31/05/2026
नेकपा (एमाले) ले “मिसन जागरण” अन्तर्गत केन्द्रीय नेता तथा अगुवाहरूलाई सबै पालिका तहसम्म “जनताको घर दैलोमा एमाले” अभियानमा परिचालन गर्ने निर्णय गरेको छ।
यो अभियान केवल जिम्मेवारी बाँडफाँडमा मात्र होइन तोकिएका नेता कार्यकर्ता आफ्नो कार्यक्षेत्रमा पुगेर प्रत्येक पालिकामा सदस्यता विस्तार, घरपरिवार भेटघाट, जनताका समस्या र सुझाव संकलन, बिध्यालय, स्वास्थ्य चौकी, बैंक तथा बजारको अवस्था, विकास निर्माणको प्रगति लगायतका विषय समेटिएको एकीकृत प्रतिवेदन प्रणाली तयार गरी प्रदेशस्तरमा समीक्षा गर्दै केन्द्रमा सम्प्रेषण गरिनेछ।
अब नेता कार्यकर्ता काठमाडौंमा बसेर सामाजिक सञ्जालमा मात्र सीमित हुने होइन, जनताको घरदैलोमा पुगेर जनतासँगै रहने, उनीहरूका समस्या सुन्ने, बुझ्ने र समाधान खोज्ने अभियानलाई व्यवहारमा उतार्ने समय आएको छ। जनतासँगको आत्मीय सम्बन्धका सुन्दर तस्बिरहरू सामाजिक सञ्जालमा पनि देखिनुपर्छ।
साथै, वर्तमान सरकारको बजेट र कार्यशैलीबाट उत्पन्न जनचासो, जनगुनासा र जनअपेक्षालाई जनतामाझ पुर्याउँदै राजनीतिक प्रतिवाद र जनकेन्द्रित कार्यक्रमहरू अघि बढाउन आवश्यक छ।
विगतमा एमालेमाथि चौतर्फी प्रहार गरेर पार्टीलाई कमजोर पार्ने प्रयास भएका थिए, र आज पनि पार्टीभित्र विवाद तथा अन्तरकलह बढाउने शक्ति सक्रिय छन्। यस्ता चुनौतीको जवाफ एकता, अनुशासन, संगठन निर्माण र जनतामाझ आधारित सक्रिय राजनीतिक उपस्थितिबाट दिनुपर्छ।
कतिपय कमरेडहरूलाई आफ्नो जिम्मेवारीप्रति असन्तुष्टि वा अरुको हकमा पनि विकल्प दिनु उचित होला भन्ने लागेको हुन सक्छ। तर पार्टीले दिएको जिम्मेवारी बोकेर मैदानमा खटिने र कामको मूल्यांकनका आधारमा समीक्षा गर्ने संस्कार नै संगठनको शक्ति हो। सबै कमरेडहरुको भावना पार्टीले समयमै सम्बोधन गर्ने विश्वासका साथ अबको एक वर्ष स्थानीय जागरण अभियानमा समर्पित बनौँ।
एकताबद्ध एमाले, जनताको एमाले।
नेकपा (एमाले) जिन्दावाद!