08/03/2026
२०८२ फागुन २४, आदरणीय आमा-बुबा, दिदिबहिनी तथा दाजुभाइहरु,
समयको बहावसँगै एउटा लोकतान्त्रिक अभ्यासको रूपमा निर्वाचन सम्पन्न भएको छ । जनमतको यो घडीमा म सबैभन्दा पहिले तपाईंहरूको अटुट विश्वास र सद्भावप्रति नतमस्तक हुँदै हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
वि.सं. २०७४ र २०७९ मा निर्वाचित भएयता तपाईंहरूले मलाई जुन जिम्मेवारी सुम्पिनुभएको थियो, त्यसलाई मैले सदैव मप्रतिको विश्वास र मलाई सुम्पिएको जिम्मेवारीका रूपमा लिएँ । स्रोत र साधनका आफ्नै सीमाहरू थिए होलान्, तर मेरो नियतमा कहिल्यै खोट रहेन । म विनम्रताका साथ भन्न चाहन्छु—कुनै पूर्वाग्रहविना नियालेर हेर्ने हो भने विगत तीन दशकमा अरूले आँट नगरेका कयौँ अधुरा सपना र विकासका कार्यहरूलाई हामीले पूर्णता दिएका छौँ । पदमा रहँदा होस् वा नरहँदा, मैले कहिल्यै तपाईंहरूको शिर झुक्ने काम गरिनँ ।
मैले राजनीतिलाई सधैँ लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र मुलुकको समृद्धिको एउटा पवित्र माध्यम बनाएँ । भ्रष्टाचारविरुद्धका मेरा आवाजहरू केवल भाषणमा सीमित रहेनन्, त्यसलाई आफ्नै आचरण र व्यवहारमा निषेध गरेर देखाउने इमानदार कोसिस गरेँ । यही निष्ठाका कारण आज जनताको एउटा ठूलो तप्काले मलाई साथ दिनुभयो र अन्य पार्टीहरूबाट पनि थुप्रै साथीहरू हाम्रो साझा अभियानमा जोडिनुभयो ।
मतदाता भेटघाटका क्रममा मैले जुन दृश्यहरू देखेँ, तिनले मलाई जीवनभर ऊर्जा दिइरहनेछन् । ती आमा-बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई म कसरी बिर्सन सक्छु, जसले आफूले सँगालेर राखेको हजार, पन्ध्र सय, तीन हजार र पाँच हजार रुपैयाँ "चुनाव खर्च" भन्दै मेरो हातमा राखिदिनुभयो? स्वदेश तथा विदेशमा रहनुभएका साथीभाइ र आफन्तहरूले "तिमीसँग पैसा छैन, तर निर्वाचन हार्ने छुट पनि छैन" भन्दै पठाउनुभएको त्यो सहयोग केवल चन्दा थिएन, त्यो त मेरो इमानप्रतिको गहिरो विश्वास थियो ।
शिक्षक, कर्मचारी र साना व्यवसायी साथीहरूले आफ्नो गाँस कटाएर गर्नुभएको सहयोग, अनि अभियानका क्रममा भुटेको मकै-भटमास, सातु र चिउरा-दालमोठ खाएर "अंकल/दाइ जसरी पनि जित्नुपर्छ" भन्दै दिनरात खट्ने मेरा युवा स्वयंसेवकहरूप्रति म सदैव ऋणी रहनेछु । हामी जहाँ पुग्यौँ, त्यहाँ खाना र खाजाको व्यवस्था स्थानीय कार्यकर्ता र जनसमुदायले स्वतःस्फूर्त रूपमा गरिदिनुभयो उहाँहरूको गुन म बिर्सने छैन । साथै, सञ्चारकर्मी मित्रहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु, जसले मेरा भनाइ र अभियानका पाटाहरूलाई मतदातासमक्ष पुर्याउन अहम् भूमिका खेल्नुभयो ।
हो, संख्यात्मक रूपमा नतिजा जे-जस्तो आए पनि, नैतिक रूपमा हाम्रो विजय भएको छ । हामीले पार्टीको आन्तरिक एकता कायम गर्दै जनताको मन जित्न सफल भएका छौँ । हामीले प्राप्त गरेको प्रत्येक मत कुनै प्रलोभन वा स्वार्थविनाको 'विशुद्ध आत्मदान' हो ।
म जनमतलाई सदैव शिरोपर गर्दछु । लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरी हुन्छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी र यसको लहरका बारेमा अनेकौँ टीका-टिप्पणी र बहसहरू नभएका होइनन्, अहिले म त्यतातिर जान चाहन्नँ । मेरो प्राथमिकता सधैँ यस क्षेत्रको हित र यहाँका मानिसहरूको सेवा नै रह्यो र रहनेछ ।
यस निर्वाचनबाट यस क्षेत्रको नेतृत्वका लागि निर्वाचित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. विक्रम तिमल्सिनाज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । हामी एउटै क्षेत्रका पनि हौँ, त्यसैले उहाँको सफलतासँग मेरो व्यक्तिगत र क्षेत्रीय सद्भाव पनि जोडिएको छ । जनताले तपाईंलाई एउटा नयाँ आशा र विश्वासका साथ यो जिम्मेवारी सुम्पिएका छन् । तपाईंको कार्यकालमा यस क्षेत्रका आम नागरिकका आकांक्षाहरूले पूर्णता पाऊन् र नुवाकोटको विकासले नयाँ गति लेओस् भन्ने मेरो हार्दिक शुभकामना छ ।
म पदमा रहूँ वा नरहूँ, नुवाकोटको माटो र यहाँका आत्मीय मानिसहरूको सुखदुःखमा सदैव सँगै रहनेछु र यहाँको उन्नतिका लागि सदैव सकारात्मक सहकार्य गर्न तत्पर रहनेछु । हाम्रा राजनीतिक बाटाहरू फरक हुन सक्छन्, तर लक्ष्य एउटै 'समृद्ध नुवाकोट' नै हुनुपर्छ ।
अन्त्यमा, मतदाता भेटघाटका क्रममा मलाई फूल-माला, टीका र दहीले स्वागत गर्दै आफ्नै परिवारको सदस्य झैँ माया दिनुहुने आत्मीय जनहरूप्रति नतमस्तक छु । सामान्य कार्यकर्ता परिचालनका लागि सामान्य खर्च समेत पठाउन नसकेको यो कठिन परिस्थिति र अनेकौँ चुनौतीका बाबजुद पनि तारा चिह्नमा मतदान गर्नुहुने सम्पूर्ण आदरणीय मतदाता महानुभावहरूमा म विशेष नमन गर्दछु । तपाईंहरूको यो निस्वार्थ माया र अटल विश्वास नै मेरो जीवनको सबैभन्दा ठूलो ऊर्जा हो ।
मेरो जनसेवाको यात्रा यहाँ रोकिएको छैन । म यो अनुभवबाट अझ परिष्कृत र दृढ भएर तपाईंहरूकै सुख-दुःखमा समाहित हुँदै अघि बढ्नेछु ।
हितबहादुर तामाङ
उम्मेदवार
नुवकोट निर्वाचन क्षेत्र नं १