15/10/2026
दशैँ नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्दै छ। शहरमा बसोबास गर्ने दाजुभाइ, दिदीबहिनीहरू आफ्ना बालबच्चासहित जन्मभूमि फर्किने क्रम सुरु भएको छ। वर्षौँपछि परिवार, आफन्त र इष्टमित्रसँग भेटघाट गर्ने यो खुसीको पर्व हो। तर, यो खुसीलाई सुरक्षित र सम्झनलायक बनाउन हामी सबै सचेत हुन जरुरी छ।
यात्रा गर्दा विशेष सावधानी अपनाऔँ। गाडीमा भीडभाड छ भने कोचिएर यात्रा नगरौँ। एक घण्टा वा एक दिन नै ढिलो किन नहोस्, आफ्नो सिट सुरक्षित गरेर मात्र यात्रा गरौँ। चालकहरूले पनि यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता दिऔँ। हतार, लापरबाही र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिले कसैको घरमा दशैँको खुसी आँसुमा बदलिन नदिऔँ।चाडपर्व मनाउँदा खानपानमा पनि ध्यान दिऔँ। दशैँ भन्दैमा मासुभात र मदिराको अत्यधिक सेवन नगरौँ। आफ्नो स्वास्थ्यको ख्याल गरौँ र परिवारसँग रमाइलो गर्दा मर्यादा नबिर्सौँ। मदिरा सेवन गरेर सवारीसाधन नचलाऔँ।जुवा, तास र लुङ्गुरबुर्जाबाट टाढा रहौँ। रमाइलोका नाममा आफ्नो मेहनतको कमाइ अनावश्यक रूपमा खर्च नगरौँ। क्षणिक मनोरञ्जनको लोभमा घरपरिवारको आर्थिक अवस्था बिगार्ने काम नगरौँ। चाडपर्वले परिवारमा खुसी, प्रेम र एकता ल्याउनुपर्छ, ऋण, झगडा र पछुतो होइन।
दशैँ भनेको नयाँ लुगा लगाउने, मीठो खाने र रमाइलो गर्ने पर्व मात्र होइन ।यो परिवारसँग समय बिताउने, ठूलाबडाको आशीर्वाद लिने, आफन्तसँग सम्बन्ध सुमधुर बनाउने र आपसी सद्भाव बाँड्ने अवसर पनि हो।आउनुहोस्, यस वर्षको दशैँलाई सुरक्षित यात्रा, स्वस्थ खानपान, सभ्य व्यवहार र अनावश्यक खर्चबाट मुक्त बनाऔँ। आफू पनि सचेत बनौँ, अरूलाई पनि सचेत गराऔँ। हाम्रो सानो सावधानीले ठूलो दुर्घटना रोक्न सक्छ।
सबैको घरमा खुसी छाओस्, यात्रा सुरक्षित होस् र दशैँले हरेक परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस्।
🙏 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🇳🇵
जय दोर्दी ।