29/05/2026
🏥 शहीद प्रेम ढकाल स्मृति आधारभूत (१५ शैय्या) अस्पताल समुद्घाटन सफलतापूर्वक सम्पन्न 🎉
गणतन्त्र दिवस २०८३ को शुभ अवसरमा बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४, हुँडीफाँटमा नव-निर्मित शहीद प्रेम ढकाल स्मृति आधारभूत (१५ शैय्या) अस्पताल को समुद्घाटन तथा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँँपालिका घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली जनताको लामो संघर्ष, बलिदान र त्यागबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिक अधिकार, समावेशिता र विकासका अवसरहरूलाई थप सुदृढ बनाएको छ। यसै ऐतिहासिक दिवसको अवसरमा आयोजित कार्यक्रमले स्वास्थ्य, शिक्षा र समृद्धिको यात्रामा गाउँपालिकाको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
कार्यक्रम अन्तर्गत विशेषज्ञ चिकित्सकहरूको सहभागितामा निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो। साथै "शहीदहरूको बलिदानी र संघीय लोकतान्त्रिक गणतन्त्र" शीर्षकमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता, उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यार्थी तथा कृषक सम्मान कार्यक्रम समेत सम्पन्न गरिएको थियो।
त्यसैगरी, SEE परीक्षामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ। विशेष रूपमा युनिक पनेरु ले SEE परीक्षामा ४.० GPA प्राप्त गरी गाउँपालिकाको नाम गौरवान्वित बनाएकोमा प्रोत्साहनस्वरूप रु. १,००,००० (एक लाख रुपैयाँ) नगद पुरस्कार प्रदान गरिएको छ। त्यसबाहेक ३.४ GPA भन्दा धेरै अंक हाँसिल गर्ने अन्य १० जना विद्यार्थीलाई १०हजार र १५००० का दरले सम्मान गरिएको छ । 👏🎓
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाहरूबाट सम्पन्न भएका विकास निर्माण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगायतका उपलब्धि तथा कार्यहरूको प्रदर्शनीसमेत आयोजना गरिएको थियो, जसले गाउँपालिकाले हासिल गरेका प्रगतिहरूलाई जनसमक्ष प्रस्तुत गरेको थियो।
साथै चर्चित जनवादी कलाकार केशरी घर्ती मगर, दिपक राई तथा लोक तथा दोहोरी गायक सागर गुरुङ र सञ्जय गुरुङ लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा स्थानीय प्रतिभाहरूको सहभागिताले समारोहलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको थियो। 🎶🎤
यस ऐतिहासिक अवसरलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी तथा उपस्थित सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
स्वस्थ, शिक्षित, समृद्ध र आत्मनिर्भर बारपाक सुलिकोट निर्माणको यात्रामा यो कार्यक्रम एउटा महत्वपूर्ण कोशेढुंगा सावित भएको छ। 💙🙏
बारपाक सुलिकोट गाउँपालिका Bishnu Bhatta San Maya Gurung