08/09/2026
जेनजी शहीदप्रति श्रद्धाञ्जलि ! घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना !
२०८२ सालको भदौ २३ गतेको विहानी शान्त थियो । ११ बजे एटा कार्यक्रम सकेर नगरपालिकाको कार्यालय पुगे । सामान्य रूपमा काम गरिरहेकी थिए । १ बजेको आसपासमा विद्यार्थीको एक समूह नगरपालिका प्राङ्गणमा आयो ।मैले आफै उहाँह्हरूसंग कुरा गर्नुपर्छ भनेर बाहिर आए ।
उनीहरूले सामाजिक सञ्जाल किन बन्द गरिस् , भनेर प्रश्न गर्दै थिए । तत्कालीन केपी शर्मा ओलीको सरकारले सामाजिक सञ्जाल बन्द गरेकामा ठूलो विरोध भइरहेको थियो ।
शान्त रूपमा कुराकानी हुँदै थियो , एकाएक एउटा नानी निकै कड्कीनु भयो । उहाँको कुरा थियो । नगरपालिकाले छात्रवृत्ति किन नदिएको । नगरले छात्रा/छात्रवृत्ति नदिने कुरै थिएन । मलाई विवादमा तान्न निकै प्रयास भयो । मैले भने - "सबैले आआफ्नो नगर र गाउँपालिकाकालाई भन्नु पर्छ । "
यही भनाई मेरालागि जीवन -मरण बन्न पुग्यो !
यसरी गलत व्याख्या गरियो म बोल्न सक्ने अवस्थामा भइन
। म कुनै पैसावाल महिला होइन । तर कसैलाई सहयोग गर्नु मेरो आनन्दको कुरा हो । आज पनि मलाई केही कपडा किनिदिनु न दिदी,बहिनी र नानी भन्नेहरू धेरै हुनुहुन्छ । यो मैले बिगतमा गरेको व्यावहारका कारण उहाँहरूले मेराप्रति गरेको प्रेम हो। कैयौंलाई निजी खर्चमा पढाएकी छु ।कैयौँलाई छोरा छोरी , आमाबा बनाएकी छु । मैले बिज्ञापन गरिन होला भिन्न कुरा ।
मलाई क्षेत्रगत कुरा भन्ने मनमा कहिल्यै आएन । सानो नेपाल मधेश ,पहाड र हिमालले त बनेको छ । म त मधेशको काखमा जन्मिएकी । मधेशकै काखमा हुर्केकी । म को हुँ र मधेशलाई विभेद गर्नु । कयौं मधेशका साथीहरू हुनुहुन्छ । कयौं मधेशका अफ्ठ्यारोमा परेकालाई सक्दो सहयोग गरेकी छु ।
म तामाङ भने अवश्य हुँ । म महिला भने अवश्य हुँ । म तामाङ र महिला हुँ भन्ने कुरा समाजले प्रष्ट देखाएको छ । महिला नै भएका कारण कति मानसिक यातना भोग्नु पर्छ, नेपाली समाजमा । सार्वजनिक रूपमा अगाडि बढेका महिलालाई मात्रै थाहा छ । यत्ति हो , कति भन्ने , कति नभन्ने । भन्दा के हुन्छ । नभन्दा के हुन्छ ।
२०८२/२३ गते ३ बजे पछि मलाई मधेश विरधी बनाइयो । मैले जेनजीका भाइबहिनीहरूसंग माफी मागे । माफीको प्रेस विज्ञप्तिले पुगेन भने । भिडियो चाहिन्छ , भने मैले भिडियो बनाएर माफी मागे । तर मलाई एउटा अपराधी जस्तो बनाएर लखेट्न सुरू गरिएको रहेछ । मेरो पटकपटकको माफीको कुनै अर्थ रहेन ।
हेटौडाका लगभग सबै मानिस म चिन्छु । यही माटोमा त म हुर्केकी हुँ । तर २३ गते पछि मलाई मार्नु पर्छ भन्ने युवाहरू मैले कहिल्यै चिनेका थिएनन् ।
प्लेकार्ड बनाउने देखि मलाई राक्षस बनाउने सम्मका काम भए । मैले कसुर गरेको भए मलाई यस्ता कुरा सहन सजिलो हुन्थ्यो ।दक्ष नगरपालिकाले अन्य कमजोर नगर र गाउँपालिकाकालाई साथ सहयोग गर्ने । सक्षम नगरपालिकाले देशै भरकालाई सेवा दिने हो । तर स्थानीयवाद र सिद्धान्तले त पिहला आफ्नो नगर हेर्न भन्छ ।यति सम्म कि वडा वडामा आफ्ना नागरिकको बारेमा प्रतिस्पर्धा हुन्छ । र त अहिले नगर- नगर बीचमा नागरिकका आधारभूत सेवा फरक फरक छ्न ।
मलाई निकै केरकार गरेपछि सामान्य रूपमा हेटौडाले गर्ने गर्छ । आफ्नो नगरपालिकामा पनि भन्नु पर्छ ,भने । यो भनाईलई तोडमोड गरेर मलाई लखेट्न लागि परे ।
म तनावमा त थिएँ तर भागेकी थिईन । जब म्यासेनजरमा बलात्कार गर्ने र मार्ने धम्की आए त्यस पछि म राती घरबाट निस्किनु पर्छ भन्ने लाग्यो ।तर मनले निस्किन मानेको थिएन्।
दु:खको कुरा त विदेशमा वसेका तामाङ छोरीचेलीहरू मलाई म्यासेनजरमा किन बाँचेकी छस्, भन्दै लेख्थे । पछि , सम्म मसँगै राजनीति गर्ने साथीहरू त्यो केस नमिलाए तपाईलाई गाह्रो हुन्छ, भन्दै फोन गर्दै थिए । अफ्ठ्यारोमा परेपछि मान्छेलाई कसरी वार्गेनिङ हुँदोरहेछ । सहजतामा आफ्ना बनेकाहरू अफ्ठ्यारोमा कस्ता बन्दा रहेछ्न ।सबैसबै भोगे ।
ससुराले बनाएको घर त जलाइयो नै । एउटी राजनीति गर्ने महिलालाई श्रीमान र सासु ससुराको घर जल्दा त्यसले पार्ने मनोवैज्ञानिक असर कस्तो हुन्छ ,म भन्न सक्दिन ।
मलाई एकजना शुभचिन्तकले २२ गते नै हेटौडा छोड्न आग्रह गर्नु भएको थियो ।मैले आज सम्म केही कुभलो चिताएको र गरेको छैन । मैले किन हेटौडा छोड्नु । उहाँसँग नोकझोक गरे । अन्तमा २३ गते राति उहाँकै आग्रहमा घर छोडेर निस्किएकी थिएँ। सबैलाई आफ्नो आफ्नो ज्यान जोगाउनु थियो । म आमा भएकीले छोराछोरी याद गर्थे । श्रीमती भएकीले श्रीमानको याद गर्थे । आफूलाई बचाउनु पर्छ भन्ने यादै भएन । सामाजिक संजालमा मेरा विरूद्ध गरिएका प्रचार र म्यासेनजरमा आएका धम्कीकै कारण म आफै मर्ने अवस्थामा थिएँ । यस्तो पीडा हुनुको कारण एउटै थियो । विना कसुर मलाई मार्न युवाहरू खोजि हिड्दै छन् ।
मैले गरेका काम प्रचारप्रसार गरिन । मैले निकै राम्रो काम पनि गरिन, होला तर दावीका साथ भन्छु आजसम्म कुनै मानिसलाई नराम्रो गरेकी छैन । नगरलाई बदनाम पनि गराएकी छैन। हेटौडा कमजोर बनाएकी पनि छैन ।
म भुईँमान्छेलाई प्रेम गर्ने महिला । यो समय भुईँमान्छेको कुरा गरेर धनीमानी साहुमहाजनको प्रचारप्रसार गर्ने समय हो ।
मलाई भाग्न सुझाउने साथीलाई २३ गते साँझ एउटा सन्देश लेखेकी थिएँ- "तपाईंले भाग्न भन्नु भयो म अपराधी जस्तो भाग्न चाहिन । तर अब बाँचिएला भन्ने लाग्न छोडेको छ । मलाई मार्न खोजिरहेका छन्, भन्ने सुन्छ। कुनै अपराध गरेर मारिँदा केही फरक पर्दैन थियो । विना कुसुर मार्न खोजियो । बाँचे भेटौला ।"
आँसुमा डुवेकी थिए । ज्यूँदै मरेकी थिए । २७ गते राती उहाँले नै मलाई हेटौडबाट काठमाडौं पुर्याउनु भयो । वातावरण सहज हुन ८-९ लाग्यो । म २७ गते हेटौडा छोड्न नसकेको भए कि म मरिसक्थे कि गम्भीर विरामी । सोचे केही मानिसहरू भगवान जस्तो हुँदा रहेछन् । तर पछि सुने उहाँले गम्भीर धम्की सहनु पर्यो रे ।
म १० वर्षको उमेरबाट समाज वदल्न सक्दो प्रयासमा हिँडे । तामाङको छोरी । महिला । कसरी हिँडे हुँला यो समाजमा । तर पनि यही समाजले परी आउँदा मार्न खोज्दो रहेछ ।
विदेशमा वसेर मलाई गाली गर्ने तामाङ युवा भाइबहिनीहरू, नेपाली तामाङ समुदायका अधिकाँश पुरूषहरू यस्तो अवस्थामा हुन्थ्ये, कि रातदिन तास खेल्ने कि मदिरा सेवन गर्ने । कि ज्याल मजदुरी गर्ने । अध्ययन र उन्नत जीवनका लागि उनीहरूमा चिन्ता चासो थिएन ।मैले १४वर्षको उमेरमा यसका विरूद्ध लड्न सुरू गरे । तास च्यादै हिँडे । रक्सी फ्याकिदिँदै हिँडे । आज पनि समुदाय कस्तो छ । तपाईंहरू विदेश बसेर वा हेटौडा भन्दा टाढा रहेर मलाई मार्न र बलात्कार गर्न जामात उस्काउँदै हुनुहुन्थ्यो । तर तामाङ समुदायका बारेमा कुनै चासो र चिन्ता छ कि छैन ।
एउटा सचेत मानिसले सिंगो देश र समाजको भलो सोच्ने हो । अझ सीमान्तीकृत समुदायको उन्नती सोच्ने हो । समाज समान नभए सम्म देश राम्रो देखिन्न । आन्दोलनका नाममा एउटी निर्दोषलाई कुनामा पारेर गाली गलौज गरेदै मार्ने , बलात्कार गर्ने योजना बनाउनु भन्दा पनि समान समाज निर्माणमा युवाहरू लाग्नु पर्छ ।