19/02/2026
टोलको नेता कि राष्ट्रिय नीति निर्माता ?
लोकतन्त्रमा मतपत्र सानो कागज होला, तर त्यसको तौल इतिहासले मापन गर्छ । पाँच वर्षको भविष्यलाई पाँच सेकेन्डको निर्णयले तय गर्छ । त्यसैले आफ्नो अमूल्य मतलाई “हाम्रो मान्छे”, “हाम्रो जात”, “हाम्रो टोल” भन्ने सानो घेरामा थुन्नु भनेको आफ्नो भविष्यलाई नै बन्द कोठामा थुन्नु हो ।
हामी कहाँ एउटा रोचक राजनीतिक संस्कार छ । वडामा दुई वटा उपभोक्ता समिति मिलायो, एकाध सिफारिस गर्यो, चाडपर्वमा खादा ओढायो भने उ सीधै संसद योग्य ठहरिन्छ । मानौ संसद भनेको वडा कार्यालयको माथिल्लो तल्ला हो, जहाँ सिढी चढ्न जातीय पहिचान र पार्टीको झण्डा मात्र काफी हुन्छ, नीति, दृष्टि र राष्ट्रिय समझदारी चाहि वैकल्पिक विषय हुन ।
मत भनेको व्यक्तिगत स्वाभिमानको हस्ताक्षर हो । यो कुनै नेताको जन्मदिनको उपहार होइन, न त जातीय एकताको चन्दा । मतले कानुन बनाउने व्यक्ति छान्छ, बजेटको दिशा तय गर्छ, अन्तर्राष्ट्रिय सम्बन्धमा देशको प्रतिनिधित्व गर्छ । यस्तो जिम्मेवारी “हाम्रो टोलको दाइ” भनेर मात्र सुम्पनु बुद्धिमत्ता होइन, भावनात्मक मेनिपुलेसनको परिणाम हो ।
पार्टी आवश्यक हुन्छ - विचार र नीतिका लागि । जातीय पहिचान सम्मानयोग्य हुन्छ - इतिहास र आत्मसम्मानका लागि । तर जब पार्टी अन्धभक्ति बन्छ र जाति राजनीतिक सर्टिफिकेट बन्छ, तब संसद विचारको थलो होइन, गुटहरूको थलो बन्छ । त्यसपछि देश नीतिले होइन, नाताले चल्छ; योग्यता होइन, योगफलले जित्छ ।
वडामा काम गर्न सक्नु राम्रो कुरा हो, तर राष्ट्रिय नीति बनाउने क्षमता छुट्टै कुरा हो । संसदमा जाने व्यक्तिलाई संविधान, अर्थतन्त्र, कुटनीति, संघीय संरचना, डिजिटल पुर्वाधारदेखि अन्तर्राष्ट्रिय शक्तिसन्तुलनसम्म बुझ्नुपर्छ । यदि मापदण्ड यति गहिरो छ भने प्रश्न उठ्छ - के हामी केवल “हाम्रो पार्टी” र “हाम्रो जात” भन्दै त्यो जिम्मेवारी दिन तयार छौ ?
हामी कहिलेकाही यस्तो व्यवहार गर्छौ, मानौ संसद भनेको वडा स्तरीय सम्मान समारोह हो - “हाम्रो मान्छे पुगेपछि सबै ठिक हुन्छ ।” तर इतिहासले देखाएको छ - “हाम्रो मान्छे” पुगेपछि सबैभन्दा पहिले ‘हाम्रो’ हराउँछ, बाँकी रहन्छ केवल ‘मान्छे’ को स्वार्थ ।
आफ्नो मतको सम्मान गर्नु भनेको आलोचनात्मक चेतना प्रयोग गर्नु हो ।
- उम्मेदवारको दृष्टि छ कि छैन ?
- नीति र कार्यक्रम स्पष्ट छन कि छैनन ?
- राष्ट्रिय मुद्दामा धारणा छ कि छैन ?
यी प्रश्न सोध्नु नै सचेत नागरिकताको अभ्यास हो । पार्टी र जाति हाम्रो पहिचान हुन सक्छन, तर निर्णयको आधार योग्यता, दृष्टि र जिम्मेवारी हुनुपर्छ । नत्र पाँच वर्षपछि फेरि त्यही गुनासो दोहोरिन्छ - “हामीले गल्ती गर्यौ ।”
मतदान केन्द्रमा जाँदा याद गरौ - मतपत्रमा छाप लगाउनु भनेको केवल उम्मेदवार छान्नु होइन, आफ्नो भविष्यको दिशामा हस्ताक्षर गर्नु हो ।