02/08/2026
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) , केन्द्रीय समिति ।
मिति : २०८३ श्रावण १७ गते
प्रेस विज्ञप्ति
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गत नेपाली भूभागमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अनाधिकृत रूपमा प्रवेश गरी स्थानीय जनताले नारायणी नदीको कटानबाट बस्ती जोगाउन निर्माण गरेको १३२ मिटर लामो अस्थायी बाँध बलपूर्वक भत्काएको घटनाप्रति अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको छ।
सीमा मानिँदै आएको स्थानभन्दा सयौं मिटर नेपालभित्र प्रवेश गरी नेपाली भूमिमा निर्माण भएको तटबन्ध भत्काउनु र नेपाली नागरिकमाथि दादागिरी प्रदर्शन गर्नु नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा अन्तर्राष्ट्रिय सीमा मान्यताको घोर उल्लङ्घन हो। भारतीय विस्तारवादको यस मिचाहा, हस्तक्षेपकारी र हेपाहा प्रवृत्तिको अखिल (क्रान्तिकारी) घोर निन्दा तथा कडा शब्दमा भर्त्सना गर्दछ।
यस घटनाप्रति नेपाल सरकारको निरीह, मौन र प्रभावहीन भूमिकाप्रति हामी गम्भीर दुःख व्यक्त गर्दछौं। आफ्नै भूमिमा विदेशी सुरक्षा बलले हस्तक्षेप गर्दा पनि सरकार प्रभावकारी रूपमा उभिन नसक्नु राष्ट्रिय स्वाभिमानमाथिको गम्भीर प्रश्न हो।
अखिल (क्रान्तिकारी) नेपाल सरकारसँग भारतीय पक्षसमक्ष तत्काल कडा कूटनीतिक विरोध जनाउन, सुस्ता क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति सुदृढ गर्न, स्थायी तटबन्ध निर्माण गर्न तथा नेपाली भूमि, सीमा र नागरिकको सुरक्षाको प्रभावकारी ग्यारेन्टी गर्न जोडदार माग गर्दछ। राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि सरकार गम्भीर, दृढ र जिम्मेवार बन्न पनि हामी आग्रह गर्दछौँ।
क्रान्तिकारी अभिवादनसहित!
विजय प्रकाश शर्मा सापकोटा
( अध्यक्ष )