31/08/2026
रसुवाको बाढीमा अस्ताएका सल्यानका आयुषको देवघाटमा दाहसंस्कार, अन्तिम बिदाइमा पुगे सांसद मल्ल
-----
रसुवाको विनासकारी बाढीमा परी निधन भएका सल्यानका आयुष खड्काको चितवनको देवघाटमा दाहसंस्कार गरिएको छ।
हिजो बेलुकी शवको पहिचान गरेपछि आज परिवारका सदस्यहरु र आफन्तले आयुषको देवघाटमै दाहसंस्कार गरेका हुन्। आयुषको दाहसंस्कारमा प्रतिनिधि सभा सदस्य रमेश कुमार मल्ल पनि देवघाट पुगेका थिए।
सल्यानको बागचौर नगरपालिका–१० पिपलनेटाका आयुषले गत जेठमा लोकसेवा आयोगको परीक्षामा खरिदार पदमा नाम निकालेका थिए। सरकारी सेवामा नाम निकालेपछि उनको पहिलो पोस्टिङ नै रसुवाको टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा भएको थियो।
कार्यालयमै रहेका आयुष भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा सम्पर्कविहीन भएका थिए। वेपत्ता भएको पाँच दिनपछि चितवनमा उनको शव पहिचान भएको थियो।
बेपत्ताहरुको खोजीमा सांसद मल्लको पहल
यसैबीच सल्यानका सांसद रमेश कुमार मल्लले बाढीमा परि हराइरहेका सल्यानका नागरिकको खोजीका लागि पहल गरिरहेका छन्।
रसुवा बाढी लगत्तै त्रिशुली पुगेर बाढीको वितण्डता नजिकबाट अवलोकन गरेका मल्लले बाढीपछि सम्पर्कविहीन सल्यानका नागरिकको खोजीका लागि स्थानीय तह, प्रशासन, प्रभावित क्षेत्रमा स्थानीय सरकार र प्रशासन तथा सरकारका विभिन्न निकायसँग समन्वय गरिरहेका छन्।
अझै पनि सल्यानका ५४ सम्पर्कविहीन रहेको भन्दै मल्लले उनीहरुका आफन्तसँगै आफू पनि खोजीका लागि लागिरहेको बताए। उनले भने, ‘सल्यानका ५४ जना अझै सम्पर्कविहीन हुनुहुन्छ, उहाँहरुको खोजी र पछिल्लो अवस्था पत्ता लगाउन काठमाडौँ, चितवन, नुवाकोटको त्रिशूली र रसुवाको धुन्चेमा खोज तथा उद्धार टोलीसँग नियमित सम्पर्कमा छु।’
हिजो काठमाडौँमा सल्यानका स्थानीय तहका प्रतिनिधि, सम्पर्कविहीन सदस्यका आफन्तहरुसँग छलफल गरेका मल्लले आज चितवनमा पनि सल्यानीहरुसँग भेट गरि धैर्य गर्न आग्रह गरेका छन्। चितवन उघोग वाणिज्य संघको प्रदर्शनी केन्द्रमा बसेर आफन्त खोजीरहेका सल्यानको कुमाख-३ गुरुदासे र शारदा-१३ स्यानीखालका नागरिकलाई भेटेर धैर्य गर्न अनुरोध गरेका छन्।