21/07/2026
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानबिच अन्तर्क्रिया
२०८३ श्रावण ५
राष्ट्रिय योजना आयोगको सचिवालय, सिंहदरबार ।
आज राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानबिच आयोग र प्रतिष्ठानबिचको सहकार्यलाई अझ घनिभूत र फलदायी बनाउने सम्भावनाहरूबारे छलफल भयो । रायोआका मा. उपाध्यक्ष एवं नीअप्र बोर्डका अध्यक्ष डा. गुणाकर भट्टज्यूको संयोजकत्वमा भएको उक्त छलफलमा रायोआका सदस्यज्यूहरू, सचिव एवं वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो । नीअप्रको तर्फबाट कार्यकारी निर्देशक श्री लक्ष्मण प्रसाद भट्टराई तथा सबै वरिष्ठ अनुसन्धानकर्ताहरू सहभागी हुनुभएको थियो ।
छलफलका क्रममा नीअप्रका प्रतिनिधिहरूले नीअप्रबाट भैरहेका कामहरूको बारेमा जानकारी दिँदै नीअप्र बोर्डको निर्णय र निर्देशानुसार नेपाल सरकारको लागि उपयोगी हुने खालका अध्ययन अनुसन्धान गर्न नीअप्र प्रतिबद्ध रहेको कुरा बताउनु भयो । रायोआका सदस्यहरूले आफ्नो कार्यक्षेत्रअन्तर्गतका अनुसन्धान गर्नुपर्ने महत्वपूर्ण विषयहरूमाथि प्रकाश पार्दै आफूहरूले आयोग र प्रतिष्ठानबिच घनिभूत सहकार्यको अपेक्षा गरेको बताउनुभयो ।
रायोआका मा. उपाध्यक्ष एवं नीअप्र बोर्डका अध्यक्ष डा. गुणाकर भट्टज्यूले नीअप्रले नेपाल सरकारको प्राथमिकतामा रहेका विषयहरूमा समयमै वार्षिक कार्य योजना बनाई अध्ययन सम्पन्न गर्ने, अनुसन्धान कार्यमा प्रविधिको यथासम्भव प्रयोग गर्ने तथा अनुसन्धान गर्दा दोहोरोपन हुन नदिनेतर्फ विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।