26/08/2026
गौर प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिनका लागि बजेट विनियोजन।
नवीन कुमार सिंह, रौतहट
गौर प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालनका लागि मधेश प्रदेश सरकारका माननीय स्वास्थ्य मन्त्री नागेन्द्र साहको पहलमा बजेट विनियोजन भएको छ। अस्पतालमा सिटी स्क्यान सेवा उपलब्ध नहुँदा लामो समय देखि रौतहट जिल्लाका बिरामीहरू सिटी स्क्यान गराउन वीरगञ्ज लगायत अन्य शहरमा जानुपर्ने बाध्यता थियो।
गौरमै सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि बिरामीहरूले बाहिर जानुपर्ने झन्झट, अतिरिक्त खर्च तथा समयको बचत हुने अपेक्षा गरिएको छ। विशेषगरी आकस्मिक अवस्था, दुर्घटना, टाउको तथा शरीरका विभिन्न जटिल समस्याको परीक्षणका लागि सिटी स्क्यान आवश्यक पर्ने अवस्थामा स्थानीय स्तरमै सेवा उपलब्ध हुनु बिरामीका लागि महत्वपूर्ण उपलब्धि हुनेछ।
गौर प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिनका लागि बजेट विनियोजन गराउन पहल गर्नुभएकोमा स्वास्थ्य मन्त्री नागेन्द्र साहप्रति स्थानीयवासी तथा सेवाग्राहीहरूले धन्यवाद व्यक्त गरेका छन्। स्वास्थ्य क्षेत्रमा देखिएका आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर गरिएको यस्तो निर्णयले सरकारी अस्पताल प्रतिको नागरिकको विश्वास बढाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि, सिटी स्क्यान मेसिन भित्र्याउनु मात्रै पर्याप्त छैन। गौर प्रादेशिक अस्पताल लाई प्रभावकारी र भरपर्दो उपचार केन्द्रका रूपमा विकास गर्न आवश्यक अन्य स्वास्थ्य सेवा तथा जनशक्तिको व्यवस्थापनमा समेत सरकारको ध्यान जान जरुरी छ।
गौर प्रादेशिक अस्पताल लामो समयदेखि **‘रेफर अस्पताल’**को रूपमा परिचित हुँदै आएको गुनासो सेवाग्राही बाट सुनिँदै आएको छ। सामान्य देखि जटिल स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामी लाई आवश्यक सेवा, विशेषज्ञ चिकित्सक, उपकरण वा अन्य पूर्वाधारको अभावमा वीरगञ्ज, तथा काठमाडौं सम्म रेफर गर्नु पर्ने अवस्था अन्त्य गर्न अस्पतालका बाँकी आवश्यक सेवाहरू पनि क्रमशः विस्तार र सुदृढ गर्नुपर्ने देखिन्छ।
अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक, प्रयोगशाला सेवा, आकस्मिक सेवा, औषधि, आवश्यक उपकरण तथा अन्य पूर्वाधारको उचित व्यवस्थापन गर्दै **‘रेफर गर्ने अस्पताल’ होइन, ‘उपचार दिने अस्पताल’**का रूपमा गौर प्रादेशिक अस्पताललाई विकास गर्न सके रौतहटवासी मात्र नभई आसपासका जिल्लाका हजारौँ नागरिकले प्रत्यक्ष लाभ लिन सक्नेछन्।
सिटी स्क्यान मेसिनका लागि बजेट विनियोजन हुनु सकारात्मक सुरुवात हो। अब यसको प्रभावकारी कार्यान्वयन सँगै अस्पतालका अन्य आवश्यक सेवा–सुविधा विस्तार र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मधेश प्रदेश सरकार तथा सम्बन्धित निकायले निरन्तर प्राथमिकता दिन आवश्यक छ।