09/04/2015
नेपालमा सहकारीको इतिहास
नेपाली समाजमा परम्परागत सहकारिताको शुरुवात कहिले कसरी भयो भन्ने बारे यकिनन् भन्न सकिने अवस्था छैन । आवश्यकता नै आविष्कारको जननी हो भनिन्छ ।
गुठीः
देवस्थल, तीर्थस्थलमा देव देवीको अखण्ड पूजा अर्चना गर्न होस् वा धार्मिक तथा सामाजिक अनुष्ठान र कार्य सम्पन्न गर्न होस् नेपाली समाजले स्थायी गुठी निर्माण गरेर कार्य गर्दै आएको हो । यस्ता गुठीहरुमा देवगुठी, ओली गुठी, सामाजिक संघ संस्थाहरुको लागि गुठी रहेका छन् । नेवारी समुदायमा हेर्ने हो भने ज्यापू महागुठी, मानन्धर गुठी, खड्गी गुठी आदि पाइन्छ । अन्य समुदायमा स्वर्गद्धारी गुठी, शैलेश्वरी गुठी, बागेश्वरी गुठी, संस्कृत विश्वविद्यालय गुठी जस्ता अनेकौ गुठीहरु अद्यपि कायम रहेका छन् । यस्ता गुठी स्थापनाका लागि राज्यले छुट्याएर वा स्थानीय व्यक्तिहरुले एकमुष्ठ रकम जम्मा गरेर स्थापना तथा संचालन गर्ने गरेको पाइन्छ ।
पर्म वा परिमः
कृषि कार्य गर्नका लागि तथा सामुहिक कार्य गर्नका लागि परिम वा पर्म लगाउने र श्रम साटासाट गर्ने परिपाटी नेपाली गाउँहरुमा अद्यपि रहेको छ । खास गरेर दाउरा जम्मा गर्ने, कोदो रोप्ने, धान गोड्ने, आली कान्ला तरास्ने, मकै गोड्ने, गोबर मल बोक्ने, धान काट्ने, कोदो टिप्ने, मकै भाँच्ने, नल पराल बोक्ने, धानको दाई गर्ने, कोदो ठटाउने जस्ता कार्यहरुमा पर्म लगाउने गरिन्छ । घर बनाउनका लागि ढुंगा बोक्ने, काठ दाउरा बोक्ने जस्ता कार्यहरुमा समेत यसको उपयोग गरिन्छ । पुसे पन्ध्र यस्तो पर्म लगाउनेहरुले धुमधामसँग रमाइलो मनाउने एक प्रकारको अस्थायी गुठी हो ।
ढिकुरीः
मुस्ताङ जिल्ला अन्तरगत थाकखोलाका थकालीहरुमा प्रचलित यो चलनमा हरेक घरलाई गुठीयार भनिन्छ । हरेक घरले तोकिएको रकम मुख्य मानिस वा ढुकुटीको जिम्मा लिनेलाई बुझाउनु पर्ने र चाहिएको बेलामा निर्ब्याजी वा ब्याज तिर्ने गरी ऋण लिन पाउने चलनलाई ढिकुरी प्रथा भनिन्छ । यसमा सामाजिक लाभ तथा सदस्यको पेशा व्यवसाय मार्फत आय आर्जन र रोजगारीको सोच राखिएको हुन्छ । ढिकुरीमा सामाजिक शोषणबाट सदस्यलाई मुक्त पार्ने सोच राखिएको हुन्छ । आजकल शहरी क्षेत्रमा चलन चल्तीमा रहेको ढुकुटी प्रथासँग यसको कुनै साईनो छैन । ढुकुटी एकप्रकारको बिकृति हो ।
आधुनिक सहकारीको बिकासः
बेलायतको कपडा कारखानामा काम गर्ने मजदुरहरुले थोरै ज्यालामा काम गर्नुपर्ने र चाहिने सामानहरु कपडा मालिक वा उसका गुमस्ता पसलबाट किन्नु पर्ने प्रणालीको बिरुद्धमा २७ पुरुष र १ महिलाले १।१ पाउण्ड रकम उठाएर शुरु गरिएको रोचडेल पायनियर सोसाइटी ई.सं. १८४४ मा शुरु भएको मानिन्छ ।
रोचडेल स्थापनाको ठीक १०९ बर्षपछि नेपालमा योजना, बिकास तथा कृषि मन्त्रालय अन्तरगत सहकारी बिभागको स्थापना भयो । तत्काली राप्ती दून बहुमुखी परियोजनाले चितवनमा बाढी पहिरो पीडितहरुको उद्धारका लागि बस्ती बसाउने कार्य गर्ने क्रममा २०१३ चैत्र २० गते बखान सहकारी ऋण समिति समेत १३ बटा सहकारी चितवन जिल्लामा पहिलो पटक स्थापना भयो । यिनीहरु नै नेपालको सहकारी अभियानको अग्रज सहकारीहरु भए ।
Source : CTDO Pokhara WebPage