31/08/2026
विपत्तिको यस घडीमा सबै एकजुट बनौँ
भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा २०८३ भदौ १० गते भएको विनाशकारी घटनाले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ।
यस दुःखद् घडीमा प्रभावित परिवारप्रति अत्यन्तै दुख व्यक्त गर्दै, उद्धार तथा राहत कार्यमा अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय उद्धारकर्मी, जनप्रतिनिधि, स्वयंसेवक तथा सहयोगी सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ।
अहिलेको अवस्था अझै चुनौतीपूर्ण छ। त्यसैले उद्धार, खोजी, उपचार र राहत कार्यलाई अझ तीव्र र व्यवस्थित बनाउन हामी सबै आ–आफ्नो ठाउँबाट एकजुट भएर सहयोग गरौँ।
अहिले दोषारोपण वा नकारात्मक टिप्पणी गर्ने समय होइन। मानव जीवन बचाउने, पीडितको साथमा उभिने र प्रभावित परिवारलाई पुनःस्थापित गर्ने समय हो।
तत्काल गर्नुपर्ने १० प्रमुख काम
१. उद्धार कार्यलाई पहिलो प्राथमिकता
सम्पर्कविहीन तथा जोखिममा रहेका नागरिकको खोजी र उद्धारलाई सर्वोच्च प्राथमिकता दिई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य उद्धार टोलीलाई आवश्यक आधुनिक उपकरणसहित परिचालन गर्नुपर्छ।
२. सम्पर्कविहीन व्यक्तिको खोजी तथा केन्द्रीय सम्पर्क केन्द्र
सम्पर्कविहीन व्यक्तिको नाम, फोटो, ठेगाना, मोबाइल नम्बर र अन्तिम पटक देखिएको स्थानसहितको केन्द्रीय अभिलेख तथा सम्पर्क केन्द्र तत्काल सञ्चालन गर्नुपर्छ।
३. घाइतेको निःशुल्क उपचार
सबै घाइतेको तत्काल स्वास्थ्य परीक्षण, उपचार, औषधि, शल्यक्रिया तथा आवश्यक स्थानान्तरणको व्यवस्था गरी सम्पूर्ण उपचार निःशुल्क गर्नुपर्छ।
४. फेला परेका शवको उचित तथा वैज्ञानिक व्यवस्थापन
फेला परेका शवको सुरक्षित संरक्षण, विवरण अभिलेख तथा पहिचानको व्यवस्था गर्नुपर्छ। आवश्यकताअनुसार DNA लगायत वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई जिम्मा लगाएर सम्मानपूर्वक अन्त्येष्टिको व्यवस्था गर्नुपर्छ।
५. मृतकका परिवारलाई तत्काल आर्थिक सहयोग
पहिचान भएका मृतकका परिवारलाई तत्काल नगद राहत उपलब्ध गराउनुका साथै अन्त्येष्टि तथा आवश्यक खर्चको व्यवस्था गर्नुपर्छ। परिवारको मुख्य आम्दानी गर्ने व्यक्ति गुमेको अवस्थामा दीर्घकालीन जीविकोपार्जनका लागि विशेष सहयोग गर्नुपर्छ।
६. घरबारविहीन परिवारलाई तत्काल सुरक्षित बसोबास
घर पूर्ण रूपमा बगेका वा बस्न नमिल्ने परिवारलाई सुरक्षित स्थानमा अस्थायी आवास, खाना, खानेपानी, शौचालय तथा आवश्यक सामग्री तत्काल उपलब्ध गराउनुपर्छ।
७. प्रभावित परिवारको घरधुरीगत लगत
प्रत्येक प्रभावित परिवारको वास्तविक विवरण संकलन गरी मृतक, सम्पर्कविहीन, घाइते, घर पूर्ण क्षति, घर आंशिक क्षति, व्यवसाय तथा रोजगारी गुमाएका परिवारलाई छुट्टाछुट्टै वर्गीकरण गर्नुपर्छ।
८. सडक, पुल, विद्युत्, खानेपानी तथा सञ्चार सञ्चालन
उद्धार तथा राहत सामग्री पुर्याउन अवरुद्ध सडक तथा पुल तत्काल सञ्चालन गर्नुपर्छ। आवश्यक स्थानमा डोजर, एक्स्काभेटर, अस्थायी बाटो तथा बेलिब्रिजको व्यवस्था गरी विद्युत्, खानेपानी र सञ्चार सेवा पनि यथाशीघ्र पुनःस्थापना गर्नुपर्छ।
९. राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाउने
राहत सामग्री तथा नगद सहयोगलाई एकीकृत प्रणालीमार्फत वितरण गरी वास्तविक पीडितलाई प्राथमिकता, दोहोरो वितरणको रोकथाम तथा प्राप्त र खर्च भएको सहयोगको पारदर्शी विवरण सार्वजनिक गर्नुपर्छ।
१०. दीर्घकालीन पुनःस्थापना तथा आर्थिक पुनर्निर्माण
घर गुमाएकालाई सुरक्षित स्थायी आवास, व्यवसाय गुमाएकालाई पुनःव्यवसाय सञ्चालनका लागि सहयोग तथा आम्दानीको स्रोत गुमाएकालाई रोजगारी र जीविकोपार्जनको व्यवस्था गर्नुपर्छ। विपद्का कारण ऋण तिर्न कठिन भएका परिवार तथा व्यवसायीका लागि कर्जा पुनर्संरचना, किस्ता स्थगन तथा ब्याजमा सहुलियतको व्यवस्था गर्नुपर्छ।
हाम्रो साझा आह्वान
यो विपत्ति कुनै एक व्यक्ति वा समुदायको मात्र समस्या होइन—यो सम्पूर्ण नेपालीको साझा पीडा हो।
त्यसैले अहिले हामी सबै—
नकारात्मक होइन, सकारात्मक बनौँ।
आलोचना मात्र होइन, समाधान खोजौँ।
सरकार, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरू मानव जीवन बचाउने र प्रभावित परिवारलाई पुनःस्थापित गर्ने साझा अभियानमा एकजुट भएर अघि बढौँ।
विपत्तिमा पीडितलाई एक्लो नछोडौँ।
सक्नेले सहयोग गरौँ, नसक्नेले हौसला दिऔँ।
सबै मिलेर यो कठिन समय पार गरौँ।
एकता, सहयोग र मानवीय संवेदनशीलता नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो।
महेन्द्र राउत
हेटौंडा, मकवानपुर