Communal Academy

Communal Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Communal Academy, Gaindakot .

04/11/2025

शिशिर-वसन्तको कथा👇
(कति कक्षामा पढ्नुभएको थियो)
एकादेशमा एक बडा प्रतापी राजा थिए । उनका शिशिर र वसन्त नाम गरेका दुई राजकुमार थिए । रानी पनि परम सुन्दरी थिइन् ।
राजा र रानीको परस्परमा बडो प्रेम थियो ।
एक दिन राजा सिकार खेल्न गएका थिए । रानी झ्यालमा बसेर बत्ती कात्न लागेकी थिइन् ।
अकस्मात् उनको नजर एउटा भँगेराको गुँडमा पर्यो । त्यो गुँडमा रहेका बच्चाहरूलाई माउले आफ्नो चुच्चामा आहारा ल्याएर बराबर खुवाइरहेको रानीलाई खूब रमाइलो लाग्यो ।
तर अपसोच ! एक कुमुहूर्तमा भँगेरी आफ्ना बच्चाहरूलाई चारा खुवाएर के बाहिर निस्केकी थिई, एउटा व्याधाले प्याट्ट गुलेलीले हानेर उसलाई मारिदियो, रानीको मनमा बडो विषाद पर्यो ।
एक क्षणमा भँगेरा आहारा लिएर आयो । बच्चाहरूलाई आहारा खुवाई च्याउँच्याउँ गरी पोथीलाई खोज्यो तर कतै पनि पत्ता नलाग्दा केहीबेरसम्म जिड्ग्रिङ्ग परेर झोक्राइरह्यो। अनि पछि आफ्नै सुसेधन्दामा लाग्यो ।
भोलिपल्ट पनि उसै गरी झ्यालमा बसी रानी भँगेराका गुँडतिर हेर्छिन् त भालेले अर्कै पोथी ल्याइसकेछ ।
केहीबेरसम्म त त्यो पोथीले सौताका छोराछोरीलाई आहारा ल्याउँदै खुवाउँदै गर्दथी ।
अलि बेरसम्म त उसलाई झर्को लागेर आयो । 'जति खुवाए पनि आँआँ मात्र गरिरहने यी खन्चुवा बैरीका पोथ्राहरूका निमित्त केको यो भुटो ?' पत्थरसमान दिल भएकी त्यसले ती बच्चाहरूलाई चुच्चाले तानीतानी गुंडबाट खसालिदिई ।
राम्रोसँग प्वाँख नउम्रेका ती बिचरा बच्चाहरू च्याँच्याँ गर्दै जमिनमा पछारिई मरे
सौताको दिल त्यहाँसम्म निष्ठुरी हुँदो रहेछ,भन्ने देखेर रानीको मनलाई चिन्ताको अघोर कालो बादलले ढपक्क ढाकी अन्धकार पारिदियो । उनी मनमनै भन्छिन्- 'केही गरी म चाँडै मरिहालें भने राजाले अवश्य अर्कै बिहा गर्नेछन्, अनि मेरा बालक छोराहरूको के दशा होला ?' यही चिन्ताले आकुल भएर रानी बरबरती आँसु खसाल्न थालिन् । रुँदारुँदा दिन पनि बित्यो ।
जब साँझ परेथ्यो, अनि राजा सिकारबाट फर्केर रानीको त्यो अवस्था देखेर खूब हडबडाएर सोध्न लागे:
राजा - रानी ! तिमीलाई के भयो ? किन यसरी रोइरहेकी ?
रानी - यस्तो राम्रो संसार चटक्क छोडेर एक दिन जानुपर्दछ भनेर !
राजा - त्यो त छँदै छ नि । जुन कुराको उपाय छैन त्यसको चिन्ता गरेर आफ्नो भएको सुखमा बाधा पार्ने किसिमकी अवश्य तिमी होइनौ । भन, तिम्रो शोकको कारण निश्चय अर्कै कुरा छ ।
रानी - छैन प्रभु ! मरुँला कि भनेर शोक लागेको हो । तर आफ्ना निमित्तको शोक होइन, खालि मेरा बालक कुमारहरूका निमित्तको हो ।
राजा- किन ?
अनि रानीले भँगेराकी जहानको यथार्थ हाल राजालाई सुनाएर भनिन्- 'म केही गरी चाँडै नै मरिहालें भने हजुरले दोस्रो विवाह नगरी अवश्य छोडिबक्सने छैन । अनि मेरा छोराहरूको कुन हालत होला ?'
राजाले झटपट अ‌ङ्कमाल गरेर रानीलाई भने- 'त्यस्तो पनि कतै हुन सक्छ ? पहिले तिमी भर्खरकी छ्यौ, साधारण हिसाबले तिम्रो आयु अझ धेरै वर्ष छ । उसमा पनि दैवको कुदृष्टि केही गरी पर्न आएको पक्षमा म कहिल्यै दोस्रो विवाह गर्ने छैनँ।'
राजाको यो कुरा सुनेर रानीले मुलाहिजाको निमित्त मात्र चित्त बुझेको 'जस्तो देखाइन्, तर भित्री मनमा उनको शङ्का गडिरह्यो ।
सौतेनी आमाको हातमा परेका भँगेराका बच्चाहरूको दुर्दशा उनको मनमा रातदिन ख‌ड्किरह्यो। 'चिन्ता । चिन्ता । हरबखत चिन्ता ।' चिन्तैले उनलाई चिताको बाटो देखाउन थाल्यो। बाहिर देख्ता भने व्यथा केही छैन, रातदिन झन्झन् दुब्लाउँदै गइन् र एक दिन यो अनित्य संसारको स्याहा-सेस्ता बुझाउन ईश्वरको सम्मुखमा उपस्थित भइन् ।
रानी परलोक हुँदा सारा दरबारमा रुवाबासी चल्यो । राजाले अलि दिनसम्म त पुनर्विवाहको विचारलाई मनमा झुल्कन पनि दिएनन् तर मरेकाको माया मात्र सधैं अटल किन रहन्थ्यो ।
दिन प्रतिदिन घट्दै गयो र 'रानीबिनाको राजगद्दी शोभा भएन' भनेर मन्त्रीवर्गले पनि कराउँदा राजाले अर्को विवाह गरे ।
केही काल त सुखैसँग बित्यो । राजाको मन राख्नका निमित्त कान्छी रानीले पनि बिचरा ती टुहुरा शिशिर र वसन्तमाथि निकै माया देखाएजस्तो गरिन्, तर यथार्थमा उनलाई सौतेनी रोगले दबाउँदै आएको थियो । आपसमा देख्दा ती बालकहरूले कराएको आवाजले पनि उनलाई सोला दिन्थ्यो ।
एक दिन यी दाजुभाइ भकुन्डो खेल्न लागेका थिए । भकुन्डो अकस्मात् उफ्रेर आफ्नो शृङ्गार गर्न लागेकी रानीको ऐनामा बज्रन गई उनको लाली, गाजल इत्यादि जथाभाबी भयो । त्यो देख्दा रानीलाई साहै रिस उठ्यो । 'ती पाजीहरूलाई यो भकुन्डो दिँदै दिन्नँ' भनेर काखमा च्यापिराखिन् ।
केही बेरपछि हस्याङफस्याङ गर्दै वसन्त रानीको खोपीमा आएर 'मुमा ! संयोगले हाम्रो भकुन्डो हजुरको खोपीमा पर्न आयो, हामीले जानीजानी गरेका होइनौं, रिसानी माफ रहोस्, भकुन्डो फिर्ता पाऊँ' भनेर बिन्ती गरे ।
रिसले चूर भएर लाललाल आँखा गरेर रानीले भनिन्-'सौताका छोराहरू भए पनि आफ्नै समान मानेर कत्रो दया-माया गरेको त झन् मलाई शत्रु देखी भकुन्डोले ताकेर हान्ने ! म भकुन्डो फिर्ता दिँदै दिन्नँ । जा, जे गर्छस् गर् ।
' रानीले यसरी झपार्दा बिचरा वसन्त के भन्न सक्थे, निन्याउरो मुख लाएर दाजु शिशिरकहाँ गएर 'हामीहरूदेखि मुमा साहै रिसानी भयो, भकुन्डो बक्सिएन' भनेर बिन्ती गरे ।
'भैगयो, म मागेर ल्याउँछु' भनेर शिशिरले मुमाको खोपीमा गएर भकुन्डो मागे । रानीले अनेक तरहको गाली गरी 'भकुन्डो दिन्नँ' भनेर अड्डी लिइन् । यो सब शिशिरलाई असह्य भयो। झटपट अगाडि गएर रानीको काखमा रहेको भकुन्डो टपक्क टिपेर उनी सरासर चले ।
अब रानीको रिसको सीमा रहेन । आफ्नो सिँगारपटार सबै बिगारी, बाटेको कपाल पनि लाछलुछ पारी, उल्टो आग्लो ठोकी रोएर बसिरहिन् ।
जब राजा साँझमा आएथे अनि रानीले हतपती ढोका नै खोलिनन्, खालि घुँक्कघुँक्क गरेर भित्रै बसिरहिन् ।
राजाले अनेक फुलाई, फकाई गर्दा मात्र बल्लतल्ल ढोका खोलिन् । उनको त्यो दुर्दशा देख्दा राजा भयभीत भए ।
राजाले सोधपुछ गर्दा रानीले आफूमाथि राजकुमारहरूले गरेको बनावटी अत्याचारको फूलजडी भनिन्-
'हजुरका छोराहरूले मलाई भकुन्डोले हाने, किन यसो गर्यो भन्दा त उल्टो मलाई फ्याङ्गलफुङ्गल पारी कपालसमेत लुछिदिए । यो अत्याचार मलाई असह्य भयो ।'
रानीको यो कुरा सुनेर राजाले भने- 'रानी ! सन्ताप नगर । लौ भन, ती पाजीहरूलाई के सजाय दिऊँ ?' अब रानीलाई ठूलो मौका पर्यो । राजालाई झटपट बाचा बंधाई उनले भनिन्- 'लौ त त्यसो हो भने ती दुई कुमारहरूलाई जङ्गलमा लगी काट्न लगाई यिनीहरूको मुटुकलेजो ल्याउन लाइदिबक्सियोस् ।'
अब राजालाई भारी फसाद पर्यो । रानीले भनेको मानूँ भने आफ्ना छोरा नबाँच्ने, नमानूँ भने आफूले बाचा गरिसके । आखिर केही सीप नलाग्दा राजाले भोलिपल्ट राजकर्मचारीहरूलाई बोलाई 'यी राजकुमारलाई जङ्गलमा लगेर मारी यिनीहरूको मुटुकलेजो ल्याउनू' भनेर हुकुम दिए ।
राजाको हुकुम त मन्त्रीले मान्नैपर्ने हो, तर त्यस्ता कलिला सुकुमार बालकहरूलाई मार्न कसको दिलले मान्ला ? जे भए पनि ती बालकहरूलाई लिएर राजकर्मचारीहरू एउटा घोर जङ्गलमा गए र दुइटा मृगहरू मारी उनीहरूको कलेजो-मुटु झिकी बालकहरूलाई त्यसै छोडेर आए ।
अब ती बिचरा बालकहरूले त्यो घोर जङ्गलमा के गरून् ! देखे-सुनेको कहीँ कतै छैन, रात पर्दै आयो, जाडोले मुटु पनि कमाउन थाल्यो । दुवै जना मिलेर झिँजा बटुले, तर आगो पार्ने सरजाम उनीहरूसँग केही थिएन्,
त्यस कारण शिशिरले वसन्तलाई भने- 'भाइ । यो काइदाले भएन; तिमी यहाँ बसिराख म नजिकको गाउँमा गएर आगो लिई आउँछु ।'
यति भनेर वसन्तलाई एक्लै छोडेर शिशिर आगोको खोजमा गए । जङ्गलबाट निस्केर यताउता हेर्दा पूर्वपट्टि अलि टाढा आगो पिलीपिली गरिराखेको देखेर त्यतैतिर लागे ।
तर पनि जति जान्छन् तापनि आगो भएको ठाउँमा पुग्न सक्तैनन्;
हुँदाहुँदा उज्यालो पनि भयो, घाम पनि झुल्के, अनि उनको नजरमा एउटा ठूलो सहर पर्यो । सहरतिर उक्लेर अलिकति कदम के बढाएका थिए, गजबले झकिझकाउ भएको एउटा हात्ती आएर उनलाई समातेर पीठमा राखी राजदरबारमा लग्यो । त्यहाँ तयार रहेका गुरुपुरोहित, मन्त्रीवर्गले शिशिरलाई सुनको घडाले अभिषेक गरी राजगद्दीमा बसाले ।
यी सबै शिशिरलाई सपनाजस्तो भयो । कति कारणले आफूलाई राजा बनाएको हो, उनलाई केही थाहा भएन ।
भोजन समाप्त भएपछि मन्त्रीवर्गसँग कुराकानी गर्दा बल्ल उनले यथार्थ कारण बुझे । के रहेछ भने त्यो देशमा दिनको एउटा राजा फेरिँदा रहेछन् । दिनभर राज्यको सुखभोग गर्यो, राति सुत्न भनेर रानीको खोपीमा गयो, भोलिपल्ट बिहान त राजा मरिराखेका ! यसको हेतु बुझ्न नसक्दा सारा दरबारियाहरू हार खाइरहेका रहेछन् ।
शिशिरले पनि त्यो दिन त सुखमा बिताए तर जब रात परेथ्यो अनि 'के होला ? कसो होला ? मरिने पो हो कि ?' भन्ने चिन्ताले उनलाई पोल्न थाल्यो । जब सुकलाको समय भएथ्यो अनि उनी रानीको खोपीमा गए र त्यहाँ बसिराखेकी रानीको रूपयौवन देखेर छक्क परे । रानी पनि त्यस्तो राम्रो जवान पुरुषलाई पोइ पाउँदा दङ्ग परिन् । धेरैबेरसम्म राजारानी नसुती मीठामीठा कुरा गरिरहे। अब अलिअलि गरेर निद्राले रानीलाई छोप्तै आयो । उनी हाईहाई गर्न थालिन् । त्यो देखेर राजाले रानीलाई पलङमा सुताई आफूचाहिँ हातमा ना‌ङ्गो तरबार लिएर खूब चनाखो भएर बसिरहे ।
आधारातको समय भयो, जताततै सुनसान छ, आवाजको नाममा खालि रानीले मस्त निद्रामा परी फेरेको सास छ । रानीको रूप देखेर मोहित भई राजा एकटकसँग रानीकै मुखमा हेरिरहेका थिए । यस्तैमा रानीको नाकको दाहिने प्वालबाट एउटा मसिनो धागोजस्तै केही कुरा निस्क्यो ।
यो के होला भनेर राम्रोसँग राजाले विचार गर्न नपाउँदैमा त्यो त अकस्मात् भयङ्कर कालो नाग बनी राजालाई डस्न भनेर जाइलाग्यो। राजाले पनि केही नहडबाई आफ्नो हातमा रहेको तरबारले उसलाई चटाचट काटी टुक्राटुक्रा पारिदिए । अब बल्ल हरेक दिन राजा मारिएको कारण उनलाई थाहा भयो । अरू केही आउँछ कि भन्ने शङ्‌काले उनी फेरि बिउँझै रहे ।
जब मिरमिरे उज्यालो भएथ्यो, त्यो दिनको राजा खोज्न भनेर मन्त्रीवर्गले हात्तीलाई उठाउन लागे, तर हात्ती डेग चलेन । त्यो देख्ता सबैलाई अचम्म लाग्यो । उता राजाको लास लान भनेर नाङ्गै, मुडुलै भएका मलामीहरू घारो लिएर खोपीको दरबाजामा जान्छन् त गुनगुन गरेको शब्द भित्रपट्टिबाट आयो ।
उनीहरूले जब ढोकामा ट्याकट्याक गरेथे - 'ए उज्यालो भैसक्यो ?' भन्दै राजाले ढोका खोलिदिए । राजालाई जिउँदै देखेर उनीहरूले झटपट घारो दबाएर राजाको स्वस्ति गरी मङ्गल पढ्न थाले ।
यो खबर सारा दरबारमा फैलियो। मन्त्रीवर्ग, गुरु, पुरोहित पनि जम्मा भए, हरेक दिन राजालाई मार्ने सर्प पो रहेछ भन्ने सबैलाई थाहा भयो
। सधैं राजा फेरिरहनुपर्दा सब हैरान थिए, 'अब भने चिरस्थायी राजा पायौं', भनेर सबै हर्षले गद्गद भए र राज्यभारमा अनेक नाचगान, खुसीयाली भयो, सिन्दूरयात्रा पनि ठूलो समारोहका साथ गरियो ।
अब हामी शिशिरलाई छोडेर वसन्ततर्फ ध्यान दिऊँ ।
'दाजु आउलान्, आगो ल्याउलान्', भन्ने आशाले बिचरा वसन्त एक्लै जङ्गलमा जाडोले काँपेर बसिराखेका थिए । पशुहरू हिँडेर छस्राक-छसाक हुँदा पनि 'लौ दाजु आए' भनी आशाले फुल्दथे ।
तर बिचराको सब आशा निराश भयो, सारा रात बिती पूर्व दिशातिर लाली पनि चढेर आयो, तैपनि दाजुको पत्तै भएन । बिचराको रातभर अलापविलापले बित्यो ।
जब राम्ररी उज्यालो भएथ्यो अनि उनी दाजुको खोजमा हिँडे ।
राजाको छोरो भएर खाई, बढी आएका बिचराका कोमल हातपाउ जङ्गली काँडाले छियाछिया भए ।
बल्लतल्ल उनी जङ्गलबाट निस्केर सहरको बाटो लागेर जाँदा एउटा पसलमा पुगे । आफ्ना मालताल बिक्री गर्न पसलेले त्यस्तो राम्रो बालकलाई देखेर भन्यो- 'नानी! आऊ बस, मेरा छोरा छैनन्, म तिमीलाई धर्मपुत्र पाल्दछु ।'
निराधार बालक हुनाले वसन्तले पनि पसलेले दिएको शरण ग्रहण गर्नैपर्यो । त्यहीं बसी पसलेको काम सगाई उनी आफ्नो दिन काट्न लागे । उनी पसलमा बस्ता सदाको भन्दा दोब्बर व्यापार हुन्थ्यो ।
यसै गरी प्रतिदिन उसको व्यापार बढ्दाखेरि ऊ असङ्ख्य धनी भयो ।
उसका छोरा-छोरीहरू पनि भए, तर सो मूर्ख पसलेलाई 'मलाई धनजन, सम्पत्ति भएको यसै ठिटाको लक्षणले हो' भन्ने होस भएन, उल्टो त्यो उनीमाथि कुदृष्टि गर्न थाल्यो । 'मेरा सन्तान भइहाले, सित्तैमा यसलाई खुवाउने किन हो ? यसलाई अलिअलि गरेर हटाऊँ' भन्ने कुविचारले त्यसले उनलाई अनेक घोचपेच गर्न थाल्यो ।
पसलेको टोकसो वसन्तले सकेसम्म सहन्थे, केही जबाफ गर्दैनथे ।
एक दिन साह्रै दिक्दार लाग्यो र मन ठन्डा होस् भन्नका लागि जङ्गलमा गएर शिशिर-वसन्तको गीत गाउन थाले। उनको गीतले सारा जङ्गल नै घन्क्यो । गीत 'साह्रै राम्रो हुनाले पशुपंक्षीहरू पनि मोहित भएर चुपचाप लागेर सुन्न थाले ।
त्यस जङ्गलमा अर्कै एक देशका राजा सिकार खेल्न आएका रहेछन् । वसन्तको गीत सुनेर 'यस्तो मीठो गीत गाउने को रहेछ' भन्ने विचार गरेर उनी वसन्त भएको ठाउँमा आए ।
त्यस्तो राम्रो भर्खरको जवानलाई देखेर राजाले 'तिमी को हौ ?' भनेर सोद्धा 'म एक अदना दुःखी हुँ' भनी वसन्तले जबाफ दिए ।
तर राजालाई पत्यार भएन ।
'यो जवान कोही राजकुमार हो' भन्ने मनमा निश्चय गरेर उनले वसन्तलाई लिएर आफ्नो देशतर्फ फर्के र दरबारमा पुगी उनलाई कदरसाथ राखे ।
केही काल बितेपछि एक असल दिन ठहऱ्याउन लगाई राजाले वसन्तसँग आफ्नी छोरीको विवाह गरिदिए ।
अलि दिन सुखपूर्वक बित्यो । तर वसन्तलाई 'पसलेले के भन्यो होला ?' भन्ने विचारले शान्ति दिएन । उसैकहाँ फर्कने विचार गरेर उनी राजासँग बिदाबादी भए । राजाले पनि अनेक लावालश्कर र दाइजो साथ लगाइदिए । आफ्नी दुलहीलाई लिएर वसन्त पसलेको घरको बाटो लागे ।
केही बाटो काटिसकेपछि यो मालताल, धनदौलत पसलेको घरमा अटाउँदैन भन्ने ठानेर 'जजसले जेजे बोकेको छ उसैउसैलाई भयो' भनेर वसन्तले सारा लावालश्करलाई फर्काइदिए ।
खालि मैयाँलाई मात्र साथमा लिएर उनी पसलेको घरमा गए ।
वसन्तलाई देखेर पसलेले 'यतिका दिन कहाँ गएको थिइस् ? यो कस्लाई ल्याइस् ?' भनेर सोद्धा 'कामविशेषले अर्कै देश गएको थिएँ, यो तपाईंकी सेठानीलाई सुसारे ल्याइदिएको हुँ' भनी वसन्तले भने ।
त्यस्ती परम सुन्दरी युवतीलाई देखेर पसलेको मनमा पाप उठ्यो । उसले छ जना सार्कीहरू आफ्नो मतोमा लियो र एउटा बलियो छालाको धोक्रो सिउन लगाई सार्कीहरूकै मद्दतले वसन्तलाई बलजफ्ती समातेर धोक्रामा हाली नदीमा बगाइदियो ।
वसन्तको प्रभावले त्यतिको धनी भएर पनि अझ धेरै पाउनाको आशाले मैयाँलाई शिशिर राजाकहाँ लगी चढायो ।
त्यस्ती परम सुन्दरी युवती देखेर राजा खूब खुसी भए र त्यो पसलेलाई प्रशस्तै इनाम दिए ।
शिशिर राजा एक पत्नीव्रत हुन् । उनले ती मैयाँलाई बिहा गर्ने विचार गरेनन्, बरु 'त्यस्ती राम्रीसँग भाइको विवाह गरिदिन पाए असल हुने थियो' भन्ने विचार गरेर उनले भाइको पत्ता लगाउनका मतलबले 'शिशिर र वसन्तको कथा जसले भन्न सक्तछ त्यो मानिसलाई खोजेर ल्याउनू' भन्ने हुकुम दिए ।
उता छालाको थैलामा कोचिएका बिचरा वसन्तलाई नदीको वेगले बगाउँदै एउटा घाटमा पुऱ्यायो । त्यहाँ माझीहरू जम्मा भएका थिए, सबैले त्यो बगेर आइरहेको थैलो देखे ।
'यो थैलामा के रहेछ हेर्नुपर्यो' भनेर झटपट पानीमा हामफालेर त्यो थैलो खोल्छन् त एउटा जवान राम्रो मानिसलाई देख्दा उनीहरूलाई अचम्म लाग्यो अनि एउटा बूढो माझीले 'मेरा सन्तान छैनन्, यिनीलाई म धर्मपुत्र पाल्छु' भनेर वसन्तलाई आफ्नो घरमा लगेर राम्रा तरहले खान लाउन दिई राख्यो ।
राजाले शिशिर र वसन्तको कथा भन्ने मान्छे खोजेका छन् भन्ने हल्ला जताततै फैलियो । बिस्तारै वसन्तको कानमा पनि पर्यो।
'राजालाई शिशिर-वसन्तको कथामा किन त्यस्तो चाख लागेछ' भनेर वसन्तलाई अचम्म लाग्यो । यसको हेतु बुझनुपर्यो भनेर दरबारमा गई 'यो कथा थोर-बहुत म जान्दछु' भनेर राजाका हजुरमा खबर पठाए ।
राजाका हजुरमा हाजिर पुग्नासाथ वसन्तलाई बोलाहट भयो ।
वसन्तले राजाको दर्शन गरे । शिशिर-वसन्तको कथामा राजाको चाख लाग्नाको कारण पनि बुझिहाले, तर उनले झटपट आफ्नो परिचय दिन ठीक ठानेनन् । आफू झुत्रेझाम्रे माझीको धर्मपुत्र बनेर बसेका हुनाले त्यत्रा राजासँग 'हजुरको भाइ वसन्त हुँ' भनेर कसरी उनले भनून् ?
शिशिरले भने वसन्तलाई चिनेनन् । भोक, तिर्खा र अनेक कष्ट खानुपर्दा वसन्त नचिनिने भएका थिए ।
'तिमी शिशिर वसन्तको कथा जान्दछौ ?' भनेर राजाको सोधनी हुँदा
वसन्त भन्दछन्-
वसन्त - महाराज ! पूरा त जान्दिनँ, जङ्गलमा शिशिरसँग बिछोड भएपछिको वसन्तको कथासम्म त जान्दछु ।
शिशिर - त्यति मात्रै भए पनि भन । मलाई त्यति भए पनि पुग्छ ।
वसन्त - जो हुकुम महाराज । तर सरकारबाट एउटा कबुल गरिबक्सनुपर्छ, मैले कथा भनेसम्म हजुर रोइबक्सनु हुँदैन ।
शिशिर - लौ, कबुल भयो ।
त्यहाँपछि वसन्त कथा भन्न थाले ।
दुई भाइको उत्पत्ति, बाललीलादेखि सुरु गरी सानी आमाको पेचले घोर जङ्गलमा परी जाडोले सताउँदा दाजु शिशिर आगोको खोजमा गई बेपत्ता भएको र भाइ एक्लै जङ्गलमा दाजु आउलान् भन्ने आशाले काँप्दै बसिराखेको सम्म पुऱ्याउँदा शिशिरलाई असह्य भयो ।
उनले आँखाबाट बरबर आँसु खसाल्न थाले।
अनि वसन्त भन्दछन्- 'महाराज कबुल नि ?'
वसन्तको यो निवेदन सुनेर
शिशिरले झटपट आँसु पुछेर भने- 'म रोएको होइन, लौ फेरि भन ।'
वसन्तले फेरि भन्न थाले । पसलेको टोकसो असह्य भई वसन्त जङ्गलमा गएर शिशिर वसन्तको गीत गाउन लागेका कुरासम्म पुऱ्याउँदा राजाको फेरि गहभरि आँसु भयो।
तब वसन्तले फेरि राजालाई आफ्नो कबुल सम्झाए ।
राजाले आफूलाई सम्हालेर वसन्तलाई 'कथा भन्दै जाऊ' भनेर हुकुम गरे।
अनि जब वसन्तले आफूले राजाकी छोरी बिहा गरेर पसले कहाँ ल्याउँदा पसलेले धोका दिई छ जना सार्कीको मद्दतले उनलाई छालाको धोक्रामा हालेर नदीमा बगाइदिएको कुरासम्म पुऱ्याएथे,
अनि शिशिरलाई असह्य भयो । 'भाइ वसन्त पसलेको धोकामा पर्दा उनको ज्यानसमेत गुमेछ क्यारे' भन्ने मनमा उठ्दा उनी डाँको छोडेर रुन थाले ।
वसन्त - महाराज । किन यस्तो असावधान होइबक्सेको ? मरेका छैनन्, हडबडाइबक्सनु पर्दैन ।
शिशिर - (उज्यालो मुख लाएर) साँच्चै हो ? त्यसो भए हामी दुईको भेट हुनेछ । लौ अरू भन ।
वसन्त - अनि वसन्त छालाको थैलामा बग्दैबग्दै एउटा बन्दरगाहमा पुगेछन् । त्यहाँका माझीहरूले थैलाभित्र के रहेछ भनेर थैलालाई किनारमा ल्याएर खोल्दा त वसन्त पो निस्केछन्, अनि एउटा बूढो माझीले म धर्मपुत्र पाल्छु भनेर वसन्तलाई घरमा लगेछ ।
माझीको घरमा रहँदाबस्ता एक दिन वसन्तले फलानो देशका राजाले शिशिर-वसन्तको कथा सुन्न इच्छा गरेका छन् भन्ने खबर पाउँदा यथाशक्ति कथा सुनाऊँ भनेर दरबारमा हाजिर भएछन् ।
राजाको सम्मुख पर्नासाथ राजा त मेरो दाजु हुनुहुँदो रहेछ भनेर चिनिहालेछन् ।
वसन्तले यति के भनेथे शिशिरले झटपट सिंहासनबाट ओर्लेर वसन्तलाई अङ्कमाल गरे। परस्परमा हर्षका आँसु बहन थाले अनि
शिशिर भन्छन् - 'भाइ ! तिम्री दुलही पनि बेपत्ता भइन् भन्ने मलाई लाग्दैन । एउटी परम सुन्दरी युवती मकहाँ चढाउन एउटा पसलेले ल्याएको थियो ।
मेरो बिहा भैसक्यो, यी कन्या मेरो भाइलाई लायककी छिन् भनेर उनीलाई अन्तःपुरमा राखेको छु। ती कन्या तिम्रै दुलही हुनुपर्छ ।'
यति भनेर ती कन्यालाई झिकाए । ती कन्या पनि राजाको बैठकमा आएर वसन्तलाई देखी 'मेरा स्वामी !' भनी वसन्तका पाउमा परिन् । अब शिशिर-वसन्तको आनन्दको मात्रा पूरा गर्नलाई केही बाँकी रहेन ।
अब त्यो धोकेबाज पसलेको के दशा भयो होला ? एकातिर वसन्त कोमल दिलका थिए, पसलेको नुन पनि उनको पेटमा परिसकेको थियो ।
उतातिर कन्या चढाएको इनाम खान्छु भन्ने लालचले, आफूलाई ऐश्वर्य र सन्तान दिने बिचरा निर्दोष वसन्तको ज्यानसमेत लिने अभिप्रायले उनलाई छालाको धोक्रामा हाली नदीमा फ्याँकिदिएको थियो । उसको के दशा भयो होला ? भनेर यो कथा सुन्ने, पढ्नेहरूले आफ्नो बुद्धिविवेकअनुसार निर्णय गर्नुहोला ।
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठ जाला, ....
भन्ने बेलामा खुरुखुरु आइजाला...
कथा मनपरे मा सेयर गर्न नबिर्सनु होला। धन्यवाद।
✍️बोधविक्रम अधिकारी

22/10/2025
16/10/2025

Every teacher has seen a kid like this!

16/10/2025

Your Growing... ✨

14/10/2025
13/10/2025
12/10/2025

Teacher's Prompting Guide for Classroom Management

Address

Gaindakot
33003

Telephone

9845378274

Website

Alerts

Be the first to know and let us send you an email when Communal Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Communal Academy:

Share