19/12/2025
साँखु खानेपानी समिति निर्वाचन : दुई पक्षबीच प्रतिस्पर्धा
शंखरापुर, साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति निर्वाचन शनिबार हुँदैछ। यस पटक दुई पक्षबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ!निर्वाचनमा एकतर्फ बर्तमान अध्यक्ष दिनेश लाल श्रेष्ठको समर्थन प्राप्त राम प्रसाद श्रेष्ठको प्यानल र अर्कोतर्फ जयराम श्रेष्ठको प्यानल उभिएको छ। राम प्रसाद श्रेष्ठले बिगतको कार्यप्रदर्शन र दिनेश लाल श्रेष्ठको छविको आधारमा जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् भने जयराम श्रेष्ठले आफ्नो अनुभव र नयाँ परिवेश दिने बताउँदै मतदाता विश्वास जित्ने दावी गरेका छन्।
राजनीतिक समर्थन
यद्यपि विभिन्न राजनीतिक दलहरूले खुल्ला रूपमा पक्षधरता जनाएका छैनन्, तर दुवै उम्मेद्वार राप्रपा समर्थित मानिन्छन्। राम प्रसाद श्रेष्ठलाई स्थानीय प्रभावशाली नेताहरूको समर्थन रहेको छ भने जयराम श्रेष्ठलाई पनि स्थानीय राप्रपा नेताहरू र अन्य दलका व्यक्तिहरूको समर्थन प्राप्त छ।
प्रभावकारी कारक
बिगतका निर्वाचनमा दिनेश लाल श्रेष्ठको व्यक्तित्वले निर्णायक भूमिका खेलेको थियो। यसपटक उनी आफैं उम्मेद्वार नरहँदा उनको प्रभावले निर्वाचनमा कति असर पार्छ भन्ने प्रश्न उठेको छ। साथै, उम्मेद्वारहरूको सामाजिक छवि र परिचयले पनि मतदाताको निर्णयमा असर पर्ने देखिन्छ।
निर्वाचन माहौल
बिगतमा देखिएजस्तो रौनकता यसपटक देखिएको छैन, तर उम्मेद्वारहरूले घरदैलो कार्यक्रममार्फत मतदातासम्म पुग्ने प्रयास जारी राखेका छन्। मतदान दिनसम्म नयाँ घटनाक्रम जोडिन सक्ने सम्भावना रहेको छ।