15/09/2026
Suren Kumar जी लेख्नु हुन्छ !
एउटा शौचालयले उठाएका धेरै प्रश्नहरू
करिब एक महिना अगाडि म १४ दिनका लागि नेपाल घर गएको थिएँ। घर पुगेको भोलिपल्ट नै हाम्रो वडा कार्यालयमा स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो। हाम्रो क्लबलाई पनि निमन्त्रणा गरिएको थियो, त्यसैले म कार्यक्रममा सहभागी भएँ।
कार्यक्रममा सबैले हाम्रो गाउँ, वडा, संस्कार, संस्कृति र विकासका बारेमा राम्रो–राम्रो कुरा गर्नुभयो। आफ्नै ठाउँको बारेमा सकारात्मक कुरा सुन्दा मलाई गर्व पनि महसुस भइरहेको थियो।
तर कार्यक्रमको अन्तिमतिर म वडा कार्यालयको शौचालय गएँ।
त्यहाँको अवस्था देखेर मेरो मन एकाएक खिन्न भयो।
बाहिर हलमा हामी सभ्यता, संस्कार, विकास र समृद्धिको कुरा गरिरहेका थियौँ। तर त्यही कार्यालयको सार्वजनिक शौचालयको अवस्था भने अत्यन्तै फोहोर र बेवास्ता गरिएको थियो। त्यहीँबाट मेरो मनमा एउटा प्रश्न उठ्यो !
के विकास भनेको भाषण र कार्यक्रममा मात्र सीमित कुरा हो?
म हलमा फर्किएँ र मेरो छेउमा बस्नुभएको एक जना दाइलाई शौचालयको अवस्थाबारे बताएँ। उहाँले हाँसेर कुरा छोडिदिनुभयो। पछि मलाई यस्तो विषयमा धेरै कुरा नगर्न पनि सुझाव दिइयो। तर मेरो मनले त्यो कुरा छोड्न सकेन। मैले वडा कार्यालयका कर्मचारी, वडा प्रतिनिधि तथा अन्य व्यक्तिहरूसँग पनि यस विषयमा कुरा गरेँ। धेरै पटक “गर्छौँ”, “हेर्छौँ” भन्ने जवाफ आयो।
तर तीन–चार दिनपछि म फेरि साथी र भाइसँग वडा कार्यालय गएँ। शौचालयको अवस्था उस्तै थियो। हामीले कार्यालयका कर्मचारीसँग सोध्यौँ। कसैले नगरपालिकाबाट सामग्री नआएको कुरा गर्नुभयो। कसैले अध्यक्षज्यू वा माथिल्लो निकायको आदेश चाहिने कुरा गर्नुभयो। कार्यालय सहयोगीले त शौचालय सफा गर्न आवश्यक सामग्रीसमेत उपलब्ध नभएको बताउनुभयो। पछि नगरपालिकामा बुझ्दा अर्को जानकारी पाइयो हरेक वडालाई आवश्यक सरसफाइ सामग्री उपलब्ध हुने व्यवस्था रहेको कुरा आयो। अब यहाँ प्रश्न कसलाई दोष दिने भन्ने मात्र होइन।
प्रश्न जिम्मेवारी कसको हो भन्ने हो।
एउटा वडा कार्यालयको सामान्य शौचालय सफा राख्न नसक्ने अवस्था किन सिर्जना हुन्छ? शौचालय सफा गर्ने सामान्य सामग्रीको व्यवस्थापन गर्न किन यति धेरै अन्योल हुन्छ?
नागरिकले यस्तो सामान्य समस्या उठाउँदा किन त्यसलाई सहज रूपमा समाधान गर्नेभन्दा “यो कुरा नगर” भन्ने वातावरण बन्न खोज्छ?
हामी “स्मार्ट वडा”, “सुन्दर गाउँ”, “विकास”, “समृद्धि” र “सभ्य समाज”को कुरा गर्छौँ।तर विकासको सुरुवात कहाँबाट हुन्छ? मेरो विचारमा विकास करोडौँ रुपैयाँको सडक वा ठूलो भवनबाट मात्र सुरु हुँदैन।विकास जिम्मेवारीबाट सुरु हुन्छ।सरसफाइबाट सुरु हुन्छ।सार्वजनिक सम्पत्तिको संरक्षणबाट सुरु हुन्छ।नागरिकको प्रश्न सुन्ने संस्कारबाट सुरु हुन्छ।र समस्या देख्दा दोष एकअर्कामाथि थोपर्ने होइन, समाधान खोज्ने इच्छाबाट सुरु हुन्छ।मलाई सबैभन्दा धेरै चिन्ता लागेको अर्को कुरा हाम्रो समाजको मानसिकता हो। हामीलाई सानैदेखि सिकाइन्छ आफूभन्दा ठूलालाई सम्मान गर्नुपर्छ।म पनि यस कुरामा पूर्ण रूपमा विश्वास गर्छु।
तर प्रश्न छ:
के ठूलालाई सम्मान गर्नुको अर्थ गलत कुरा देख्दा चुप लाग्नु हो?
के नागरिकले आफ्नो वडा कार्यालयको सरसफाइबारे प्रश्न गर्न पाउँदैन? के समस्या देखाउनु असम्मान हो? के प्रश्न गर्ने व्यक्ति विरोधी हुन्छ? शिक्षित हुनुको अर्थ केवल डिग्री लिनु मात्र होइन। शिक्षाको वास्तविक अर्थ सही र गलत छुट्याउन सक्नु हो। समस्या देख्दा प्रश्न गर्न सक्नु हो। सम्मानजनक तरिकाले आफ्नो विचार राख्न सक्नु हो।र जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउन सक्नु हो। आज हाम्रो समाजमा एउटा समस्या छ।धेरै मानिसहरू गलत कुरा देखेर पनि बोल्न चाहँदैनन्।किनकि कसैलाई रिस उठ्ला।सम्बन्ध बिग्रेला।ठूलो मान्छेले नराम्रो मान्ला।भोलि आफ्नो काम पर्दा समस्या होला।त्यसैले हामी चुप लाग्छौँ।तर यदि सबै मानिस चुप लाग्ने हो भने परिवर्तन कसरी आउँछ?जो बोल्छ, उसलाई रोक्ने।जो प्रश्न गर्छ, उसलाई असहज मान्ने।जो कमजोरी देखाउँछ, उसलाई विरोधी ठान्ने।यदि हामीले यही संस्कार विकास गरिरहेका छौँ भने हामी कस्तो समाज बनाउँदैछौँ?हामीलाई वास्तवमा कस्तो समाज चाहिएको हो? जहाँ नागरिकले प्रश्न गर्न नपाओस्? जहाँ नेतृत्वको सम्मानको नाममा कमजोरी लुकाइयोस्? जहाँ विकासका ठूला भाषण हुन्छन् तर आधारभूत सरसफाइसमेत सुनिश्चित हुँदैन? कि यस्तो समाज जहाँ नागरिकले सम्मानपूर्वक प्रश्न गर्न सकोस्, नेतृत्वले आलोचना सुन्न सकोस्, कर्मचारीले आफ्नो जिम्मेवारी बुझोस् र समस्या देखेपछि समाधान खोजियोस्? मेरो विचारमा नेतृत्वको वास्तविक परीक्षा चुनावको भाषणमा हुँदैन। नेतृत्वको वास्तविक परीक्षा दैनिक जिम्मेवारीमा हुन्छ। एउटा सार्वजनिक कार्यालय कति व्यवस्थित छ? शौचालय कति सफा छ? नागरिकसँग कस्तो व्यवहार गरिन्छ? समस्या उठाउँदा नेतृत्वले कस्तो प्रतिक्रिया दिन्छ? यिनै साना कुराहरूले नेतृत्वको वास्तविक चरित्र देखाउँछन्।हामीले विकासको कुरा धेरै गर्छौँ। तर विकासको कुरा गर्नुअघि एउटा प्रश्न आफैँलाई सोधौँ।
के हामीले आफ्नो जिम्मामा रहेको सामान्य काम पनि इमानदारीपूर्वक गर्न सकेका छौँ?
एउटा वडा कार्यालयको शौचालय सफा राख्न सकिँदैन भने “स्मार्ट वडा”को सपना केवल भाषणमा सीमित हुन सक्छ। परिवर्तन ठूला नाराबाट सुरु हुँदैन। परिवर्तन जिम्मेवारीबाट सुरु हुन्छ। र जिम्मेवारीको सुरुवात आफ्नो अगाडिको समस्या समाधान गर्नबाट हुन्छ। अन्त्यमा म यति मात्र भन्न चाहन्छु । प्रश्न गर्नु असम्मान होइन। सम्मानपूर्वक सही कुरा उठाउनु एउटा सचेत नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो। किनकि चुप लागेर समस्या कहिल्यै समाधान हुँदैन। र हामीले कस्तो समाज बनाउने भन्ने कुरा आज हामी गलत देख्दा बोल्छौँ कि चुप लाग्छौँ भन्ने कुराले निर्धारण गर्छ।
एउटा शौचालयको प्रश्नबाट सुरु भएको यो कुरा वास्तवमा हाम्रो जिम्मेवारी, नेतृत्व र समाजको संस्कारमाथिको प्रश्न हो।
हामीलाई भाषण गर्ने समाज चाहिएको हो कि जिम्मेवारी लिने समाज? निर्णय हाम्रो हातमा छ।
#सुशासन #नागरिकसचेतना #स्थानीयसरकार #युवाआवाज