17/05/2018
छैटौं वर्षमा प्रवेश वाग्मती सफाइ महा अभियान :
==============================================
हाल २६२ औ हप्तासम्म पुगेको यो महाअभियान २०७० जेठ ५ गते नागरिक अभियन्ताहरुको पहल नेपाल सरकार मुख्य सचिवको सचिवालयको संयोजन तथा नेपाल सरकार सहरी विकास मन्त्रालय, काठमाडौं महा-नगरपालिका, वाग्मती सभ्यता एकीकृत विकास समिति, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, स्थानीय निकाय, गायत्री परिवार, नेपाल एस.जी.आइ., काठमाडौं इन्जिनियरिङ्ग कलेज, एस ट्राभल्स, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, पेशाकर्मी, शिक्षक समेतको सहभागितामा वाग्मती सरसफाइ महाअभियानको सुरुवात भएको हो ।
यो महाअभियान जाडो, गर्मी, चाडपर्व, भूकम्प, नाकाबन्दी र थुप्रै अभावका बाबजुद निरन्तर रुपमा अगाडि बढेको छ । अहिलेसम्म करिव ६ ,८० ,००० स्वयंसेवकको सहभागितामा उपत्यकाका सबै नदीनालाहरुबाट १२,५०० मेट्रिक टनभन्दा बढी फोहर संकलन गरी व्यवस्थापन गरिएको छ । वाग्मतीका किनारमा दायाँबाँया डेढ दशकदेखि गति लिन नसकेको ढल बिछ्याउने काम यसै अभियानको बलमा ८० प्रतिसत भन्दा बढी कार्य सम्पन्न भइ सकेको छ ।नदीकिनारा तथा स्थानीय बासिन्दाहरुको आनिबानीमा ठूलो परिवर्तन आउनुका साथ् साथै स्थानीय सहभागिता अत्यधिक बढेको छ । यसै अभियानलाइ आत्मसात गर्दै उपत्यकाका सबै नदी किनारमा ढल बिछ्याउने र प्रशोधन गर्ने बृहत कार्यक्रम नेपाल सरकारले ल्याएको छ ।
नदी किनारका अतिक्रमित जग्गा खाली गर्न र जथाभावी फोहोर फ्याक्नेलाई कानुनको कठ्घरामा उभ्याउन यो अभियानले सम्बन्धित निकायलाई घच-घचाउने काम गरेको छ । यही अभियानको प्रेरणाबाट गोकर्ण-गुह्येश्वरी खण्डमा स्थानीय समुदायको उत्कृष्ट सहभागिताका साथ पुडासैनी मैत्री समाज, हाम्रो जोरपाटी राम्रो जोरपाटी र माकलबारी समाज लगाएतले संयुक्त रुपमा सफाइ संगसंगै नदीकिनारका हजारौं बिरुवाहरुको समेत रेखदेख र संरक्षण गरेका छन । त्यस्तै तिलगंगा, रुद्रमती, विष्णुमती, मनोहरा , इन्द्रमती ,हनुमन्ते र नक्खुजस्ता नदीकिनार र उपत्यका भित्र चक्रपथ सफाई , आलोक नगर सफाइ र उपत्यका बाहिर ३५ भन्दा बढी जिल्लामा सञ्चालित सफाइ अभियानले स्थानीय समुदायको अनुकरणीय सहभागिता जुटाउन सफल भएको छ । यो अभियानको बलमा सामाजिक योगदानबाटै वाग्मती किनारमा दर्जनौ बगैंचा, पार्कहरु निर्माण सम्पन्न भैसकेका छन र दर्जनौं निर्माण भैरहेका छन् एवं नदि किनारमा हजारौ बिरुवाहरु रोपिएका छन्।
यो अभियानले नयाँ पुस्ताका लागि विस्मृतिमा गइसकेको पूर्वीय सभ्यताको एउटा अभिन्न पाटो स्वयंसेवी भावनालाई पुनर्जागृत गरेको छ । यस अभियानले संयुक्त राष्ट्रसंघ अन्तर्गत UN–Habitat को एसियन टाउन स्केप अवार्ड र अखिल विश्व गायत्री परिवारले भारतको नागपुरमा आयोजना गरेको युग सृजेता सम्मेलनमा भगीरथ पुरस्कार २०१८ पाउन सफल भएको छ । यसले युवा पुस्तामा आशाको संचार गर्नुका साथै गरेपछि हुँदो रहेछ भन्ने सन्देश दिएको छ । यस स्वयंसेवी अभियानको अनुसरण गर्दै भारत, बंगलादेश, कम्बोडियाजस्ता देशमा पनि नदी सफाइ अभियान भएको सूचना प्राप्त भएको छ । श्रोतमै वैज्ञानिक व्यवस्थापन नगरीकन नदीनाला सफा हुन सक्तैनन भन्ने पाठ यो अभियानले सिकाएको छ ।
नदीको सरसफाइलाई आफ्नो कर्तव्य ठानी सरसफाइमा अग्रसरता लिन समुदायलाई उत्प्रेरित गर्नु, उनीहरुलाई साधनश्रोत र अधिकारले सम्पन्न बनाउनु, नदीको संरक्षणबाट प्राप्त लाभमा समुदायका सबै नागरिकको हिस्सेदारी हुने अवस्था सृजना गर्नु, ठूला पूर्वाधार निर्माण तथा जोखिमयुक्त फोहोर प्रशोधनमा सरकारी निकायलाई सक्षम र जिम्मेवार बनाउनु र नदीका अतिक्रमण हटाउनु सफाइ अभियानका प्रमुख चुनौती हुन् ।
यी सबै विषयहरु समेटर २०७३ फाल्गुन २८ गते शनिवार २०० औं हप्ताको विशेष अवसरमा सम्पूर्ण नेपाल सफा बनाउने उद्देश्य का साथ राष्ट्रिय सरसफाइ घोषणा पत्र जारी गर्न सफल भएको छ साथै वि स २०७५ लाइ राष्ट्रिय सरसफाई बर्षको रुपमा मनाउन नेपालका सम्पूर्ण दिग्गज रजनीतिज्ञ ,विज्ञ संस्कृतीविद , शिक्षाविद, रास्ट्रपति , प्रधानन्याधिश ,प्रधानमन्त्री लगायत सम्पूर्ण पुर्व प्रधानमन्त्रीहरु ,राष्ट्रिय कलाकार , खेलाडीहरु समेतको प्रतिवद्धता प्राप्त भएकोछ , यसबाट समृद्द ,स्वच्छ र सुन्दर नेपालको सपना साकार पर्न सहयोग पुग्नेछ।
===========================
#छोटकरीमा
'
# वाग्मती सफाई महाअभियान के हो ?
यो अभियान मूलत: स्वच्छ सफा र स्वस्थ जीवनायपनका लागि चेतना जगाउने र स्वयंसेवी भावनाबाट सामाजिक परिवर्तनका लागि नागरिकलाई उत्प्रेरित गर्ने अभियान हो ।
आर्थिक कारोबार नगर्ने र कुनै औपचारिक संस्थाको कानुनी स्वरूप नदिइएको यो अभियान आफैँमा एउटा विशिष्ट खालको स्वयंसेवी अभियान बन्न पुगेको छ ।
काठमाडौँमा यो अभियानले हरेक साता शनिबार बिहान दुई घन्टा नदी सरसफाई संगसंगै घरदैलोमा स्वयंसेवक परिचालन गरेर सरसफाइबारे जनचेतना जगाउने काम गर्छ ।
त्यसका अतिरिक्त यही अभियानको अभिन्न कार्यक्रमका रूपमा नदी किनारामा वृक्षरोपण र बगैँचा निर्माणका लागि अन्य स्वयंसेवीलाई सहजीकरण गर्छ ।
वाग्मती सफाइ महाअभियान एउटा समृद्ध नेपाल नेपालीले बनाउने परिकल्पनाको जगमा सुरु भएको हो l
स्वयंसेवा अभियान केवल सरसफाइ मात्र नभएर सामाजिक विकृतिविरुद्धका अभियान, साक्षरता कार्यक्रम, भ्रष्टाचारविरुद्धका अभियान, सेवाग्राहीलाई सुलभ सेवा दिने, कृषि, वन तथा अन्य स्रोतको प्रयोगबाट रोजगारी तथा स्वरोजगारसम्बन्धी कार्यक्रम सञ्चालन गरेर एउटा जागरण र विकासको लहर ल्याउने परिकल्पनामा आधारित छ l
यो अभियानले आफैँ कुनै पनि चन्दा रकम लिने र परिचालनमा सहभागी हुने काम गर्दैन l
सरसफाइ सामग्री दाताले दिन चाहेमा नदी किनारामै सार्वजनिक समारोहमा ग्रहण गरी ती सामग्री वाग्मती सभ्यता एकीकृत विकास समितिलाई जिम्मा लगाइन्छ ।
यस अभियानलाई चाहिने मास्क, पन्जा, डोकोजस्ता सामग्री दाताले दिएर नपुगेको हदसम्म वाग्मती सभ्यता एकीकृत विकास समितिले उपलब्ध गराउँछ ।
------------------------------
# वाग्मती सफाई महाअभियान का योगदान र उपलब्धि हरु :
-------
काठमाडौँका सबै नदीमा जाने ढलको व्यवस्थापनका लागि यही अभियानको बलमा सरकारले कार्यक्रम राखेको छ ।
वर्षौदेखि अवरुद्ध ढल ब्यबस्थापन अगाडि बढाउने र अन्य नदीमा ढलको व्यवस्था गर्नमा यही अभियानको योगदान छ ।
ढलको प्रशोधनबाट मल र ऊर्जा निकाल्ने, शिवपुरी क्षेत्रमा वर्षाको पानी संकलन गरी हिउँदमा वाग्मतीमा पानीको बहाव बढाउने कार्यक्रम पनि सञ्चालनमा छ ।
नदीको बालुवा चोरी नियन्त्रण भएको छ । नदीमा फोहोर फ्याक्ने आमप्रचलन अब प्राय रोकिएको छ ।
सार्वजनिक स्थलमा जथाभावी फोहोर गर्ने प्रवृत्तिमा व्यापक सुधार आएको छ ।
यो अभियानले फोहोर गर्नेलाई दण्ड गर्न सरकारी निकायलाई सघाउने र दबाब दिने दुवै काम गरेको छ
नदी किनाराका अतिक्रमिक जग्गा निखन्ने काममा सरकारी अधिकारीलाई सघाएको छ ।
ठोस फोहोरमध्ये कुहिने फोहोरबाट मल र ग्यास निकाल्न स्थानीय समुदायलाई उत्प्रेरित गरेको छ ।
साथै, ठोस फोहोरबाट ऊर्जा उत्पादन परीक्षण कार्यको सुरुआत काठमाडाँै महानगरपालिकाले गरिसकेको छ ।
उपत्यकाको पूरै ठोस फोहोरबाट ऊर्जा निकाल्ने ठूलो परियोजना सुरूआतको अन्तिम चरणमा छ ।
वाग्मती सफाइ महाअभियानकै अग्रसरतामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा फ्याँकिएका प्लास्टिकबाट पेट्रोल निकाल्ने प्रयोगशाला परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । यसको व्यावसायिक प्रयोगका लागि छिट्टै परीक्षण उत्पादन सुरु हुँदैछ ।
यसरी फोहोरको दिगो व्यवस्थापन, जनसहभागिता र जनचेतना, नदी तथा सम्पदा संरक्षण र पुन:स्थापना, पूर्वाधार निर्माण, बगैँचा निर्माण तथा वृक्षरोपणमार्फत सौन्दर्यीकरण र पर्यावरण संरक्षणको काम, फोहोर गर्ने तथा बालुवा चोरी गर्नेलाई दण्ड जरिवानामार्फत नियन्त्रणात्मक क्रियाकलापहरू र समग्रतामा स्वयंसेवा अभियानलाई राष्ट्रव्यापी बनाउन सफल भएको छ ।
यसका तरंगहरू राष्ट्रव्यापी भइरहँदा अभियानलाई केवल सरसफाइमा मात्र केन्द्रित नगरी यसले सिर्जना गरेको जागरण र सञ्चित गरेको सामाजिक पुँजी तथा ऊर्जालाई सही रूपमा अगाडि बढाउने कार्य गर्न आवस्यक कार्य-योजनाका साथ अगी बढ्ने योजना छ l
यसले राष्ट्रव्यापी लहर ल्याएको छ, त्यसलाई नेतृत्व दिने र दिशानिर्देश गर्ने कार्य यस महाअभियान ले गर्दै आइरको छ l
सफाइ अभियानले सम्बद्ध कर्मचारीलाई उत्तरदायी र जिम्मेवार बनाउन पनि सफल भएको छ ।
राष्ट्रिय स्वयंसेवी अभियानलाई सरसफाइबाहेकका राष्ट्र निर्माण अभियानमा जुटाई आफ्नो मुलुक आफैँ बनाउन सक्छौँ र बनाउँछौँ भन्ने राम्रो उदाहरण दिएको छ l
यो मुलुक हाम्रो हो र हामीले नै बनाउने हो । अरू कसैले आएर बनाइदिएर हामीलाई सुम्पने छैन । हाम्रा कमीकमजोरी छन् भने पनि हामी नै मिलेर सच्याउने, सुधार्ने हो । विकास भनेको जनताको स्वाभिमान र जागरणको जगमा मात्र सम्भव छ । भन्ने मूल मन्त्रका साथ अभियान अगाडी बढिरहेकोछ l
---------
उपर्युक्त यथार्थतालाई आत्मसात् गर्दै वाग्मती सफाइ महाअभियानको आफ्नो २६२ औं सप्ताहलाई सरसफाई सहित साझ ६ बजे दिप प्रज्वलन सहित मनाउने विशेष कार्यक्रम वाग्मती मनोहरा दोभान शंखमुलमा भव्यतापूर्वक मनाउने कार्यक्रम भएकोले उक्त कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण दाजुभाइ दिदी-बहिनीहरुलाई हार्दिक आह्वान गर्दछु ।
-----
कार्यक्रम१ :
---------
२६२ औं वाग्मती सर सफाइ कार्यक्रम
मिति : २०७५ साल जेठ ५ गते शनिबार
समय : बिहान ७ बजे देखि ९ बजे सम्म ( विशेष सरसफाई कार्यक्रम )
स्थान : वाग्मती -मनोहरा दोभान ( शंखमुल पुल बाट २०० मिटर माथि आर्ट अफ लिभिङ पार्क )
------------
कार्यक्रम २ :
---------------------------
५ वर्ष पुरा भएको अवसरमा दिप प्रज्वलन कार्यक्रम
मिति : २०७५ साल जेठ ५ गते शनिबार
समय : साझ ६ बजे देखि ( दिप प्रज्वलन कार्यक्रम )
स्थान : वाग्मती -मनोहरा दोभान ( शंखमुल पुल बाट २०० मिटर माथि आर्ट अफ लिभिङ पार्क )
=========================================