिक समानताका लागी संघर्ष गरिनु पर्ने विषय उल्ट्यायो । संघर्ष र सहकार्य गर्नुपर्ने शक्तिहरूको बारेमा व्यवहारिक रूपले नै यसले आफ्नो अवधारणामा हेरफेर ल्यायो ।यस परिस्थितिमा द डायलेक्टिकल सोसाइटी यस मोर्चाबाट अलग भएको छ । हामी मोर्चामा सहभागी हुँदा सहकार्यमा रहनुभएका सबै साथीहरूलाई हामी धन्यवाद दिन्छौ। कुशल संयोजनका लागी संयोजक साथीलाई विशेष धन्यवाद छ । त्रुटि सच्याउँदै मोर्चाले गर्ने सबै आगामी न्यायपूर्ण कार्यक्रमहरूमा हाम्रो शुभकामना छ ।

क्रान्तिकारी अभिवादन सहित
द डायलेक्टिकल सोसाइटी

मिति: २०८०/०४/०२

Address

Kathmandu

Telephone

+9779861292047

Website

Alerts

Be the first to know and let us send you an email when The Dialectical Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share