18/11/2025
शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट रङ्गशालामा पहिलो चरणअन्तर्गत निर्मित प्यारापेट र फ्लडलाइट सञ्चालनका लागि आइतबार राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरियो । फ्लडलाइटको उज्यालोसँगै— केवल रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ । वर्षौंदेखि देखिएको पूर्वाधार सम्पन्न क्रिकेट रङ्गशालाको सपना अब वास्तविकतामा परिणत हुँदैछ । खेलकुदले एकातर्फ युवाहरूलाई अनुशासित र उर्जाशील वनाउदै देशलाई एकतामा बाँध्ने क्षमता राख्दछ भने अर्कोतर्फ देशको आर्थिक विकास र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । शहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १०अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ । आगामी ३ वर्षभित्र सम्पूर्ण निर्माण सकिएपछि नेपालले पाउनेछ—पूर्ण सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको भव्य क्रिकेट रङ्गशाला ।
पहिलो चरणको निर्माणलाई सफल बनाउने आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाई हार्दिक धन्यवाद । सोमबारबाट सुरु हुने एनपिएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक बधाई र शुभकामना । आशा छ— कीर्तिपुरको यो उज्यालो मैदानबाट
नेपालको क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ ।