31/05/2026
दुःखको घडीमा साथ दिने मानवीय उदाहरण : आगलागी पीडित अरुण छेत्रीलाई भेट्न पुगे युवा शक्ति केन्द्रिय अध्यक्ष अमृत योञ्जन
विगत २९ मेको साँझ अचानक भएको सर्ट सर्किटका कारण चुङथुङ निवासी युवा शक्ति केन्द्रिय उपाध्यक्ष तथा बिजनबारी पञ्चायत समितिका कर्माध्यक्ष श्री अरुण छेत्रीको घरमा भीषण आगलागी भएको थियो। उक्त दुःखद घटनाले उनको परिवारलाई ठूलो क्षति पुर्याउनुका साथै भावनात्मक रूपमा समेत विक्षिप्त बनाएको छ।
यस कठिन र पीडादायी अवस्थामा उहाँलाई एक्लो महसुस हुन नदिन युवा शक्ति परिवार उहाँको साथमा उभिएको छ। सोही क्रममा युवा शक्ति केन्द्रिय अध्यक्ष श्री अमृत योञ्जन नेतृत्वको टोली आगलागी प्रभावित निवासमा पुगेर पीडित परिवारसँग भेटघाट गर्दै दुःखमा सहभागी बनेका छन्।
भेटका क्रममा अध्यक्ष योञ्जनले पीडित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै यस कठिन परिस्थितिबाट पुनः उठ्न आवश्यक पर्ने सहयोग र साथ सदैव उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले दुःखको समयमा एकअर्काको हात समात्नु नै साँचो संगठन, साँचो मित्रता र साँचो मानवीयताको परिचय भएको बताउनुभयो।
उक्त अवसरमा पार्टीका केन्द्रिय सदस्य श्री निर्मल छेत्री, समष्टि सभासद् श्री सन्दिप छेत्री तथा अन्य केन्द्रिय सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले पीडित परिवारलाई धैर्य र साहसका साथ यो संकटको सामना गर्न आग्रह गर्दै आवश्यक सहयोगका लागि सधैं साथ रहने विश्वास दिलाएका थिए।
जीवनमा आउने यस्ता अप्रत्याशित विपत्तिहरूले भौतिक संरचना नष्ट गर्न सक्छन्, तर आत्मबल, एकता र सद्भावलाई कहिल्यै हराउन सक्दैनन्। यही एकता र मानवीय भावनाले श्री अरुण छेत्री तथा उहाँको परिवारलाई पुनः नयाँ आशा र ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।
दुःखमा साथ दिने हातहरू नै सम्बन्धको वास्तविक परिचय हुन्।