25/03/2026
📍पूर्खाहरुले नुन तेल बोक्ने बाटोमा मुन्दुम अल्ट्रा ट्रेल रेस 📍
तपाईलाई धरान चतराबाट नुन तेल, चामल वा खाद्यान्नको समान ढाकरमा बोकेको याद छ ? कति दिन लाग्थ्यो ?
हाम्रा पूर्खाहरुले मात्र हैन कतिपय तपाई हामीलाई यो अनुभव छ । कतिले बिर्सिसके । नयाँ पुस्तालाई त महाभारतको कथा जस्तै लाग्छ ।
तर, अब यो बाटो वा हामीले बिर्सन खोजिरहेको ऐतिहासिक मार्गमा 'मुन्दुम अल्ट्रा ट्रेल रेस' दौड प्रतियोगिताको आयोजना हुदैछ । दौड प्रतियोगिता यही चैत २१ र २२ गते हुदैँछ ।
यो दौड भोजपुरको सबैभन्दा होचो स्थान हतुवागढी हसनपुर कोप्चेबाट सुरु हुँदै ज्यामे भन्ज्याङ, फलमढुंगा, बयाङ बजार,दाक्बुराङ भञ्ज्याङ अनि हाम्रो पाप्माखामगढी हुँदै कपासे भन्ज्याङ हुदै तावा भन्ज्याङ पुगेर समापन हुनेछ ।
प्रतियोगिताको दौरान पाप्माखामगढीमा आईपुग्ने खेलाडीहरु, अतिथिहरुको हौशला बढाउन् र स्वागत तथा सत्कारका लागि कटुन्जेबासीहरुलाई अनुरोध गर्दछु ।
यो एक दौड प्रतियोगिता मात्र नभएर पर्यटकीय सम्भावना बोकेको कटुन्जेबासीका लागि धेरै महत्वपूर्ण रहेको छ । यहिँ ढाकरबाट नुन बोकेको मार्ग चाडै ग्रेटर मुन्दुम पदमार्गमा जोडिदै छ ।
मुन्दुम पदमार्ग त सुन्नु भएको होला ? पछि यहिँ पदमार्गसँग जोडिएर ग्रेटर मुन्दुम पदमार्ग बन्नेछ । यस पदमार्गको निर्माणले पक्कैपनि हामी कटुन्जेबासी र वरिपरिका गाउहरुको आर्थिक विकासमा सहयोग पुग्नेछ ।
यस पदमार्गले भोजपुर जिल्लाको किरात-राई बस्तिको पनि बिबिधतायुक्त रहनसहन, संस्कृती, तथा प्राकृतिक बिबिधता, सुन्दर नागि तथा गढीहरुको चिनारी दिनेछ।
यस कार्यका लागि हामीलेले आयोजक कमिटि तथा हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका, रामप्रसाद राई गाउँपालिका एवं समस्त सहयोगिहरुलाई धन्यवाद दिनैपर्छ ।