13/05/2026
एभरेष्ट क्लब दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सन् २०२१ जुलाई देखि सञ्चालित "पावर परियोजना" को पाँच वर्षे कार्यकालको समीक्षा तथा बहिर्गमन कार्यक्रम सम्पन्न भएको छ। एभरेष्ट क्लब दैलेखका सचिव बालकृष्ण केसीको अध्यक्षता तथा दुल्लू नगरपालिकाका नगर प्रमुख भरत प्रसाद रिजालज्यूको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा परियोजना संयोजक भूपेन्द्र खत्रीले पाँच वर्षको अवधिमा सञ्चालित विभिन्न उपलब्धिमूलक क्रियाकलापहरूको प्रस्तुतीकरण गर्नुभएको थियो। परियोजना अन्तर्गत छात्रवृत्ति (बर्सरी) सहयोग, क्याच-अप कक्षा, विद्यालयमा अभिभावक अभिमुखीकरण, र किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा जस्ता कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भएको जानकारी दिइयो।
साथै, सहकारी मार्फत बाल अनुदान तथा घुम्ती कोष सञ्चालन, जीवन उपयोगी सीप, उद्यम विकास तालिम र विपन्न परिवारका लागि शौचालय निर्माण जस्ता कार्यहरूले समुदायमा सकारात्मक प्रभाव पारेको समीक्षा गरियो। मिति २०८३।०१।३० गते ।