05/09/2025
मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न
भद्रपुर नगरपालिका वडा नं. १० र सामुदायिक प्रहरी सेवा केन्द्र, चन्द्रगढी, झापाको संयुक्त आयोजनामा मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष श्री टेकबहादुर खड्का (काजी) ज्यू हुनुहुन्थ्यो। उहाँले वडाबासीको सुरक्षाप्रति देखाउनुभएको गहिरो चासो, निरन्तर सक्रियता र अथक परिश्रमले सम्पूर्ण वातावरणलाई ऊर्जा र उत्साहले भरिएको बताउनुभयो। अपराध नियन्त्रणमा प्रहरी मात्र नभई समाजका सबै सचेत नागरिकहरूको सक्रियता अपरिहार्य हुनेमा उहाँले जोड दिनुभयो।
वरिष्ठ उपाध्यक्ष श्री बाबुराम कार्की ज्यूले उपस्थित सबै महानुभावलाई स्वागत गर्दै कार्यक्रममा सहभागिता जनाउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
संस्थाका सचिव श्री खड्गबहादुर बुडाथाेकिज्यूले सञ्चालन गर्दै, सम्पूर्ण सहभागी शिक्षित र जागरूक समूह भएकाले अब चेतनाले व्यवहारमा रुपान्तरण भई बेचविखन, चोरीजस्ता घटनाहरूलाई न्यूनीकरण गर्न सकिने दृढ विश्वास व्यक्त गर्नुभयो। सचिव ज्यूको निरन्तर समर्पण र मेहनतले कार्यक्रमलाई प्रभावकारी र प्रेरणादायी बनाउन ठूलो योगदान पुर्याएको थियो।
प्रशिक्षक प्रहरी निरीक्षक श्री प्रविण श्रेष्ठ ज्यूले मानव बेचविखनका विविध कारण, प्रलोभनका शैली र पीडित हुने अवस्थाबारे विस्तृत जानकारी दिनुभयो।
विशिष्ट अतिथि प्रहरी नायव उपरीक्षक श्री खगेन्द्रबहादुर खड्काज्यूले विगतका घटनाबारे तथ्याङ्क प्रस्तुत गर्दै हालसम्म जम्मा १,०२० जना महिला, पुरुष र बालबालिकाको उद्धार भएको जानकारी दिनुभयो। साथै, भद्रपुर क्षेत्रमा बढिरहेका चोरीका घटनाबारे सचेत गराउँदै प्रहरीको निगरानी र कार्यवाहीलाई थप तिव्र पारिएको र यसमा नागरिकहरूको सक्रिय सहयोग अपरिहार्य हुने बताउनुभयो।
कानूनी पक्षमा श्री दिपेन्द्र भट्टराई ज्यूले अपराध नियन्त्रणमा कानुनी बाटो प्रयोग गर्ने उपायहरूबारे स्पष्ट पार्नुभयो।
संस्थाका सल्लाहकार श्री देवेन्द्र गौतम ज्यूले गरिबी, बेरोजगारी, अवसरको कमी र अन्य सामाजिक कारणले गर्दा मानिसहरू सजिलै विश्वास गर्ने प्रवृत्ति देखापर्ने भएकाले सचेतना नै यसलाई रोक्ने सबैभन्दा प्रभावकारी उपाय भएको धारणा राख्नुभयो।
साथै सामुदायिक प्रहरी सेवा केन्द्र, चन्द्रगढीमा कार्यरत प्रहरी हवल्दार अमर कुमारी खड्का ज्यूले दैनिक कार्य र कार्यक्रम व्यवस्थापनमा निरन्तर सक्रिय रहँदै संस्थाको गरिमा उच्च राख्न र समाजमा यस्ता कार्यक्रममार्फत सुरक्षित तथा सुन्दर समाज निर्माणमा योगदान पुर्याउनुभएको छ।
विशेष धन्यवाद 🙏 यस कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउनु हुने प्रमुख अतिथि वडा अध्यक्ष श्री टेकबहादुर खड्का ज्यू र संस्थाका सचिव श्री खड्गबहादुर बुडाथाेकि ज्यूको निरन्तर सक्रियता, अथक परिश्रम र समर्पणले सम्पूर्ण कार्यक्रम प्रेरणादायी बनेकोमा। साथै प्रशिक्षक, विशिष्ट अतिथि, कानूनी विज्ञ, प्रहरी हवल्दार अमर कुमारी खड्का ज्यू र संस्थाका अन्य पदाधिकारी तथा सहभागी सबै महानुभावलाई धन्यवाद ज्ञापन गर्दछौं।
👉 हाम्रो साझा प्रतिबद्धता:
• बेचविखन र चोरीजस्ता अपराध रोक्ने
• संलग्न व्यक्तिहरूको पहिचान गरी प्रहरीलाई जानकारी गराउने
• कानूनी माध्यमबाट अपराध नियन्त्रणमा सक्रिय बन्ने
• सचेत र सजग नागरिक बन्ने
यसै संकल्पका साथ अघि बढ्दा हाम्रो समाजमा शान्ति, अमन–चैन र सुरक्षाको वातावरण स्थापित हुनेमा दृढ विश्वास व्यक्त गर्दै पुनः आभार प्रकट गर्दछौं।