23/04/2026
“मैले राजनीति गरिनँ—तर राजनीतिले मलाई जेल पुर्यायो।”
मैले लडेको लडाइ कहिल्यै राजनीति थिएन। मैले गरेको संघर्ष राजनीतिक लाभका लागि पनि थिएन। “आजसम्म मैले कुनै पनि पार्टीलाई एक भोटसम्म मागेको छैन।”
तर पनि झुटा राजनीतिक मुद्दामा मलाई पटक–पटक जेल जानुपर्यो। वर्षौँसम्म तारिख धाउनुपर्यो।
सत्य बोलेको मूल्य मैले जेल बसेर तिरेको हुँ।
“जब तपाईं अन्यायको विरुद्ध बोल्नुहुन्छ, तपाईंलाई अपराधी बनाइन्छ।”
म त्यसको जिउँदो उदाहरण हुँ।
त्यसको एउटै कारण थियो—समाज रुपान्तरणको आवाज। विभेद, अन्याय र अत्याचारका विरुद्ध, दलित, इनडिजिनिस, मधेसी समुदायहरुको मानव अधिकारका लागि, जातीय विभेद अन्त्यका लागि मेरो आवाज बुलन्द हुन्थ्यो।
त्यही आवाजले मलाई जेल पुर्यायो।
जब अन्याय विरुद्ध बोलिन्छ, त्यही आवाज धेरैलाई खतरा लाग्छ।
ममाथि जातीय र धार्मिक विखण्डनको आरोप लाग्यो। तर मैले कहिल्यै समाज भड्काउने कुरा गरिनँ। बरु, धार्मिक र जातीय विभेदकै विरुद्ध लडेको थिएँ।
म दोषी होइन—प्रणालीसँग प्रश्न गर्ने मान्छे मात्र हुँ।
खुवालुङ आन्दोलनदेखि कोशी प्रदेश आन्दोलन र मुकुमलुङ बचाउ आन्दोलनसम्म, मेरो शरीरमा प्रहरीका धेरै डन्डा परे।
पूर्व–पश्चिम, उत्तर–दक्षिण घुम्दा अब १०–१२ जिल्ला मात्र बाँकी छन्; बाँकी सबै ठाउँमा सामाजिक रुपान्तरणको अभियान लिएर पुगेको छु।
देश घुम्दा मैले नक्सा होइन, समाजको घाउ देखेको छु।
मैले बुझेको समाज, मैले भोगेको जातीय विभेद र नाङ्गो आँखाले देखेको धार्मिक विभेद—आज केही हदसम्म परिवर्तन हुँदैछ। समाजले आफ्नो अधिकार बुझ्न थालेको छ।
कुशल र स्वच्छ राजनीति गर्ने व्यक्तिहरू चिन्न सक्ने चेतना बढ्दै गएको छ।
परिवर्तन ढिलो हुन्छ, तर रोकिँदैन।
मेरो १० वर्षको संघर्ष, त्याग र तपस्यालाई हेर्दा सन्तोष लाग्छ। तर राज्यका विधि, विधान, संविधान, ऐन र नियमावली अझै सुधार हुन बाँकी छन्।
देश आफैं बन्दैन, विकास आफैं हुँदैन, समाज आफैं बदलिँदैन, अधिकार आफैं पाइँदैन।
अधिकार मागेर होइन—लडेर पाइन्छ।
कति पटक भोकै–तिर्खै हिँडियो। पानी–झरीमा भिज्दै यात्रा गरियो। होटलमा बस्ने पैसा नभएर सडकमै सुतियो।
गाली, अपमान र तिरस्कार त झन कति सहियो कति।
सानो त्यागले समाज परिवर्तन हुँदैन रहेछ—मजस्ता हजारौँले त्याग गर्दा मात्रै परिवर्तन सम्भव हुन्छ।
संघर्ष बिना परिवर्तन केवल सपना मात्रै हुन्छ।
तर मानिस भएर जन्मिएपछि आफ्नो समाज र देशका लागि केही न केही गर्नै पर्दो रहेछ।
त्यसको ज्वलन्त उदाहरण हर्क साम्पाङ, राम प्रसाद राई, लखन थापा, श्रीजंगा थेवे, श्रीपति गुरुङ, डा. गोपाल गुरुङ र भीमसेन थापा हुन्।
उनीहरूको जीवन अध्ययन गर्दा अझै केही गर्न बाँकी छ भन्ने ऊर्जा मिल्छ।
इतिहासले देखाएको बाटोमा हिँड्नेहरू कहिल्यै हराउँदैनन्।
निराश हुने कुनै कारण छैन।
लडाइँ अझै बाँकी छ—र म अझै उभिएको छु।
सबैमा जय होस्। जय देश।