20/10/2023
कविता - हाम्रो कास्की !
कास्कीमा आउनु हजुर रुपा घुम्न जाउँला,
फेवातालको बाराहीमा बसि माया लाउँला,
माछपुच्छ्रे हिमालको छायाँ नि तालमा पर्छ,
बेगनाश पनि घुमौं न हजुर, डुङ्गा पनि सर्छ ।
सराङ्कोट नि जाउँल हामी संगसंग मिली,
मेथ्लाङ पनि आँखैमा बस्छ झिली झिली,
एक झोलुङ्गे पुल पनि छ हाम्रो रुपा ताल,
घान्द्रुक, तान्सेन गएर लाउला माया जाल ।
नबिर्सी जाउँला हामी देउराली वरको बोट,
रमाइलो ठाउँ छ घुम्न जाउँला पुङ्द कोट,
हेर्नुस् हाजुरसँगै जानलई लागेको छ मन,
सौन्दर्यले भरिपूर्ण हाम्राे यो राम्रो रानी बन ।
रानीवनमा डाँफे संगसंगै नाच्दछन् मजुर,
महेन्द्र गुफा, चमेरे गुफा जाउँला नि हजुर,
कास्कीतर्फ आउनु हजुर घुमौंला यी ठाँउ,
अति प्रिय लाग्छ लुम्ले डाँडा संगै यो काउ ।
कायौं थरी फूल फुल्छन् हाम्राे कास्कीमा,
गहुँ धानका बाला झुल्छन् राम्राे कास्कीमा,
आएपछि जानलाई मन नलाग्ला नि त्यति,
नदि पनि हेरौँला नि हामी मादी अनि सेती ।
कवि - पुष्पा श्रेष्ठ ( पुसु पापिनी )
तस्वीर - Pinterest
साथै, आफ्नो कविता तथा लेख पठाउनको लागी [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ! ❤️