Kulman Ghising

Kulman Ghising Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kulman Ghising, Public & Government Service, Kathmandu.
(230)

President-Ujyalo Nepal Party

Former MD Nepal electricity Authority
Former Minister of Energy, water Resources and Irrigation of Nepal, Urban Development and Physical Infrastructure and Transport .

04/09/2026

श्रीकृष्ण जन्माष्टमी र सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको प्रतीक गौरा पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस अवसरमा सत्य, न्याय, विवेक र कर्तव्यको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्।अन्यायविरुद्ध दृढ भएर उभिने र जनताको हितलाई सर्वोपरि राख्ने राजनीतिक संस्कारको विकास होस्। विपतको यस घडीमा सवैमा धैर्य धारण गरेर अगाडि बढ्ने शक्ति मिलोस् । सम्पूर्ण नेपालीमा शुभकामना। 🙏

भदौ १० गते त्रिशूली नदीमा आएको प्रलयकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ए जलविद्युतगृहको भूमिगत विद्युतगृहमा फस्नुभएका ...
04/09/2026

भदौ १० गते त्रिशूली नदीमा आएको प्रलयकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ए जलविद्युतगृहको भूमिगत विद्युतगृहमा फस्नुभएका नेपाल विद्युत प्राधिकरणका कर्मचारी साथीहरूको सकुशल जिवितै उद्धार सुरु भएको खबरले अत्यन्तै खुसी र राहतको अनुभूति भएको छ। यस घटनाबाट रसुवागढी र चिलिमे जलविद्युत केन्द्रका भूमिगत विद्युतगृह तथा माथिल्लो त्रिशूली–१, अप्पर त्रिशुली ३ वि र लाङटाङ खोला जलविद्युत आयोजनाका सुरुङमा फस्नुभएका व्यक्तिहरू पनि सकुशल रहेको आशा र विश्वास थप बलियो भएको छ। तसर्थ, रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–१, अप्पर त्रिशुली ३ वि र लाङटाङ खोला जलविद्युत आयोजनामा फस्नुभएका सबै व्यक्तिको खोज तथा सकुशल उद्धारमा तत्काल र तदारुकताका साथ ध्यान केन्द्रित गर्न सम्बन्धित सम्पूर्ण निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु। उद्धार कार्यमा हाम्रो विज्ञता, प्राविधिक क्षमता र साधन-स्रोत अनुसारको हरसम्भव सहयोग भइरहेको छ र निरन्तर रहनेछ । उद्धारका लागि अहोरात्र खटिनुभएका उद्धारकर्मी, सुरक्षाकर्मी, प्राविधिक तथा सहयोगी सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धेरै–धेरै धन्यवाद।

भदौ १४ गते म आफै टिमुरे, रसुवागडी टनेल चिलिमे टनेल रेकी गरेर फर्केपछी धुन्चेमा सुरक्षा निकायहरूसंग छलफल भए अनुसार हिजो भ...
01/09/2026

भदौ १४ गते म आफै टिमुरे, रसुवागडी टनेल चिलिमे टनेल रेकी गरेर फर्केपछी धुन्चेमा सुरक्षा निकायहरूसंग छलफल भए अनुसार हिजो भदौ १५ गते नेपाल आर्मीको टोलीले रसुवागडीको पावर हाउस् जाने पहुंच टनेल भित्र २५० मीटर सम्म जाने काम भएको छ । तर टनेलभित्र मान्छे भेट्न सकिएन भन्ने समाचार आयो । कर्मचारीहरू टनेलभित्रको पावर हाउसको कन्टोल रूममा रहने हुंदा अव पावर हाउसभित्र छिर्ने उपाय गरी त्यहां थुनिएर रहेको कर्मचारीको उद्दार तत्काल गरिनु पर्दछ ।

काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली -पाटीखर्क-बोगटीटार-कालिकास्थान हुँदै वैकल्पिक सडकमार्फत रसुवाको स...
31/08/2026

काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली -पाटीखर्क-बोगटीटार-कालिकास्थान हुँदै वैकल्पिक सडकमार्फत रसुवाको सदरमुकाम धुन्चेसम्म र धुन्चेबाट नुवाकोटको विदुरसम्म पुगेर बाढीबाट प्रभावित क्षेत्रको अवस्था प्रत्यक्ष रूपमा अवलोकन गरेको छु। घर, सडक, पुल, जलविद्युत आयोजना तथा सार्वजनिक संरचनामा भएको ठूलो क्षति, विस्थापित परिवारको पीडा र अझै सम्पर्कविहीन नागरिकको अवस्थाले परिस्थिति अत्यन्तै भयावह र पीडादायी रहेको देखाएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग उद्धारका क्रममा देखिएका चुनौती, भइरहेका प्रयास र तत्काल गर्नुपर्ने काम र समन्वयका विषयमा छलफल गरी आवश्यक सुझावसमेत दिएको छु।
यस विपद्को घडीमा उद्धार, राहत र पुनःस्थापनालाई तत्काल उच्च प्राथमिकतामा राखी अझ प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु :
१. सुरुङ तथा भूमिगत विद्युतगृहमा फसेकाको तत्काल उद्धार
माथिल्लो त्रिशूली–३ ए, चिलिमे, रसुवागढी, लगायतका जलविद्युत आयोजनाका भूमिगत विद्युतगृहमा कार्यरत कर्मचारी तथा निर्माणाधीन माथिल्लो त्रिशूली–१, लाङटाङ र माथिल्लो त्रिशूली–३ बी आयोजनामा कार्यरत व्यक्तिहरू सुरुङ तथा विद्युतगृहमा फसेको र कतिपयको अवस्था अझै अज्ञात रहेको अवस्था अत्यन्तै चिन्ताजनक छ। सुरुङ उद्धारमा दक्ष विज्ञ, प्राविधिक जनशक्ति र विशेष उद्धार टोलीलाई तत्काल परिचालन गरी उपलब्ध अत्याधुनिक उपकरण तथा प्रविधिको अधिकतम प्रयोग गर्दै उद्धार कार्य युद्धस्तरमा अघि बढाउनुपर्छ। यसका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उद्धार तथा प्राविधिक टोलीलाई समेत तत्काल अनुमति दिन सरकारसँग आग्रह गर्दछौँ ।
२. हराइरहेका नागरिकको खोज तथा उद्धारमा तीव्रता
बाढीबाट बच्न नदीको माथिल्लो क्षेत्र, पहाडी भेग तथा जोखिमपूर्ण स्थानमा फसेका नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार टोलीबीच अझ प्रभावकारी समन्वय गरी विशेष अभियान सञ्चालन गरिनुपर्दछ। उद्धारका लागि आवश्यक जनशक्ति, उपकरण र साधनको कुनै कमी हुन दिनु हुँदैन।
३. मृतकको शव व्यवस्थापनलाई प्राथमिकता
टिमुरे वेत्रावति लगायतका क्षेत्रमा बाढीका कारण मृत्यु भएका नागरिकका शव यत्रतत्र रहेको अवस्था अत्यन्तै संवेदनशील छ। शवको खोजी, संकलन, पहिचान र सम्मानपूर्वक व्यवस्थापनका लागि तत्काल विशेष टोली परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउँदछु।
४. धुन्चेसँग सडक सम्पर्क तत्काल पुनःस्थापना
त्रिशूली बजारदेखि बेत्रावतीसम्म अस्थायी ट्र्याक खोली वेलीबृज जडान गरी धुन्चेसम्म सडक सम्पर्क स्थापित गर्ने सम्भावना तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ। सडक सम्पर्क पुनःस्थापित भएपछि उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीलाई थप सहज र प्रभावकारी बनाउन सकिन्छ।
५. वेलि बृज जडान
त्रिशुलीको बट्टार क्षेत्र र त्रिशुली पारी जोड्ने वेलि बृज, बेत्रावति क्षेत्रबाट त्रिशुली ३ बि जोड्ने वेलिबृज र धुन्चे श्याप्रुवेसी जोड्ने वेलिबृज छिटोभन्दा छिटो जडान गरी नदीपारीको गाउहरू सडक सन्जालमा जोड्ने काम गरिनु पर्दछ ।
६. राहत सामग्री प्रभावितलाई तत्काल वितरण
स्थानीय तहसँग प्रभावकारी समन्वय गरी खाद्यान्न, खानेपानी, औषधि, अस्थायी आवास, कपडा लगायतका अत्यावश्यक सामग्री तत्काल प्रभावित परिवारसम्म पुर्‍याउनुपर्छ। रसुवाका बाढी प्रभावित कतिपय क्षेत्रमा अझै पर्याप्त राहत सामग्री पुग्न नसकेको अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु।होल्डिङ सेन्टरहरूमा महिला र वालवालिकालाई मनोपरामर्श सहितको विशेष व्यवस्था गरिनु पर्दछ ।
७. पुनःस्थापना र पुनर्निर्माणको स्पष्ट योजना
तत्कालीन उद्धार र राहतसँगै क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारको पुनर्निर्माण, मानवीय र भौतिक क्षेति भएका व्यक्ति एवम् परिवारलाई क्षेतिपूर्ति र विस्थापित परिवारको पुनःस्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्ययोजना, जिम्मेवारी र आवश्यक बजेटको तत्काल व्यवस्था गरिनुपर्छ।
यो बेला दोषारोपण गर्ने होइन, जीवन बचाउने बेला हो। विपद्को यस कठिन घडीमा राज्यका सबै संयन्त्रलाई एकीकृत रूपमा परिचालन गरी प्रत्येक नागरिकको जीवनरक्षा गर्न म सरकारसँग जोडदार माग गर्दछु। उद्धारमा ढिलाइ नहोस्। राहतमा कमी नहोस्। कुनै पनि पीडित नागरिक आफूलाई राज्यविहीन र एक्लो महसुस गर्ने अवस्था नआओस्। यस मानवीय संकटको घडीमा उज्यालो नेपाल पार्टी पीडित नागरिकको साथमा दृढतापूर्वक उभिएको छ। उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक सबै पहलमा सरकारलाई हाम्रो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु।

28/08/2026

रसुवा भोटेकोशी विनासकारी बाढीबाट सृजित अवस्थाप्रति मेरो अपिल

चीनसँगको सीमावर्ती क्षेत्रबाट भोटेकोशी नदीमा आएको अप्रत्याशित र अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला...
27/08/2026

चीनसँगको सीमावर्ती क्षेत्रबाट भोटेकोशी नदीमा आएको अप्रत्याशित र अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको असीमित मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। यस दुःखद घडीमा बाढीपहिरोमा परी ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई अझ तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गर्दछु। बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी जारी उद्धार कार्य, प्रभावित नागरिकको अवस्था, भएको अपूरणीय क्षति तथा उपचाररत घाइतेहरूको अवस्थाबारे जानकारी लिने अवसर पाएँ। विपद्को यस घडीमा प्रभावित नागरिकहरूले राज्यको बलियो र भरोसायोग्य उपस्थितिको अपेक्षा गरिरहेका छन्। यस विपद्ले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण तथा वितरण संरचना, सडक लगायतका महत्वपूर्ण पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। तर, भौतिक संरचनाभन्दा पनि मानवीय जीवनको क्षति सबैभन्दा ठूलो पीडा हो। एकपछि अर्को विपत्तिको सामना गरिरहेको हाम्रो देश आज फेरि पीडामा छ। यस्तो संवेदनशील समयमा व्यक्तिगत तथा राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धार, राहत र पुनर्स्थापनामा एकजुट होऔँ। साथै, भविष्यमा यस्ता विपतबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली, जोखिम न्यूनीकरण तथा आवश्यक पूर्वतयारीलाई थप प्रभावकारी बनाउन साझा धारणा र प्रतिबद्धता निर्माण गरौँ।

26/08/2026
त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी त्यहाँको अवस्थाबारे जानकारी लिएको छु। यस विपद्को घडीम...
26/08/2026

त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी त्यहाँको अवस्थाबारे जानकारी लिएको छु। यस विपद्को घडीमा उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राख्दै प्रभावित नागरिकको सहयोगमा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु।

26/08/2026

रसुवाको भोटेकोशीमा आएको अकस्मात् ठूलो बाढीबाट टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा भएको क्षति तथा नुवाकोटको त्रिशूली र तल्लो तटीय क्षेत्रमा बढ्दो जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दछु । यस विपद्को घडीमा जनताको जीवनरक्षा पहिलो प्राथमिकता हो। सरकार तथा सम्बन्धित निकायलाई तत्काल उद्धार, सुरक्षित स्थानान्तरण, राहत तथा आवश्यक स्वास्थ्य र खाद्यान्न सहयोग प्रभावकारी बनाउन आग्रह गर्दछु । उज्यालो नेपाल पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय संरचनालाई प्रभावित क्षेत्रमा तत्काल परिचालित भई उद्धार तथा आवश्यक मानवीय सहयोगमा जुट्न आह्वान गर्दछु । प्रभावित नागरिकको सुरक्षाप्रति हामी सबै एकजुट होऔँ । https://www.facebook.com/share/v/1DtNiaccE2/

22/08/2026

बारा, जीतपुरसिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र पाशविक हत्याको खबरले मन विचलित र स्तब्ध बनाएको छ। हराएको दिनदेखि छोरीको खोजीका लागि परिवारले गरेको हारगुहार र अन्ततः उनको पाशविक हत्या भएको पीडादायी खबरले सिंगो समाजलाई मर्माहत बनाएको छ। गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तमा गहिरो समवेदना व्यक्त गर्दछु। अबोध बालिकामाथि भएको यस्तो जघन्य अपराध कुनै पनि सभ्य र न्यायपूर्ण समाजले स्वीकार गर्न सक्दैन। घटनाको तत्काल, निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याएर कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु। गरिमाले न्याय पाउनैपर्छ। यस्ता निर्मम घटना दोहोरिन नदिन सुरक्षा निकायलाई अझ जवाफदेही, संवेदनशील र प्रभावकारी बनाउन तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kulman Ghising posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share