21/11/2023
के आजको दिनमा राजतन्त्र वा गणतन्त्रको विषयमा चर्काचर्की गर्नु उपर्युक्त हो?
पहिलो विषयवस्तु भनेको देशले आज भोगिरहनु परेको अवस्थालाई कसरी निराकरण गर्ने र देशमा कसरी उत्पादन वृद्धि गर्ने, कसरी सामाजिक एकता कायम गर्ने भन्ने विषयलाई सम्बोधन गरिनुपर्ने हो। व्यवस्थालाई ठूलो मुद्दा बनाएर खिचडी बनाउने प्रयासले केही माखो मर्दैन। राजतन्त्र आउँदैमा वा गणतन्त्र हुँदैमा सबै ठीक हुन्छ भनेर परिकल्पना गर्नु नै गलत छ। राजा आउँदैमा वा गणतान्त्रिक व्यवस्थामा सत्ताधारी पार्टीले शासन प्रणाली सञ्चालन गर्दैमा देशको मुख्य अन्तरविरोधको निराकरण हुने होइन।
१. राजतंत्र चाहनेहरुलाई प्रश्न, के राजा आउँदैमा देशको सम्पूर्ण समस्या एक झमटमा समाधान हुन्छ? के राजा राजगद्दीमा बस्दैमा देशको अर्थतन्त्र वृद्धि हुन्छ? जहिलै उ बेला विदेशीले यस्तो सम्मान गर्थे अहिले गर्दैनन् भन्ने तर्क गरेर होला?
२. नेपालको अहिलेको अवस्थाको लथालिङ्ग गणतन्त्र नै कायम हुनुपर्छ भन्नेहरुमा प्रश्न, के यो व्यवस्थालाई अब पूर्ण रूपमा विश्लेषण गर्नु आवश्यक छैन?, के यस्तै पद्धति र व्यवहारको संघीयताले देशको आर्थिक विकास गर्न सक्छ? के तपाईंले भनेको गणतन्त्रको परिभाषा “ Democracy is for the people, by the people of the people ” काे परिभाषा नेपालको संदर्भमा “Democracy is fraud the people, buy the people off the people ” को रूपमा देखिन थालेको होइन?
मेरो धारण: संसारमा सबै भन्दा उत्तम व्यवस्था प्रजातन्त्र, लाेकतन्त्र,गणतन्त्र र सङ्घीयत चलाउने जान्नेलाई उत्तम व्यवस्था हो, जसमा जनताको प्रत्यक्ष सहभागिता हुन्छ, तर यो देशमा जनतालाई पैसामा तौलिएर किनेर व्यवस्था चलाइएको अवस्था भएकोले जुनतन्त्र भए पनि नेपाल र नेपालीको स्तर सुधार भएन राजनीतिक दल र तिनका नेता र आसेपासेकाे हाली मुहाली भएकाे छर्लङ्ग देखिएकाे छ।
१. जनताले सुरुमा आफ्नो दिमागलाई निष्पक्ष बनाउन आवश्यक छ। तपाईंहरूले भोट दिँदा जहिल्यै पार्टी हेरेर दिनुभयो, कहिल्यै उम्मेदवारको चरित्र, उसको पृष्ठभूमि हेरेर मत दिनु भएन। यो व्यवस्थामा आफूलाई जहिलै भोट दिने पात्र मात्र सम्झनुभयो। कहिलै विकास निर्माण कार्यमा आफ्नो सहभागिता पनि हुनुपर्छ भन्ने सोच्नु भएन। उदाहरणको लागि : स्थानिय तहमा वडा भित्र केही संरचना बन्दा ठेकेदारलाई टेण्डर पास गराएर पार्टीगत निर्णयको आधारमा संरचना खडा गराउँदा जनताको बृहत राय लिने तर्खर यो व्यवस्थामा छैन, साच्चिकै जनताको व्यवस्था हो भने सबैले जनप्रतिनिधिहरुलाई प्रश्न गर्न थाल्नुपर्छ। स्थानिय तहको काम कारवाहीको अनुगमन गर्न तथा जान्न संविधानको धारा २७ ले तोकेको सूचनाको हकको प्रयोग गरी स्थानिय तहसंग सूचना माग्न थाल्नुपर्यो। यसमा एक दुई जनाको बलले काम छैन, संयुक्त बलको खाँचो छ।
२. यस व्यवस्थामा जनतालाई झुक्याएको धेरै उदहारण छन्, जस्तै : सांसद् बन्न चाहने उम्मेदवारले भोट माग्दा बाटो, पुल बनाउँछु भनेर झुक्याएर भोट माग्छ, तर उसको काम यो होइन, देशको नीति निर्माण गर्ने हो, जनता मक्ख परेर “Quid Pro Quo " अर्थात् ( केही लिने र दिने सम्झौता) काे आधारमा मत खसाल्छन् ! पछि चुनाव जितेर जानेले सम्झौता राद्दीकाे टाेकारीमा फालेकाे छन् । यस्ता कुराबाट सचेत भएर राम्रा जनप्रतिनिधि तपाईंहरूले छान्न जान्नु पर्यो।
३. नेपालको गणतान्त्रिक व्यवस्थामा संविधानको धेरै प्रावधानहरू संशोधन र खारेजीको आवश्यकता छ, यसका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको १६५ क्षेत्रको सांसद् तपाईं हामीले गतिलो र योग्य छान्न जानुपर्यो। बाँकी ११० समानुपातिकको बन्द सूचीमा भोट हाल्दा कुन पार्टीको स्पष्ट धारणा छ , त्यसमा भोट दिनुहोस। नेपालमा सबै पार्टीहरू खराब छैनन्, कुनै कुनै दल देशको विषयमा गम्भीर चिन्ता लिने दलहरु पनि छन्, वा भोलिको दिनमा उदाउन सक्छन् ।
४. गणतंत्रमा आर्थिक वृद्धि र विकासको प्रसंग भन्दा पनि खुरापाती राजनीतिक गफ, प्रतिक्रियात्मक गतिविधि बढी हुने गरेको पाइन्छ, यो व्यवस्थालाई रचनात्मक गतिविधिमा लम्काउन आवश्यक छ, यसको लागि सबै जनता एक जुट भएर काम गर्नुपर्छ।
त्यसैले बिड तताएर ताउमा रोटी पाक्दैन, रोटी पकाउनु छ भने ताउ नै तताउनुपर्छ, !!
“सुधारात्मक जनतन्त्र, आजको आवश्यकता हो," २०८४ काे निर्वाचनमा विगतमा गरेको भुल नदाेहाेर्याउनु हाेला।
“जनता नै देश हो , देश नै जनता हो ”