29/12/2025
लोकदोहोरी संरक्षणका लागि रोल्पामा प्रतिष्ठान र पत्रकारबीच छलफल
रोल्पा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा रोल्पाले जिल्लामा क्रियाशील पत्रकारहरूसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। सोमबार सदरमुकाम लिबाङमा आयोजित कार्यक्रममा प्रतिष्ठानको नवनिर्वाचित कार्यसमितिले आगामी कार्यदिशाबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको हो।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका जिल्ला अध्यक्ष सागरबाबु पुनले रोल्पाका मौलिक, पुराना तथा टिपिकल भाका र ‘साइलाबरे’ गीतहरूको संरक्षण गर्दै नयाँ प्रतिभाको खोजी र प्रवर्द्धनमा प्रतिष्ठान केन्द्रित हुने बताउनुभयो। उहाँले पत्रकारहरूबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै विगतका कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
सो अवसरमा सहभागी पत्रकारहरूले बाह्य कलाकारभन्दा जिल्लाकै मौलिक कला र प्रतिभालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खुबिनासुनारी मगर, पूर्व अध्यक्ष खेमबहादुर बुढामगर, सल्लाहकार लोकेन्द्र चन्द, सामुदायिक रेडियो जलजलाका कार्यक्रम प्रमुख एवं राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका लुम्बिनी प्रदेश सदस्य वीरेन्द्र गिरी र रोल्पा समाचार साप्ताहिकका समाचार प्रमुख खुमबहादुर सुनार लगायतका पत्रकारहरूको उपस्थिति रहेको थियो।
प्रतिष्ठानका जिल्ला अध्यक्ष सागरबाबु पुनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सचिव सागर थापाले गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।