10/04/2026
भाई निराजनसँगै युवराज दीपेन्द्रको गोप्य सोलु भ्रमण
बिसं २०६८ को सुरुवातमा म सोलुको लुक्ला हुँदै नाम्चेसम्म पुगेको थिएँ। होटलको नाम बिर्सें, नाम्चेको एउटा होटलको लवीमा भित्तामा सैनिक पोशाकका दुई युवकहरुको व्यक्तिहरुको तस्वीर देखियो।
तस्वीरमा देखिने महिला त होटल मालिक नै थिइन्, नचिन्ने कुरै भएन। सैन्य पोशाकका दुई युवामध्ये एकजनाको अनुहारपनि परिचितजस्तै लाग्यो।
तस्वीरमा उनी होटलको पाहुना पुस्तिकामा केही लेखिरहेको देखिन्छन्। होटल मालिक महिलालाई सोधेँ, ‘के तस्वीरमा देखिने युवा युवराज दीपेन्द्र हुन्?’
मेरो अनुमान सही ठहरियो। मलाई लागेको थियो, युवराज दीपेन्द्रको अगाडि उभिएका सैनिक पोशाक लगाएका अर्का व्यक्ति उनको सुरक्षामा खटिएका अंगरक्षक होलान्।
तर, सैन्य पोशाकका अर्का व्यक्ति युवराज दीपेन्द्रका अंगरक्षक होइन, भाई अधिराजकुमार निराजन पो रहेछन्। उनी युवराज दीपेन्द्रले होटलको अतिथि पुस्तिकामा हस्ताक्षर गर्दै गरेको क्षण हातमा चिया लिएर हेरिरहेका छन्।
त्यो तस्वीर बिसं २०५७ को रहेछ, दरवार हत्याकाण्ड भन्दा एक वर्ष अगाडिको। युवराज दीपेन्द्र र अधिराजकुमार निराजन गोप्य रुपमा सोलु भ्रमणमा गएका रहेछन् र त्यही होटलमा बास बसेका रहेछन्।
होटलको भित्तामा टाँगिएको यो तस्वीर कपी गर्दा दरवार हत्याकाण्ड भएको पनि १० वर्ष बितिसकेको थियो र रंग उड्दै जाँदा तस्वीर धुमिल बन्दै जान थालेको छ।
दरवार हत्याकाण्ड भएको पनि २४ वर्ष बितिसक्यो। लामो समय भएकाले त्यो तस्वीरको रंग पनि उड्दै गएर धुमिल भइसक्यो होला। तर, उनीहरुप्रतिको हाम्रो स्मृतिको रंग नउडोस्, धुमिल नहोस्।