18/03/2026
#सन्दर्भ : चैत्र ४ |
बि सं २०११ साल फागुन ३० गते स्विट्जरल्यान्डको जुरिचस्थित क्यान्टन अस्पतालमा ४९ वर्षको उमेरमा निधन भएका श्री ५ त्रिभुवनको शव निधनको ४ दिन पछि वि.सं. २०११ चैत्र ४ गते काठमाडौं आइपुगेकै दिन आर्यघाटमा दाहसंस्कार सम्पन्न भएको थियो ।
--- --- --- --- ---
दिल्लीबाट रानीहरू,अधिराजकुमार, अधिराजकुमारीलगायतका अन्य सदस्यहरू नेपाल सरकारले व्यवस्था गरेको अर्को जहाजमा काठमाडौँ फर्किएका थिए। त्यसै विमानमा दिल्लीस्थित नेपाली राजदूत महेन्द्रविक्रम शाहसमेत फर्किएका थिए। उक्त विमान १२:०५ मा नेपाल ओर्लिएको थियो। सोही दिन अपराह्न १२:२० मिनेटमा राजा त्रिभुवनको पार्थिव शरीरलाई बोकेको भारतीय वायुसेनाको विमान गौचर हवाईअड्डामा ओर्लिएको थियो। विमानको अग्रभागमा नेपाल र भारतका झन्डा फहराइएका थिए। गौचर हवाईअड्डामा ठूलो संख्यामा नेपलीहरूको उपस्थिति थियो।
विमानबाट शवलाई ब्राह्मणहरूले ओरालेका थिए। त्यसपछि हवाई अड्डामा तैनाथ नेपाली सेनाको कालीबहादुर दलले सलामी अर्पण गरेको थियो। त्यससँगै त्यहीँ तोपसमेत पड्काइएको थियो। गौचर हवाईअड्डामा राजा त्रिभुवनको पार्थिव शरीरमाथि सबैभन्दा पहिले नयाँ राजा महेन्द्रका तर्फबाट प्रधानसेनापति किरणशमशेर जबराले फूलमाला चढाएका थिए। त्यसपछि भारतका राष्ट्रपतिका प्रतिनिधिका रूपमा दिल्लीबाट आएका मेजर जनरल यदुनाथ सिंह, ब्रिटिस राजदूत, भारतीय राजदूत, फ्रेन्च कन्सलर, कार्यवाहक अमेरिकी राजदूत, भारतबाट अन्तिम संस्कार समारोहमा सहभागी हुन आएको विशेष भारतीय प्रतिनिधिमण्डल, नेपालको मन्त्रिपरिषद् सदस्यहरू, मुस्ताङका राजा, मुस्ताङी राजकुमार, जंगी तथा निजामती कर्मचारीले फूलमाला चढाएर राजाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।
हवाईअड्डामा आधा घन्टा राखेपछि आर्यघाटतर्फ शवयात्रा सुरु भएको थियो। शवयात्राको अघिल्लो लहरमा प्रहरीका मोटरसाइकल थिए। त्यसपछि सैनिक जिप थिए। पछिपछि जंगी पोसाक पहिरिएका ब्यान्डसहितका सैनिक दल थिए। सैनिकका पछाडि ब्राह्मणहरूले राजा त्रिभुवनको पार्थिव शरीर बोकिरहेका थिए। शवका पछाडि माहिला र कान्छा अधिराजकुमारहरू हिमालय र वसुन्धरा थिए। अधिराजकुमारहरूका पछाडि विदेशी मुलुकका प्रतिनिधि, मन्त्री, नेताहरू, सैनिक अधिकारीहरू, मन्त्रालयका सचिवहरू, प्रहरी अधिकारीहरू थिए। सोही अपराह्न ०४:४५ बजे पशुपति आर्यघाटमा राजा त्रिभुवनको शवलाई माहिला अधिराजकुमार हिमालयले दागबत्ती दिएका थिए। राजाको अन्तिम संस्कारमा लाखौँ नेपालीको उपस्थिति थियो।
(गोरखापत्र: वि.सं. २०११ चैत्र ५ )