16/09/2026
अजय एडवर्डसले भारतीय टी बोर्डको भाइस चेयरमेन सी मुरूगनसंग गर्यो भेट।
चिया श्रमिकहरूका लागि जारी गरेको राशी शिक्षा र स्वास्थ्यमा खर्च गर्ने गर्यो मांग।
चिया श्रमिकहरूका लागि केन्द्र सरकारले जारी गरेको रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नुपर्ने माग इण्डियन गोर्खा जनशक्ति फ्रण्टका संस्थापक अध्यक्ष अजय एडवर्ड्सले भारतीय टी बोर्डका भाइस चेयरमेन सी. मुरुगन समक्ष राखेका छन्।प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले आर्थिक वर्ष २०२२–२३ को बजेट मार्फत चिया श्रमिकहरूको कल्याणका लागि ₹१,००० करोड रकम छुट्याएको बताउँदै एडवर्ड्सले उत्तर–पूर्वी भारतका केही चिया बगानका श्रमिकहरूले उक्त रकमको लाभ पाए पनि उत्तर बंगालका चिया श्रमिकहरू भने अझै त्यसबाट वञ्चित रहेको दाबी गरेका छन्।चिया श्रमिकका छोराछोरीले उच्च शिक्षा हासिल गर्न सकून् भन्ने उद्देश्यले शहर तथा शैक्षिक केन्द्र नजिकै छात्रावास निर्माणमा उक्त रकम प्रयोग गर्नुपर्ने एडवर्ड्सको माग छ। बाँकी रकम चिया बगान क्षेत्रमा रहेका अस्पतालहरूको आधुनिकीकरणमा खर्च गर्नुपर्ने उनले बताएका छन्।चिया श्रमिकहरू आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिलाउन गाउँबाट शहरका विद्यालयमा पठाउने गरे पनि महंगाइको तुलनामा उनीहरूको आम्दानी न्यून रहेको एडवर्ड्सले बताएका छन्।शहर नजिकै छात्रावास निर्माण भएमा श्रमिकका छोराछोरीलाई सहज रूपमा राम्रो शिक्षा हासिल गर्ने वातावरण बन्ने र अभिभावकको आर्थिक बोझ समेत कम हुने उनको भनाइ छ।त्यसैगरी, दार्जिलिङ पहाडी क्षेत्रका विभिन्न चिया बगानमा ब्रिटिसकालमा निर्माण गरिएका अस्पतालहरूलाई आधुनिक सुविधासहित सञ्चालन गर्नुपर्ने उनले जोड दिएका छन्।ती अस्पताललाई आधुनिकीकरण गरेर चिया श्रमिकहरूको स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था गर्न सके श्रमिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने एडवर्ड्सले बताएका छन्।चिया श्रमिकका समस्यालाई लिएर कोलकाता पुगेका एडवर्ड्सले भारतीय टी बोर्डका भाइस चेयरमेन सी. मुरुगनसँग एक घण्टाभन्दा लामो समय भेटवार्ता गरेका थिए।भेटमा चिया श्रमिकका लागि जारी रकमलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्ने विषयमा उनले आफ्नो माग राखेका हुन्।
अजय एडवर्डस्स
अध्यक्ष
केन्द्रीय समिति
इण्डियन गोर्खा जन शक्ति फ्रण्ट
पी कोठी,केन्द्रीय कार्यालय
दार्जीलिङ