05/08/2026
नेपाली काँग्रेसको नियमावलीको अनुसुचि -३ (नियम ५(१) संग सम्बन्धित ) नेपाली काँग्रेस कृयाशिल सदस्यको प्राप्ति गर्न तल उल्लेखित प्रतिवदता गरेर मात्रै कृयाशिल प्राप्त गर्न सकिने ब्यवस्था छ तर सबै नेपाली काँग्रेसका कृयाशिल सदस्यहरुलाइ यो कुरा सम्झना र याद छ त ? सबै कृयाशिलले यति मात्रै बुझेर व्यवहार गरेपनि सायद पार्टीमा गुट उपगुट हुदैन होला ।
१. नेपालको जिम्मेवार नागरिकका रुपमा रहनेछु ।
२. सबै ब्यक्तिको मर्यादालाई सम्मान गर्नेछु ।
३. पार्टी बिधान, नियमावलिले तोकेको पार्टीको अनुशासन र आचार संहिताको पुर्ण रुपमा पालना गर्नेछु ।
४. पार्टी बिधान अन्तर्गतका निकाय वा अधिकारिले गरेको निर्णय वा निर्देशनको पालना गर्नेछु ।
५. आफ्नो जिम्मेवारीमा रहेका पार्टीका सामाग्रीलाई पुर्ण संरक्षण गर्नेछु र पार्टीको गोपनियता कायम राख्ने छु ।
६. पार्टीको प्रतिष्ठालाई हानि पुग्ने गरि सार्वजनिक स्थलमा पार्टीको आन्तरिक विवादको बिषयमा चर्चा वा छलफल गर्ने छैन ।
७. सार्वजनिक वा सरकारि वा पार्टीको चल अचल समेतका कुनै पनि सम्पत्ति दुरुपयोग गर्ने छैन ।
८. देशको संबिधान, कानुनको पालना गर्नेछु । नियम कानुन बिपरित एबं अनुचित ढंगले आर्थिक लाभ हुने काम गर्ने छैन ।
९. कसैको चरित्र हत्या हुने र मर्यादा प्रतिकुल हुने अभिब्यक्ति प्रकट गर्ने छैन ।
१०. पार्टी र पार्टीको आधिकारिक उम्मेदवारको सफलताका लागि दत्तचित्त भई आफ्नो क्षेत्रबाट प्रयत्नशिल रहनेछु र पार्टीको उम्मेदवार बाहेक अन्य उम्मेदवारलाई फाईदा हुने कृयाकलाप गर्ने छैन ।
११. पार्टीले सुम्पेको काम, पार्टीको आदर्श, सिद्धान्त, नितिलाई टेवा पुग्ने अन्य काम आफ्नो क्षमता र हैसियत अनुसार ईमान्दारि पुर्बक निरन्तर गर्नेछु ।
१२. पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र स्थानिय आबस्यकता अनुकुल हुने गरि स्थानिय तहका निर्वाचित निकायलाई सहयोग पुर्याउनेछु ।
१३. पार्टीका बिरुद्ध लगाईने झुठा आरोपहरुका बिरुद्ध सार्वजनिक रुपमा शान्तिपुर्ण एवं प्रभावकारि ढंगले प्रतिवाद गर्नेछु ।
१४. आफ्नो प्रदेश, जिल्ला , क्षेत्र , नगर,गाउँ ,वडा र टोलमा पार्टी द्वारा आयोजित कार्यक्रम, सामाजिक सचेतना र जागरण बढाउने तथा सेवामुलक कार्यक्रमहरुमा सकृयताका साथ सहभागी हुनेछु ।
१५. समय समयमा पार्टी द्वारा निर्धारित सहयोग शुल्क (लेबी रकम ) नियमित रुपमा सम्बन्धित पार्टी निकायमा बुझाउनेछु ।
१६. महिला, बालबालिका ,जेष्ठ नागरिक , किसान, मजदुर, अपांगता भएका ब्यक्ति एवं आर्थिक , सामाजिक, साँस्कृतिक र शैक्षिक दृष्टिले पछाडि परेका बर्ग तथा समुदायको हकहितको संरक्षणमा निरन्तर कृयाशिल रहनेछु ।
१७. जातका आधारमा भेदभाब र छुवाछूत गर्नु भनेको सामाजिक रुपमा निन्दनिय कार्य र कानुनि रुपमा दण्डनिय अपराध भएकोले कुनै पनि तरिकाबाट त्यस प्रकारको बिभेदयुक्त कार्य गर्ने छैन साथै जातिय भेदभाब, छुवाछूत र सामाजिक कुरिति जस्ता बिकृति हटाउन निरन्तर कृयाशिल रहनेछु ।
१८. महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा, अपराध, यातना, लैङ्गकि विभेद, बोक्सि र छाउपडि लगायतका सामाजिक कुरिति र अन्धबिश्वासमा संलग्न हुने छैन र यस्ता कार्य बिरुद्ध जनचेतना फैलाउने कार्यमा निरन्तर सकृय रहनेछु ।
१९. चाडपर्व, बिबाह, बर्तबन्ध जस्ता सामाजिक व्यवहार निर्वाह गर्दा तडकभडक एबं फजुल खर्च गर्ने छैन र त्यस्ता कार्यलाई निरुत्साहित गर्ने अभियानमा लाग्नेछु ।
२०. सामाजिक विभेद तथा जातिय सद्भाबमा खलल पुर्याउने कार्यका बिरुद्ध निरन्तर जागरुक भई लाग्ने छु ।
जय नेपाल
अधिबक्ता/सभापति
सानुकान्छा श्रेष्ठ
नेपाली काँग्रेस
बागमती प्रदेश कानुन तथा संसदिय मामिला बिभाग