02/12/2024
दौतरी जापानको आयोजनामा सम्पन्न दशैँको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमलाई सभ्य र भव्य बनाउन आर्थिक, भौतिक, र नैतिक रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरू, कलाकारहरू, र सहभागीहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यस कार्यक्रमको अवधिमा नेपालमा आएको ठूलो बाढी-पहिरोका कारण ठूलो जनधनको क्षति भएकोले अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई सहयोग गर्ने घोषणा गरेका थियौँ। तर, बाढी-पहिरोको प्रभाव अपेक्षाभन्दा छिटो सामान्य अवस्थामा फर्किएको हुनाले, दौतरी जापानको कार्यसमितिको बैठकले नयाँ योजना बनाउँदै अनाथ बाल-विद्याश्रमलाई सहयोग गर्ने निर्णय गरेको थियौ।
"Give Something to Those Who Have Nothing" कार्यक्रम
यस सोचका साथ झापामा रहेको अनाथ बाल-विद्याश्रमलाई झन्डै दुई महिनाका लागि पुग्ने खाद्यान्न र २७ वटा ब्ल्याङ्केट प्रदान गरेका छौँ। यो अभियानले केवल सामाग्री मात्र होइन, नयाँ आशा र प्रेरणाको उज्यालो पनि बाँड्ने प्रयास गरेको छ।
दौतरी जापान पूर्ण रूपमा गैरनाफामूलक संस्था हो, जहाँ जापानमा कार्यरत वा अध्ययनरत युवाहरूले आफ्नो समय र ऊर्जा सामाजिक सेवामा लगानी गर्दै आएका छन्। यो सहयोग देखावटी भन्दा टाढा, हृदयबाट गरिएको सानो प्रयास हो। "संसारमा दिएर कहिल्यै पुग्दैन, न त लिएर कोही धनी बन्छ।" यो भनाइलाई आत्मसात् गर्दै, आत्मसन्तुष्टिको लागि गरिने हरेक प्रयासले समाजमा सानै सही, तर सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास छ।
यस सहयोगात्मक अभियानमा सहकार्य र समन्वय गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्ने दौतरी जापानका सह-सचिव सुमन निरौला र सह-कोषाध्यक्ष भुवन धिमाललाई हार्दिक धन्यवाद दिन चाहन्छु।
दौतरी जापान: नयाँ सोचको प्रतीक
दौतरी जापान केवल एउटा संस्था होइन, यो नयाँ सोच, दृष्टिकोण, र जिम्मेवारीको प्रतीक हो। यस सोचलाई मलजल गर्दै नयाँ आयाम प्रदान गर्न योगदान पुर्याउने सम्पूर्ण अग्रज व्यक्तित्वहरूप्रति हार्दिक आभार प्रकट गर्दै
आगामी दिनहरूमा पनि यस्तै सकारात्मक सोच, सहयोग र समर्थनको अपेक्षा गर्दछौँ।
धन्यवाद॥।