30/08/2026
नेपाल अहिले प्राकृतिक विपत्तिको अत्यन्त पीडादायी अवस्थाबाट गुज्रिरहेको छ। बाढी, पहिरो, आकस्मिक जलप्रवाह तथा अन्य प्राकृतिक प्रकोपका कारण देशका विभिन्न भू-भागमा नागरिकको जनधनमा गम्भीर क्षति पुगेको छ। धेरै परिवारले आफ्ना प्रियजन गुमाएका छन्, कतिपय नागरिक सम्पर्कविहीन छन् भने ठूलो संख्यामा मानिसहरू घरबार, खाद्यान्न, सुरक्षित आवास, स्वास्थ्य सेवा र आधारभूत आवश्यकताबाट प्रभावित भएका छन्।
यस दुःखद् परिस्थिति प्रति "Buddha Vision Overseas" सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी प्रति गहिरो दुःख, ऐक्यबद्धता र मानवीय संवेदना व्यक्त गर्दछु। यस विपत्तिमा जीवन गुमाउनु हुने सम्पूर्ण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा सम्पर्क विहीन नागरिकहरूको सकुशल उद्धारका लागि हार्दिक प्रार्थना गर्दछु।
मानवता नै हाम्रो पहिलो परिचय हो, विपत्तिको समयमा मानिसको सबै भन्दा ठूलो परिचय उसको जात, भाषा, क्षेत्र, धर्म, राजनीतिक विचार वा आर्थिक अवस्था होइन-उसको मानवता हो। आजको आवश्यकता एकअर्कालाई दोषारोपण गर्ने समय होइन, एकअर्काको हात समात्ने समय हो। आज राजनीतिक मत भेद भन्दा माथि उठेर राष्ट्रिय एकता, मानवीय संवेदना र साझा जिम्मेवारीलाई प्राथमिकता दिनु पर्ने समय हो।
यस घडीमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, सामाजिक संघ-संस्था, निजी क्षेत्र, स्वयंसेवक, सञ्चार माध्यम, नागरिक समाज तथा प्रवासी नेपाली समुदाय बीच प्रभावकारी समन्वय आवश्यक छ। उद्धार तथा राहतमा खटिनु भएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय स्वयंसेवक तथा सामाजिक अभियन्ताहरूले अत्यन्त कठिन परिस्थितिमा पुर्याइरहनुभएको सेवाप्रति "Buddha Vision Overseas" उच्च सम्मान व्यक्त गर्दछ। तर उद्धारकर्ताको जीवन पनि अमूल्य छ। जोखिमयुक्त क्षेत्रमा थप बाढी, पहिरो वा आकस्मिक जलप्रवाहको सम्भावना रहेको अवस्थामा सम्बन्धित प्राविधिक तथा सुरक्षा निकायको सूचना र निर्देशनलाई पूर्ण रूपमा पालना गर्दै उद्धार कार्य सञ्चालन गर्न हामी विशेष आग्रह गर्दछौँ। अरूको जीवन बचाउने क्रममा आफ्नो जीवन जोखिममा नपारौँ। सुरक्षित उद्धार नै प्रभावकारी उद्धार हो।
नेपालमा परेको विपत्ति नेपालको सीमाभित्र मात्र सीमित विषय होइन। मातृभूमिको पीडामा संसारभर छरिएर रहेका नेपालीहरूको मन पनि उत्तिकै जोडिएको हुन्छ। त्यसैले प्रवासी नेपाली संघ-संस्था, व्यवसायी, पेशाकर्मी, विद्यार्थी, युवा, सामाजिक अभियन्ता तथा विश्वभरका नेपाली समुदायलाई आफ्नो क्षमता र पहुँचअनुसार राहत तथा पुनःस्थापनाको अभियानमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
आर्थिक सहयोग मात्र होइन-समय, सीप, प्रविधि, सूचना, सम्पर्क र अन्तर्राष्ट्रिय सहकार्य पनि आज नेपालका लागि उत्तिकै महत्वपूर्ण छन्। नेपाल भगवान् गौतम बुद्धको जन्मभूमि हो। बुद्धको दर्शनले मानव जीवनमा करुणा, मैत्री, अहिंसा, सहअस्तित्व र दुःख निवारणलाई अत्यन्त महत्वपूर्ण स्थान दिएको छ। आज बुद्धभूमि स्वयं पीडामा रहेको अवस्थामा बुद्धको दर्शनलाई केवल शब्दमा सीमित राख्नु पर्याप्त हुँदैन। पीडितप्रति करुणा देखाउनुहोस्। सक्नेले सहयोग गर्नुहोस्। सक्नेले उद्धारमा हातेमालो गर्नुहोस्। सक्नेले रक्तदान गर्नुहोस्। सक्नेले औषधि, खाद्यान्न र आवश्यक सामग्री उपलब्ध गराउनुहोस्। सक्नेले सूचना र प्रविधिमार्फत सहयोग गर्नुहोस्।
किनकि-करुणा तब मात्र अर्थपूर्ण हुन्छ, जब त्यो पीडितको जीवनमा सहयोग बनेर पुग्छ। यस विपत्तिको सामना गर्न तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाको स्पष्ट राष्ट्रिय योजना आवश्यक छ। सरकारले प्रभावित क्षेत्रको शीघ्र र वैज्ञानिक क्षति मूल्यांकन गर्न,सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई सर्वोच्च प्राथमिकता दिन,घाइतेको निःशुल्क तथा शीघ्र उपचार सुनिश्चित गर्न,विस्थापित परिवारलाई सुरक्षित अस्थायी आवास तथा खाद्यान्न उपलब्ध गराउन,जोखिमयुक्त बस्तीको पहिचान तथा आवश्यक स्थानान्तरण गर्न,राहत वितरणमा पारदर्शिता र जवाफदेहिता कायम गर्न,स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न,प्रवासी नेपाली तथा अन्तर्राष्ट्रिय सहयोगलाई एकीकृत र पारदर्शी प्रणाली मार्फत परिचालन गर्न,तथा विपत्ति पछि पुनःनिर्माण र पुनःस्थापनालाई राष्ट्रिय प्राथमिकतामा राख्न "Buddha Vision Overseas" हार्दिक आग्रह गर्दछ।
प्राकृतिक विपत्तिको समयमा कुनै पनि राजनीतिक दल वा नेतृत्वले यसलाई राजनीतिक लाभ–हानिको विषय बनाउनु हुँदैन। विपत्तिमा राजनीति होइन, मानवता अगाडि आउनुपर्छ। सरकारको कामको आलोचना आवश्यक ठाउँमा हुन सक्छ; कमजोरी औँल्याउनु लोकतान्त्रिक अधिकार हो। तर उद्धार र राहतको संवेदनशील समयमा आलोचना पनि समाधानमुखी हुनुपर्छ।
यस संकटबाट नेपालले एउटा महत्वपूर्ण पाठ सिक्नुपर्छ—विपद् व्यवस्थापनलाई आकस्मिक प्रतिक्रिया होइन, राष्ट्रिय सुरक्षा र विकास नीतिको अभिन्न अंग बनाउनुपर्छ।
जलवायु परिवर्तन, अनियन्त्रित भू-उपयोग, नदी तथा खोलाको प्राकृतिक बहावमाथिको अतिक्रमण, कमजोर पूर्वाधार र जोखिमयुक्त बस्ती व्यवस्थापनजस्ता विषयमा दीर्घकालीन वैज्ञानिक नीति आवश्यक छ।
आजको हाम्रो प्राथमिकता स्पष्ट छ,जीवन बचाउने। पीडितलाई सुरक्षित बनाउने।घाइतेको उपचार गर्ने।विस्थापितलाई आश्रय दिने।सम्पर्कविहीनको खोजी गर्ने। र अन्ततः प्रभावित समुदायलाई पुनः आफ्नो खुट्टामा उभ्याउन सबै नेपालीलाई आग्रह गर्दछ।
दुःखमा साथ दिऔँ। पीडामा संवेदना दिऔँ। संकटमा सहयोग गरौँ।
र विपत्तिपछि पुनःनिर्माणमा पनि सँगै उभिऔँ। नेपालको यो कठिन घडीमा हामी विभाजित होइन, एकताबद्ध बनौँ। हामी निराश होइन, आशावादी बनौँ। हामी दर्शक होइन, सहभागी बनौँ।
र बुद्धभूमि नेपालबाट संसारलाई फेरि एउटा सन्देश दिऔँ-मानवता सबैभन्दा ठूलो धर्म हो, करुणा सबैभन्दा ठूलो शक्ति हो र एकता नै विपत्तिबाट उठ्ने सबैभन्दा ठूलो आधार हो।
प्रभावित सम्पूर्ण नागरिक सँग दुःखको यस घडीमा गहिरो ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत, उपचार तथा पुनःस्थापनाको राष्ट्रिय अभियानमा आफ्नो तर्फबाट सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। नेपाल सुरक्षित रहोस्। नेपाली जीवन सुरक्षित रहोस्। पीडित परिवारमा आशा जागोस्। मानवता विजयी होस्।