08/11/2021
'विवेकशील साझा पार्टी'ले आगामी निर्वाचनमा अग्रगमनको मुद्दा बोकेर अगाडी बढ्छ।
कुनै शङ्का नहोस्- हामी प्रोग्रेसिभ डेमोक्रेट हौँ।
गणतन्त्रप्रति पूर्ण प्रतिबद्धता, सङ्घीयतामा सुधार, धार्मिक स्वतन्त्रता, संस्कृति सम्पदाको संरक्षण र सामाजिक न्यायलाई आत्मसाथ गर्ने राष्ट्रिय मुद्दा बोकेर अब हाम्रो राजनीति थप सशक्त रूपमा अघि बढ्ने छ।
हामी युवाको लागी, विद्यार्थीको लागी, महिलाको लागी, पिछडिएको वर्ग, अल्पसङ्ख्यकको लागी राजनीति गर्नेछौँ।
हामी भोटको लागी जे पनि बोल्ने राजनीतिबाट वाक्क भएर ९ वर्ष अघिदेखि राजनीतिमा लागेका हौँ। हामी त्यही भोटको राजनीति गर्नेछैनौँ।
यो संविधानको आधारभूत संरचना नभत्काई हामी
- प्रत्येक नागरिकलाई निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न चाहन्छौँ।
- नागरिकको स्वास्थ्योपचारको जिम्मा राज्यले लिने राजनीति गर्न चाहन्छौँ।
- प्रत्येक नागरिकले रोजगारीको समान अवसर दिलाउने राजनीति गर्न चाहन्छौँ।
- तपाईँका अनि मेरा दिदीबहिनी सुरक्षित हिँड्न सक्ने समाज बनाउन चाहन्छौँ।
- व्यक्तिगत स्वतन्त्रता, वाक स्वतन्त्रता र खुल्ला समाज स्थापित गर्न चाहन्छौँ।
- प्रत्येक नागरिक आत्मसम्मान सहित बाच्न सक्ने वातावरण बनाउन चाहन्छौँ।
हामी
- विवेकशील नागरिक,
- उद्यमशील समाज,
- सेवक सरकार
र
- हितकारी/कल्याणकारी राज्य
निर्माण गर्न चाहन्छौँ।
यी सब गर्नको लागी अहिलेको परम्परागत राजनीतिले भएन भनेर हामी ताजा विचार सहित राजनीतिमा आयौँ। वैकल्पिक पार्टी होइन, वैकल्पिक संस्कार सहितको वैकल्पिक राजनीतिको थालनी गर्यौँ। विवेकशील, साझा, विवेकशील साझाका रूपमा विभिन्न अभ्यासहरू पनि भए।
यही बहस र विवाद बिच वैकल्पिक राजनीतिले स्पष्ट दिशा पाएको छ। हामी वैचारिक रूपमा स्पष्ट भएका छौँ। वैचारिक मन्थन, अभियान/आन्दोलन र सङ्गठन निर्माण अब तीन वटै कुरा अगाडी बढ्ने छ।
अब वैकल्पिक राजनीति थप सशक्त भएर अगाडी बढ्ने छ। वैकल्पिक राजनीतिमा मडारिएको बादल हट्दै छ। केहि समय धैर्य गर्नुहोला।