07/09/2024
माफी
-------
चिट्ठी लेख्न बसे तिमिलाई
मिति कैलेको राखु-पहिलाको कि अहिलेको?
दोधारमा परे
सम्बोधनमा के लेखौ?
मायालु ,प्रेमिका ,प्यारी,मुटुको धड्कन , कलेजोको टुक्रा उफ.............
कति गाह्रो ।
होस ! यी सब पछि लेखुला
चिट्ठीको मुख्य भाग चाहिँ लेखीहालु पहिला
तर के लेखु?
तिम्रा अङ्गअङ्गहरूको बर्णन गर्न मन छ।
नागबेली झै केशराशि, चम्किलो निधार, सुलुत्त परेको नाक ,गाजलु आँखा,पिपलपाते ओठ,चिट्टिक्कको चिउडो,सुरिलो आवाज,............हरिणको चाल र यस्तै यस्तै
यि त चिट्ठीमा लेख्ने कुरा होईनन।
र मैले कविता पनि लेखेको होइन
आफ्नै हालखबर लेखु जस्तो लाग्यो
तर के लेखु
बेखबर जिन्दगी
गन्तव्यहिन हिडाई
कहिले नआउनेको पर्खाई
औषधिसङ्गको नछुट्ने साईनो
गर्न नसकेको प्रगति
उहिले नै बोल्न नसकेको मनको कुरा
पढिनसकेको उपन्यासको अधुरो कथा
नमिलेको जिवनको हिसाब किताब
होस
यी सब लेखेर
तिमिलाई किन दिक्क दिनु
त्यस्तो सुरिलो आवाजमा गाली नखादै राम्रो
र
अन्त्यमा
उहीँ तिम्रो ..पछि के लेख्नु?
पागलप्रेमी ,मरञ्च्यासे,डरछेरुवा,पानी मरुवा, एकोहोरे,
हितैषी,भलो चाहने,शुभचिन्तक ......
केही लेख्न सकिन
होस
यो एउटा चिट्ठी खाली नै पठाउछु
जे जे मन लाग्छ
आफैले लेखेर पढ्छिन
खाली पेज राम्ररी पट्याए
खाम भित्र जतनले राखे
र
ठेगाना लेख्न खोजेको
ज्या है....
म सङ्ग त ठेगाना नै रहेनछ
ठेगाना नभाको कारणले
यसपाली
मैले चिट्ठी पठाउन सकिन
माफ गर।
#होम कुमार थापा ,ललितपुर #